४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः ‘गोल्डेन ट्रयांगल’ दुईदशक अघिकै अभ्यास

पर्यटकीय क्षेत्र पोखरा । गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत काठमाडौं, पोखरा र लुम्बिनीलाई गोल्डेन ट्रयांगलको रुपमा विकास गर्ने नीति लिएको छ । फाइल तस्बिरः नागरिक

आगामि आर्थिक वर्ष २०७८/७९ को सोमबार नीति तथा कार्यक्रम ल्याउँदै गण्डकी प्रदेश सरकारले पोखरा–काठमाडाैं–लुम्बिनीलाई गौतमबुद्ध स्वर्णिम त्रिकोण (गोल्डेन ट्रयांगल) को रुपमा विकास गर्न संघीय र अन्तर प्रदेश सरकारको सहकार्यलाई निरन्तरता दिइनेछ भन्ने उल्लेख छ ।  

प्रदेश प्रमुख सीता कुमारी पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटनमा ‘गोल्डेन ट्रयांग’को विकास गर्ने उल्लेख गरिन् । प्रदेश प्रमुखले पोखरा–काठमाडौं–लुम्बिनीलाई ‘गोल्डेन ट्रयांगल’को रुपमा विकास गर्ने बताएपनि यो रुटको प्रवद्र्धनको प्रयास वर्षाैअघि नै भएको थियो। यसलाई पर्यटन व्यवसायीले खुबै प्राथमिकता दिएर त्यो बेला प्रवद्र्धन गरेका थिए। व्यवसायीले पोखरा–काठमाडौं–चितवनलाई यो ट्रयांगलमा मात्र समेटेका थिए । तर, सरकारले नीति तथा कार्यक्रममार्फत लुम्बिनीलाई रुटमा जोडेको छ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन्, ‘यो नयाँ अवधारणा होइन । झन्डै दुईदशक अघिदेखि पोखरा–काठमाडौं–चितवनलाई हामीले ‘गोल्डेन ट्रयांगल’ भनेर प्याकेज बनाएर पर्यटकलाई बेच्दै आएका थियौ । तर, सरकारले अहिले चितवनलाई हटाएर लुम्बिनीसम्म पुर्‍याएको मात्र हो । लुम्बिनी पुर्‍याउँदा चितवन आफै समेटिने भएकोले खासै समस्या नहुने उनले बताए ।  

‘झन्डै दुईदशक अघिको योजना हो। पर्यटकको बढी आउजाउ र चिरपरिचित रुट भएकोले हामीले त्यो बेला प्याकेज बनाएर बेचेका थियौ,’ सापकोटा भन्छन, ‘अहिले पनि यो रुटको महत्व छ ।’ व्यवसायीले दुईदशक अघि यो ट्रयांगलको प्याकेज बेच्दै गर्दा लुम्बिनी उत्तिसारो विकसित भईसकेको थिएन । निकै नै कम मात्रामा विदेशी पर्यटक लुम्बिनी पुग्दथे । ‘त्यो बेला लुम्बिनीको यतिसारो विकास भएको थियो । अहिले पनि लुम्बिनी जोड्दा नराम्रो त भएन, तर, प्रवर्धनमा चाँसो भने दिनुपर्छ,’ उनले भने। सापकोटाका अनुसार त्यो बेला पर्यटक निकै नै कम समयका लागि नेपाल घुम्न आउँथे । पदयात्रामा गएका पर्यटकहरु पदयात्रा सकेपछिको बचेको समय पोखरा चितवन र काठमाडौं  घुमेर फर्किन्थे । त्यही भएर यो रुट निकै नै चल्तीमा रहेको सापकोटाले बताए।

‘हामीले दुईदशक अघि नै प्रयोगमा ल्याएको यो रुटलाइ सरकारले नै सम्बोधन गरेको पहिलो पटक हो । यो रुट विकास गर्न सकेको खण्डमा पर्यटनमा सहज हुन्छ,’ सापकोटाले भने, ‘अहिले पनि यही रुटमा आउजाउ पनि सहज छ। लुम्बिनीसम्म ट्रयांगल पुग्दा बीचमा चितवन पनि पर्ने भएकोले यो ट्रयांगल निकै नै परिचित रहेको छ,’ उनले भने । त्यो बेला एकसाताको प्याकेज बनाएर व्यवसायीले यो रुटमा पर्यटकको गतिविधि गराउँदै आएका थिए ।

अर्का व्यवसायी बासु त्रिपाठीका अनुसार ‘गोल्डेन ट्रयांगल’ को नामले भारतमा पनि महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गरिएको छ। भारतमा दिल्ली–जयपुर र आग्रालाई चल्तीको रुट भएकोले गोल्डेन ट्रयांगल भनेर प्रवर्धन गर्दै आइएको छ । त्रिपाठीका अनुसार काठमाडौं, पोखरा र चितवनलाई त्यो बेला गोल्डेन ट्रयांगल, पोखरा, चितवन र लुम्बिनीलाई ‘सिल्भर ट्रयांगल’ र पोखरा मनाङ र डोल्पालाई एडभेन्चर ट्रयांगल भनिएको थियो ।

