कोरोना महामारीको दोश्रो लहरले पोखरा औद्योगिक क्षेत्रभित्र संचालित धेरै उद्योग मारमा परेका छन् । खाद्य, पानी, अक्सिजन, डेरी बाहेकका अरु उद्योग पूर्ण रुपमा बन्द रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बताएको छ । संचालनमा रहेका उद्योगले पनि उत्पादित बस्तु बजारसम्म पु¥याउन सकेका छैनन । बजारमा सामान पठाउन नसक्दा कतिपय उद्योगले उत्पादन नै कटौती गरेका छन् ।
पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक भूषणकुमार उपाध्यायका अनुसार औद्योगिक क्षेत्रभित्र ७५ वटा उद्योग छन् । ती मध्ये ५० वटा मात्र संचालनमा छन् । बाँकी उद्योग निषेधाज्ञा सुरु भएसँगै रोकिएका हुन् । उनका अनुसार बिस्कुट, पानी, अक्सिजन, चाउचाउ, पाउरोटी लगायतका खाद्यबस्तुका उद्योग चलिरहेका छन् । केहीले पूर्ण र कतिपयले कम क्षमतामा उद्योग संचालन गरिरहेका छन् ।
औद्योगिक क्षेत्रभित्रै रहेका अक्सिजन उत्पादन गर्ने दुईवटा प्लान्ट सबैभन्दा बढी चलेका छन् । त्यसबाहेक डेरिका उद्योग पनि निरन्तर चलिरहेका छन । डेरि र अक्सिजनका प्लान्ट २४ सै घण्टा चलेको उनले बताए । ‘खाद्यबस्तुसँग सम्बन्धित उद्योग संचालन त भएका छन । तर, सबैले आफ्नो उत्पादनलाई बजारमा बिक्री वितरण गर्न भने सहजै पाएका छैनन, त्यसले गर्दा उत्पादित बस्तु पनि गोदाममै थन्किएको छ,’ उपाध्यायले भने, ‘कतिपय खाद्य उद्योगको उत्पादन बस्तुको खपत भने घटेकै छ । त्यसले गर्दा पनि केही नोक्सानमा छन् ।’ उत्पादन गरेजति सामान बजार पु¥याउन सक्नेमा दूध, अक्सिजन र पानीका उद्योग भएको उनले बताए ।
उनका अनुसार चाउचाउ, बिस्कुट र पानीका उद्योग १२ घण्टासम्म चलेका छन । कच्चा पदार्थ अभाव भएमा मात्र यी उद्योगलाई मार पर्ने भएपनि अहिले ती उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव नरहेको उनले बताए । ‘उत्पादनमा समस्या छैन, तर, बिक्री वितरणमा समस्या छ । खपत पक्कै घटेको छ । गोदाममा मौज्दात धेरै भयो भन्ने चिन्ता उद्योगीको छ,’ उनले भने, ‘सामान बजारमा लैजान नपाएपछि मौज्दात थुप्रिएको छ । बिक्री गर्न नपाउने, तर, उत्पादन मात्र हुने अवस्था रहँदा उद्योगी दोधारमा छन् ।’
उपाध्यायका अनुसार बन्द भईरहेका उद्योगमा छापाखाना, फर्निचर, मेटलका छन । अघिल्लो वर्षको लकडाउनमा पनि कपि उद्योगको उत्पादन लामोसमय सम्म रोकिएको थियो । अहिले औद्योगिक क्षेत्रभित्र संचालित खाद्यका १३, डेरि ५, अक्सिजन २, पसुपंक्षीका दाना उत्पादन गर्ने २, खानेपानीका २ उद्योग पूर्ण रुपमा चलेका छन् ।
‘फर्निचर, मेटल उद्योग चल्नका लागि बाहिरी बजार पनि खुल्नुपर्छ । अहिले बाहिरको बजार पूर्णआकारमा बन्द रहेको छ,’ उनले भने, ‘ग्राहकको अर्डरको आधारमा मात्र फलाम, काठका उद्योग संचालन हुन्छन । उनका अनुसार अहिले संचालन भईरहेका उद्योगले औषतमा ४५ प्रतिशत मात्र उत्पादन दिईरहेका छन । सिमित उद्योग २४ सै घण्टा चलिरहँदा केही १०–१२ घण्टा चल्ने मात्र उद्योग पनि रहेको उपाध्यायले बताए ।
खाद्यका उद्योगीले उत्पादनलाई बजारसम्म पुर्याउन नसक्दा समस्या भएको बताएका छन । बजार पूर्णरुपमा बन्द हुँदा आफुहरुलाई मार परेको उनीहरुको भनाई छ । पोखरा औद्योगिक क्षेत्रभित्र संचालित पोखरा नुडल्स प्रालिले रम्बा, बोनस, जोजोे लगायतका नुडल्स उत्पादन गर्छ । पोखरा नुडल्सका कार्यकारी निर्देशक बाबुराम पन्तले उद्योग संचालन गरिरहेपनि उत्पादित बस्तु बजारमा बेच्न नपाएको बताए ।
‘बजारमा सामान पुर्याउनै पाएका छैनौ । बजार पुगेको सामान पनि व्यवसायीले बिक्री गर्न पाएका छैनन,’ पन्तले भने, ‘बिहान केहीबेर मात्र पसल खुल्ने हुन । पसल नै खुल्न नपाएपछि सामान बिक्री हुने कुरै भएन ।’ उनका अनुसार पोखरा नुडल्ससँग चाउचाउ उत्पादन गर्ने दुईवटा प्लान्ट छन् । तर ती मध्ये अहिले एउटाबाट मात्र उत्पादन भईरहेको छ । एउटै प्लान्ट पनि बढीमा आठघण्टा मात्र चलाउन सकेको उनले बताए ।
‘उत्पादन भएर पनि बेच्न नपाउँदा सामान गोदाममै थुप्रियो, त्यही भएर अहिले उत्पादन नै घटाउन बाध्य भयौ,’ पन्तले भने, ‘दुईवटै प्लान्टबाट उत्पादन गर्ने हो भने त राख्नै ठाउँ पुग्दैन । बजारमा पठाउनुपर्ने सामान गोदाममै थन्काउनु परेपछि समस्या भएको छ ।’ दिनहुँ बाहिरिने सामान अहिले गोदाममै रोकिएको उनले बताए । ‘अब त मौज्दात राख्ने ठाउँ छैन । त्यसैले के र कसो गर्ने भन्ने दोधार छ,’ पन्तले भने । यो उद्योगले दुइवटा प्लान्टबाट चाउचाउ उत्पादन गरिरहेको थियो । एउटा प्लान्टले दैनिक १२ हजार कार्टुन चाउचाउ उत्पादन गर्छ ।
प्रकाशित: २३ जेष्ठ २०७८ ०९:०४ आइतबार