१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एक महिना म्याद बाँकी रहँदा साप्सु खोलाको पुल ढलान

साप्सु खोलाको ढलान गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुल । तस्बिर सौजन्य : मनिचन्द्र राई

ठिक एक महिना म्याद बाँकी रहँदा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको बिम तथा स्ल्याव ढलान गरिएको छ । आगामी जेठ १७ गतेसम्म म्याद रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल हप्ता दिन लगाएर ढलान गरिएको हो ।  

निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले ४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुलको बिम तथा स्ल्याव ढलानको काम बिहीबार पूरा गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले गाउँपालिकाका अध्यक्ष राईकै उपस्थितिमा गत बैसाख १२ गतेदेखि पुलको बिम तथा स्ल्याव ढलान सुरु गरेको थियो । पुलको ढलान सुकाउन र टेण्डम वायर तान्न कम्तीमा २८ दिन पर्खनु पर्ने सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए । ढलान गरेको २८ दिनपछि टेण्डम वायर तानेपछि मात्र पुलको अन्य काम सुचारु हुने निर्माण कम्पनीले जनाएको छ ।  

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको हो । पुल निर्माणमा गाउँपालिकाको २ करोडको हाराहारीमा बजेट खर्च हुने जनाइएको छ । सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । 

मूल्य अभिबृद्धि कर सहित ५ करोड ६० लाख १० हजार ५४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका बेला पनि निर्माण कम्पनीले पुल निर्माणको कामलाई निरन्तरता दिएको थियो ।  

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको हो । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले बताए ।

सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो । साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउजाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने छ ।

प्रकाशित: १८ वैशाख २०७८ १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App