१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सरकारको फास्ट ट्र्याक विकास: दुई वर्षमा चार प्रतिशत काम

कछुवा गतिमा स्तरोन्नति भइरहेको बुटवल–नारायणगढ सडक। तस्बिर: नागरिक

प्रधानमन्त्री ओली हरेक जसो मञ्चहरूमा सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गर्छन्। निर्माणाधीन अवस्थाकै आयोजनाको उद्घाटन तथा डिपिआरै नबनेका र ठेक्का प्रक्रियामै नगएका आयोजनाको शिलान्यास गरेर विकासप्रेमी सरकार र नेताको छवि बनाउने प्रयत्नमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेल सुरुदेखि नै लागेका हुन्।  

तर विकासप्रेमीको जस बटुल्ने हतारोमा शिलान्यास गरिएका कतिपय आयोजनाको कार्य प्रगति निराशाजनक छ। त्यसैको उउटा उदाहरण हो, बुटवल–नारायणघाट चार लेन सडक। जुन निकै तामझामका साथ प्रम ओलीले दुई वर्षअघि शिलान्यास गरेका थिए। २०७५ चैत ८ गते बुटवलमा सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणको काम फास्ट ट्र्याकमा सम्पन्न हुने दाबी गरेका थिए। तर दुई वर्षको प्रगतिले प्रम ओलीको दाबीलाई गिज्याइरहेको छ। दुई वर्ष बितिसक्दा बुटवल–नारायणगढ सडक निर्माणको प्रगति जम्मा चार प्रतिशत छ।

बुटवल–नारायणगढ ११३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न सन् २०१९ को फेब्रुअरीमा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएसिइसी) सँग ठेक्का सम्झौता भएको हो। सम्झौता अनुरूप सन २०२२ को अगस्टमा निर्माण सकिनु पर्नेछ। निर्माण पूरा भएपछिको चार वर्षसम्म मर्मतको जिम्मा पनि ठेकेदारकै हुनेछ।  

यो सडक जंगल क्षेत्रमा चार लेन र बस्ती क्षेत्रमा सर्भिस लेन सहित ६ लेनमा स्तरोन्नति हुनेछ। यो राजमार्ग चौराहदेखि दाउन्नेसम्मको ४८.५ किलोमिटर र दाउन्नेदेखि गैंडाकोट सम्मको ६४.४ किलोमिटरका दुईवटा प्याकेजमा छन्।  

बुटवल–दाउन्ने खण्डको बर्दघाट र सुनवलका केही स्थानमा सडक चौडा पार्ने काम थालिएको छ। रूपन्देहीको देवदह, भलुही क्षेत्रमा पुल कल्भर्ट निर्माणका लागि डाइभर्सनको काम चलेको छ। तर काम कछुवा गतिमा छ। बाटो भत्काएर लामो समय काम नहुँदा धुलोले सडक किनारका बस्ती र सवारी आवागमनमा निकै समस्या भएको स्थानीयको गुनासो छ।

आयोजनाको बुटवल–दाउन्ने खण्डमा नौवटा ठूला र २१ वटा साना पुल बन्नेछन्। तीमध्ये ठूला ६ र साना नौ पुलका लागि बल्ल पाइल्स धसाउन सुरु गरिएको छ। २४६ वटा कल्र्भटमध्ये ६० वटा तयार हुँदैछन्। बर्दघाट–दाउन्ने क्षेत्रमा मर्मतको काम दुई वर्ष बित्दा पनि सुरु भएकै छैन। जसका कारण दाउन्नेमा घन्टौं सवारी जाम हुन्छ। आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी युवराज पाण्डेले दाउन्ने क्षेत्रको सडक मर्मतको काम केही दिनभित्रै सुरु हुने बताए। यो खण्डमा अझै तीन हजार रुख काट्न बाँकी छ। १० हजार काटिएको छ। बिजुलीको पोल र खानेपानीका पाइप सार्ने कामै सुरु भएकै छैन।  

पोल सार्न करिब ३५ करोड लागत इस्टिमेट छ। ठेक्का सम्झौतामा पोल र खानेपानीका पाइप ठेकेदारले नै सार्ने उल्लेख छ। रेट नेगोसियसन अनुरूप इस्टिमेट लागतभन्दा करिब १८ प्रतिशत कम मूल्यमा कम्पनीले काम गर्नुपर्ने हुन्छ। तर चाइनिज कम्पनीले ३५ करोडमा घटेर काम गर्न आनाकानी गरेकाले ढिलाइ भएको आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले बताए।

गैंडाकोट–दाउन्ने खण्डमा पनि सडक निर्माणले गति लिएको छैन। यो खण्डमा चोरमाराको जंगल–थुम्सी क्षेत्रमा रुख काटेर बाटो चौडा पार्ने काम भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सडक क्षेत्रमा रुख कटान भइरहेको छ। पूर्वी खण्डमा कुल ३६ हजार रुख काट्नुपर्नेमा अहिलेसम्म १६ हजार काटिएको छ।  

कल्भर्ड दुई सय बनाउनुपर्नेमा ५० वटा निर्माणाधीन छन्। यो खण्डमा साना २३ र ६ वटा ठूला पुल बन्नेछन्। त्यसमध्ये दुई वर्षमा जम्मा दुइटा पुलको काम भएको छ। आठवटा साना पुलको काम भर्खर सुरु गरिएको छ। यो बाटोको दुवै खण्डमा गरेर करिब पाँच हजार बिजुलीका पोल सार्नुपर्छ। ठेक्का सम्झौताको दुई वर्ष बित्दा पोल सारिएको छैन।  

यो सडक १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण सम्पन्न हुनेछ। कुल लागतको ८५ प्रतिशत एडिबीको सहुलियत ऋण हो। बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी छ। यो सडक निर्माण सम्पन्न भएपछिको चार वर्षसम्म मर्मतसम्भारको जिम्मा पनि ठेक्का पाएको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी) कै हुने सम्झौतामा उल्लेख छ। तत्कालीन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गरेर २०२२ सालमा उद्घाटन पूर्व–पश्चिम राजमार्गको नारायण–बुटवल खण्ड ५८ वर्षपछि स्तरोन्नति गर्न लागिएको हो।  

अधिकारीहरूका अनुसार आयोजनाको साइट क्लियरको कामै नगरी हतारमा ठेक्का सम्झौता गरेर आयोजनाको शिलान्यास गरिएको थियो। जसका कारण निर्माणले समयमै गति लिन सकेन। निर्माण कम्पनीकै आन्तरिक समस्या, साइट क्लियरेन्स, रुख कटानको स्वीकृतिमा ढिलाइ र कोभिडका कारण आयोजनाले गति लिन नसकेको दाबी दाउन्ने–नारायणगढ खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए।

प्रकाशित: १६ वैशाख २०७८ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App