२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

उच्च क्षमताका सरल व्यक्तित्व थापा

वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोभिड– १९ संक्रमणले मंगलबार निधन भएको छ। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा थापाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।  

करिब ३० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेका थापा कार्यकारी निर्देशक पदबाट अवकाश पाएपछि आर्थिक क्षेत्रका विभिन्न अनुसन्धानमूलक काममा संलग्न हुँदै आएका थिए। नेपालमा बृद्धबृद्धालाई मासिक भत्ता दिन सुरु गरेका भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा थापा आर्थिक सल्लाहकार थिए। एमालेको तत्कालीन सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता नै यतिखेर धेरैका लागि आकर्षक बन्दै गएको छ।  

राष्ट्र बैंकमा सँगै काम गरेकाहरू थापालाई आर्थिक पक्षका विभिन्न पाटोमा बोल्न र लेख्न सक्ने क्षमता भएको व्यक्तिको रूपमा सम्झन्छन्। ‘जति उहाँको क्षमता थियो, त्यति नै सरल र सहज पनि हुनुहुन्थ्यो,’ राष्ट्र बैंकको उच्च तहबाट हालै सेवा निवृत्त एक पूर्वअधिकारीले भने, ‘एकातिर मिलनसार र अर्कोतर्फ उच्च क्षमता भएका थोरै व्यक्तिमा उहाँ पर्नुहुन्थ्यो।’  

कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापाको दुई सातादेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो। उनले आफ्नो फेसबुकमा तीन साताअघि ‘कोरोनाको करामत’ शीर्षक दिएर अक्सिजन लिइरहेको तस्बिर सार्वजनिक गरेका थिए।  

थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा नेपालको आवासीय प्रतिनिधिका रूपमा समेत काम गरेका थिए। पछिल्लो समय उनी भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आबद्ध थिए। थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। पोखराका स्थानीय र हाल काठमाडौं, बसुन्धरामा बस्दै आएका थापाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App