‘सरकारले नीति तथा कार्यक्रममा समेट्दैमा यो नयाँ हुने होईन । चिवनको साटो लुम्बिनी पुग्दा केही फरक पर्दैन,’ त्रिपाठीले भने, ‘यो रुटले मुख्य चारवटा गन्तव्यलाई छुन्छ।’ नेपालका मुख्य तीनवटा विमानस्थल (काठमाडौं, पोखरा र लुम्बिनी) लाई छुने भएकोले गोल्डेन ट्रयांगल भन्दा उपयुक्त हुने उनले बताए। उनका अनुसार चितवन जंगलका गतिविधिका लागि र लुम्बिनी बौद्ध धामिर्क पर्यटकीय केन्द्र भएकोले ती गन्तव्यमा जाने पर्यटक केही पृथक छन् । पोखरा र काठमाडौं सबै प्रकारका पर्यटकका लागि मिल्ने गन्तव्य भएकोले जो कोही आउजाउ गर्न सक्ने उनले बताए।

‘पर्यटनमा महत्व देखेर रुट ब्यूँताउने प्रयास गर्नु नराम्रो होइन । तर यसको बारेमा नै नीति निर्मातालाइ थाहा थिएन र छैन,’ त्रिपाठीले भने, ‘दुईदशक अघि नै व्यवसायीले प्रयोगमा ल्याएको रुट हो । ट्रयांगलको यो कन्सेप्ट निकै नै राम्रो पनि हो, तर सरकारले चाँसो नदिएको रुछ हो।’ पर्यटन व्यवसायीको आवश्यकता के हो भन्ने बुझन नखोज्दा पुराना कुराले महत्व पाउने गरेको उनले बताए । ‘प्रयाप्त बजेट दिएर यो रुटलाई प्रवर्धन गर्न सके पर्यटनमा राम्रो हुन्छ। तर, नीति निर्माताले त्यो अवसर दिँदैनन,’ त्रिपाठीले भने, ‘जब की पर्यटनबारेमा नीति बनाउँदा पर्यटन व्यसायीसँग छलफल समेत हुँदैन।’  

यसबाहेक प्रदेश प्रमुख पौडेलले गण्डकी प्रदेशलाई नेपालको मुख्य पर्यटन केन्द्रविन्दु र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने पनि नीतिमा रहेको जानकारी दिइन्। त्यसबाहेक नीति तथा कार्यक्रममा विश्वविख्यात अन्नपूर्ण, धौलागिरी र मनास्लु चक्रीय पदमार्ग तथा अन्य पर्यटकीय गन्तव्यमा पदमार्ग निर्माण, स्तरोन्नति र सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिइने पनि उल्लेख गरिएको छ। 

प्रदेशभित्रका मुख्य उपत्यका (भ्याली) को एकीकृत विकासको लागि वृहत्तर परियोजना सञ्चालन गर्न संघ र स्थानीय तहसँग सहकार्य गरिने पनि उल्लेख गरिएको छ । त्रिवेणी, देवघाट, केलादीघाट, राम्दीघाट, रुद्रवेणी, शालिग्राम, बागलुङ कालिका, पञ्चकोट, बराह, गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड, विन्ध्यवासिनी पोखरा, करापुटार, व्यास दमौली, छिम्केश्वरी, गोरखकाली, मनकामना जोड्ने धार्मिक परिपथ विकास गरिने पनि नीतिमा समेटिएको छ ।  

त्यस्तै प्रदेशका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटकीय होटलको विस्तार तथा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने पनि नीतिमा समेटिएको छ । प्रदेश राजधानी पोखरालाई देशका प्रमुख शहरहरुसँग हवाई सेवाले जोड्ने नीति अन्तर्गत भैरहवा, विराटनगर, भरतपुर र नेपालगञ्जमा सीधा हवाई सेवा सञ्चालनलाई निरन्तरता दिइने नीतिमा उल्लेख छ । त्यस्तै भद्रपुर, सिमरा, जनकपुर, जुम्ला र धनगढीमा सीधा हवाई सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने पनि नीतिमा समेटिएको छ ।  

विश्व शान्ति जैविक विविधता उद्यान, विश्वशान्ति स्तुप, पुम्दी/भुम्दीकोट, भञ्ज्याङ हुँदै भदौरेसम्म जैविक तथा पर्यटकीय पदमार्ग निर्माण कार्य अगाडि बढाइने पनि नीतिमा उल्लेख गरिएको छ । गुणस्तरीय पर्यटनमा जोड दिई आन्तरिक पर्यटन प्रवद्र्धन गर्न विदा पर्यटन कार्यक्रमलाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ । 

प्रकाशित: ३१ जेष्ठ २०७८ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App