१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘मापदण्ड पूरा गरेर निर्माणको काम गर्न कठिन’

निर्माण व्यवसायीले सरकारले तोकेको मापदण्ड पालना गरी पूर्वाधार निर्माणको काम अघि बढाउन कठिनाइ हुने बताएका छन्। कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विकासे पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी मापदण्ड वैशाख २१ गते जारी गरेको थियो। सिसिएमसीले जारी गरेको मापदण्डमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्य रूपले स्वास्थ्य मापदण्ड पालना गर्दै काम गर्नुपर्ने उल्लेख छ।

तर नेपाल निर्माण व्यवसायी महासंघले सिसिएमसीले ल्याएको मापदण्डकै कारण पूर्वाधार निर्माण क्षेत्रमा श्रमिकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको जनाएको छ। महासंघका महासचिव रोशन दाहाल कोभिड–१९ को बढ्दो संक्रमणसँगै राजधानी सहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न अत्यन्त कठिन भएको बताउँछन्।

‘विशुद्ध रूपमा निर्माण सामग्री ढुवानी लगायत काममा प्रयोग भएका गाडीलाई ठाउँ ठाउँमा रोक्न लगाइएको छ,’ उनले भने, ‘सहज रूपमा पाससमेत उपलब्ध गराइएको छैन। निर्माण सामग्रीका केही उद्योग खुले पनि तिनका डिलर, वितरक पसल बन्द रहेका कारण सामानको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको छ। यस्तो बेला कसरी पूर्वाधार निर्माणको काम अघि बढाउन सकिएला र ?’ महासंघले निषेधाज्ञाको फाइदा उठाउँदै निर्माण सामग्रीको मूल्य बेसरी बढाएको जनाएको छ।  

सडक, सिँचाइका काम तोकिएको सीमित स्थानमा नहुने भएकोले संक्रमण सर्ने त्रास रहने र कतिपय स्थानमा संक्रमण फैलने डरले विशेष गरी सहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकोले काम गर्न कठिन हुने देखिएको महासंघले जनाएको छ। ‘अधिकांश कामदार विहान काममा र बेलुका निवासमा फर्कने, निर्माण सामग्री ढुवानी लोड अनलोड इत्यादि गर्दा एक अर्कासँग प्रत्यक्ष सम्पर्क हुने हुँदा र निर्माणस्थलमा खटिएका कोही कसैको संक्रमणले गर्दा मृत्यु भएमा वा संक्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण व्यवसाय क्षेत्रले क्षति बेहोर्नु पर्ने स्थिति आएको छ,’ उनले भने, ‘कतिपय स्थानमा संक्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध सिर्जना गरेको घटना महासंघमा आइरहेको छ।’

यस विषम परिस्थितिमा अब म्याद नथप्ने नियतले काम गर्नु भने पनि व्यवहारिक रूपमा त्यो सम्भव नदेखिएकाले सरकारले नगरी नहुने केही निर्माण कार्यहरू मात्र सञ्चालन गरी अन्य सम्पूर्ण कार्यहरूको लागि शून्य समय (कन्सट्रक्सन होलिडे) को रूपमा गणना हुने गरी बन्द गर्नु उपयुक्त हुने महासंघको सुझाव रहेको र सबै परियोजनामा म्याद थपको कुनै विकल्प नभएको महासंघले जनायो।  महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीको करोडौं भुक्तानी रोकिएको तथा संक्रमण तीव्र गतिमा फैलिरहेको अहिलेको ‘अत्यन्त जटिल’ अवस्थालाई ख्याल गरी कर बुझाउने र बैंक ऋणको किस्ता तिर्ने समय थप्न पनि आग्रह गरे।

प्रकाशित: २६ वैशाख २०७८ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App