५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एकै दिन १९ अर्ब रुपैयाँको कारोबार

साताको पहिलो कारोबार आइतबार पुनः सेयर मापक सूचक नेप्से र कारोबार रकममा बढोत्तरी भएको छ। दुवै बढ्दा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ।  

नेप्से ३८.३२ बिन्दुले बढेर २९८३.११ मा पुग्यो। यसअघि नेप्से सर्वाधिक २९६०.१४ बिन्दुमा पुगेको थियो। यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। तीन करोड ७० लाख ७६ हजार चार सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड एक लाख ६६ हजार रूपैयाँको कारोबार भयो। यसअघि १७ अर्ब रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।  

साताको पहिलो दिन सेन्सेटिभ इन्डेक्स ११.५४ अंक बढेर ५३९.४१ बिन्दुमा पुगेको छ। त्यस्तै फ्लोट इन्डेक्स २.९२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.१४ बिन्दुले बढ्यो। कीर्तिमानी कारोबार हुँदा तीन दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भयो।  

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, समृद्धि, आइसिएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ। १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.२४ प्रतिशत बढेको छ। त्यसैगरी वित्त उपसमूहको परिसूचक ७.१४, जलविद्युत् ६.१ र होटल तथा पर्यटन ४.७३ प्रतिशतले बढे। कोरोना महामारी सुरु भएदेखि नै सेयर बजारमा हरियाली छाउन थालेको हो। विज्ञहरूले भने महामारीका कारण अर्थतन्त्रका सबै सूचक खस्केका कारण सेयर बजारमा वृद्धि हुनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन्।  

केही खेलाडीले अनावश्यक रूपमा सेयर बजारमा कृत्रिम वृद्धि गरिरहेको विज्ञहरूको भनाइ छ। तर कतिपय लगानीकर्ता भने यतिखेर लगानीका क्षेत्र साघुरिँदा सेयरमा आकर्षण भनेको तर्क गर्छन्। महामारीका कारण बैंक तथा वित्तीय क्षेत्रको तरलता सेयरमा लगानी भइरहेको बताइन्छ।

त्यस्तै, निषेधाज्ञाले लगानीकर्तालाई घरमै बसेर कारोबार गर्न पनि सघाउँदा सेयर बजार हरियाली हुन पुगेको उनीहरूको भनाइ छ। लाभांश दिन नसक्ने कम्पनीको सेयर मूल्य पनि निकै बढेकाले नयाँ लगानीकर्ता जोखिममा पर्न सक्ने सम्भावना धेरै छ।  

सेयर कर्नरिङको आशंका  

यसैबीच, पछिल्लो समय सेयर कर्नरिङको आंशका गरिएपछि धितोपत्र बोर्डले छानबिन थालेको छ। आपूर्ति कम भएका कम्पनीका सेयर मूल्यमा अस्वाभाविक वृद्धि हुन थालेपछि समिति गठन गरी छानबिन गर्न सुरु गरिएको बोर्ड स्रोतले जानकारी दिएको छ। ‘सेयर कर्नरिङ भएको गुनासो आएपछि वास्तविकता पत्ता लगाउन अध्ययन थालिएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘विस्तृत अध्ययनपछि यकिन कुरा थाहा हुन्छ।’

प्रकाशित: ३१ जेष्ठ २०७८ ०३:२३ सोमबार

१९ अर्ब रुपैयाँको कारोबार