९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशी लगानीका थप सिमेन्ट उद्योग आवश्यक: अध्ययन

साबिकका सिमेन्ट उद्योगीले नेपालमा थप सिमेन्ट उद्योग खोल्न नहुने र भएकै पनि धेरै भइसकेको तर्क गरिरहेका बेला नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिन सिफारिस गरेको छ।  

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात पर्वधन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने उक्त अध्ययनको निष्कर्ष छ  

नेपालमा स्वदेशी र सरकारी लगानीमा सञ्चालित सिमेन्ट उद्योगको तुलनामा वैदेशिक लगानीका उद्योगले राम्रो नाफा कमाइरहेको पनि उक्त अध्ययनले देखाएको छ। अध्ययन अनुसार विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ।  

नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका छन्। लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्य छ।  

राष्ट्र बैंकले नेपालमा विशेषतः प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलना, स्वदेशी माग र आपूर्ति लगायत ती उद्योगहरूको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरी अध्ययन गरेको जनाएको छ।  

अध्ययनले विदेशी लगानी रहेको ३, सरकारी स्वामित्व र निजी स्वामित्वको २–२ गरी ७ उद्योगलाई समेटेको छ। सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, दुईजना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दालाई उत्तरदाताको रूपमा चयन गरिएको जनाइएको छ।  

यस अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन छ। आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन छ।  

यसैगरी, आन्तरिक रूपमा यी उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ।  

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत छ।  

सरकारी र निजी स्वामित्व रहेका उद्योगको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगको सञ्चालन र मुनाफा राम्रो छ। विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ।  

मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको पनि अध्ययनले देखाएको छ। स्थापित उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सके सिमेन्ट आयातमा थप कटौती आउने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययन अनुसार सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरू सिर्जना भएका छन्। उद्योग वरिपरि रहेका जमिनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायत सकारात्मक प्रभावहरू परेको भए तापनि वातावरणीय प्रदूषणसम्बन्धी नकारात्मक असर पनि परेको छ। अतः सिमेन्ट उद्योगलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको अध्ययनको निष्कर्ष छ। 

प्रकाशित: ९ जेष्ठ २०७८ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App