coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बाली बिमा नहुँदा मारमा किसान

कटहरीका किसान असिनाबाट क्षति भएको टमाटर देखाउँदै । तस्बिरः चुमन/नागरिक

सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन । बिमा कम्पनीहरुले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा घोषणामै सीमित भएको छ ।  

मोरङका किसानहरुले बिमा कम्पनीले बालीको बिमा गर्नु नमानेको गुनासो गरेका छन् । कटहरीका किसान गंगा सिंहले पटक पटक तरकारी बालीको बिमा गर्न विभिन्न ध्याउँदा कुनै कम्पनीले  बिमा नमाने बताए । उनले भने, ‘धेरै वटा कम्पनीमा बिमाका लागि जाँदा कसैले बालीको बिमा गर्न मानेन् ।’ गत वर्षदेखि बालीको बिमा गर्न कुनै पनि बिमा कम्पनी नआउँदा लाखौं रुपैयाँ लगानी डुब्न थालेको मोरङका किसानहरुले बताए । दुई वर्ष अघिसम्म कटहरीका किसानहरुले लगाएको तरकारी खेतीको बिमा गर्न निजी बिमा कम्पनीहरु आउने गरे पनि दुई वर्षदेखि यता कोही पनि नआएको बताए । किसानहरुका अनुसार बिमा कम्पनीहरुले पशु बिमा मात्रै गर्ने गरेका छन् । तर, उनीहरुलाई बाली बिमा गर्न भन्दा कोही पनि तयार नभएको बताएका छन् ।  

‘पहिला बाली र पशु बिमा गर्नका लागि बिमा कम्पनीका मान्छेहरु आउने गर्थे,’ कटहरी गाउँपालिका–४ का गंगा सिंहले भने, ‘तर, यस वर्ष भने पशु र बाली दुवैको बिमा गर्न कुनै पनि कम्पनीहरु आएनन् । दुई वर्ष अघिसम्म बाली र पशु दुवैको बिमा हुन्थ्यो र हामीलाई राहत हुने गरेको थियो । गत वर्ष पशुको मात्रै बिमा भयो । यस वर्ष पशुकोसमेत बिमा गर्न नआउँदा समस्या हुन थाल्यो ।’

हामी किसान आफैले पशुको बिमा गर्नका लागि कम्पनी खोज्दै गयौं, गंगा सिंहले भने, ‘बाली बिमा गर्न नआउँदा र गर्न नमान्दा लाखौं खर्च गरेर लगाइएका तरकारी बाली नष्ट भएर गयो । केही दिन अघि आएको असिना पानीले ५० औं विघामा लगाएको तरकारीमा धेरै क्षति पुर्‍यायो ।’ म जस्ता किसानले सहकारी र बैंकबाट ऋण लिएर लगाएको बाली पूर्णरुपमा नष्ट हुँदा ऋण तिर्ने धेरै समस्या सिर्जना भएको छ । ‘सरकारले भाषणमा मात्रै किसानलाई राहत दिने भन्छ,’ सिंहले भने, ‘तर, व्यवहारमा लागू गर्न नसक्दा हामीलाई ठूलो नोक्सानी हुँदै आएको छ । बाली बिमाबाट केही राहत हुँदै आएको थियो । यस पटक भने न बिमा भयो, क्षतिबाट बचेको केही तरकारी बिक्री गर्न बजार नहुँदा अर्को समस्या झेल्नु परेको छ ।’  

लाखौं रुपैयाँ लगानी गरेर लगाएको तरकारीले न मूल्य पाउँछ न बजार नै । उत्पादन भएका टमाटर उद्योगले लिनै छाडे, बजार नहुँदा तरकारीले उचित मूल्य पाउन सकेको छैन । उत्पादन भएको तरकारी बिक्री गरेर खेतमा काम गर्ने मजदुर, बैंकको ऋण तिर्नु पर्ने हुन्छ, बाली नै नष्ट भएपछि हामीले कहाँबाट ल्याएर ऋण तिर्नु र घर व्यवहार चलाउनु सिंहले भने ।  

बिमा कम्पनीहरुले बाली बिमा नगर्दा सरकारले किसानलाई दिएको बाली बिमाको सुविधा पाउनबाट वञ्चित भएको उनीहरुले बताएका छन् । मेहनत र लगानी डुब्न नदिनका लागि सरकारले बिमा कार्यक्रम ल्याए पनि पूर्ण रुपमा कार्यान्वयन नहुँदा दुःख पाएको बताएका छन् । सरकारले कृषिमा गरेको बिमा कार्यक्रमअन्तर्गत पशु, बालीनालीलगायतका योजना रहे पनि मोरङमा पशु बिमा मात्रै सुविधा पाउने गरेको किसानहरुले गुनासो गरेका छन् ।  

‘बिमा समितिको निर्देशिकामा प्रष्ट रुपमा बिमा कम्पनीहरुले कृषि बिमा गर्नुपर्छ भनेको छ,’ नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका मोरङका महासचिव गणेश श्रेष्ठले भने, ‘किसानहरुले नबुझ्दा पनि समस्या आएको हुनुपर्छ । बाली तथा पशुपंक्षीको बिमा गर्न समितिले जिल्ला जिल्लामा एउटा कम्पनीलाई तोकेको हुन्छ र त्यसले गर्नै पर्छ । मोरङमा तोकिएको कम्पनीले पनि काम गरिहेको छ । सबै किसानलाई अझै पनि बिमाबारे स्पष्ट कुरा थाहा नहुँदा समस्या आएको हो ।’

राष्ट्रिय बिमा समितिले हाम्रो कम्पनीलाई मोरङमा कृषि बिमाको जिम्मेवारी दिएको र कृषि बिमा गरिरहेको दाबी गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक सुजन कोइरालाले भने, ‘सरकारले किसानलाई बिमाको बारे स्पष्ट बुझाउन नसक्दा समस्या आएको हो । हामीले यहाँका किसानका बाली र पशुपंक्षी बिमा गरिरहेका छौं ।’ किसानहरु सोझै सम्बन्धित बिमा कम्पनी नआउने र बिचौलियामार्फत आउने गर्दा ठूलो समस्या सिर्जना भएको छ ।

‘हामी कहाँ आएका किसानहरुको बिमा गरिरहेका छौं,’ शाखा प्रबन्धक कोइरालाले भने, ‘बिमाको जानकारी दिनका लागि विभिन्न पालिकामा तालिम गर्दा प्रत्यक्ष रुपमा किसान नआउने गर्दा सिधै उनीहरुलाई बुझाउन र बुझ्न समस्या भएको हो ।’

प्रकाशित: १६ वैशाख २०७८ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App