२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

साढे ६ अर्बले बढ्यो बैंकको घर–जग्गा कर्जा

अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने विज्ञहरूको धारणा विपरीत वित्तीय संस्थाहरूले घरजग्गा कर्जामा लगानी गर्ने क्रम जारी राखेका छन्।  वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब साढे ६ अर्ब रूपैयाँले घरजग्गामा कर्जा वृद्धि गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बैंकहरूले घर जग्गामा ६ अर्ब ६० करोड रूपैयाँले लगानी बढाएका छन्। फागुन महिनामा मात्रै घरजग्गामा बैंकहरूको लगानी दुई अर्ब ७७ करोड रूपैयाँले बढेको छ। माघ अन्तिमसम्म घरजग्गामा एक खर्ब ४७ अर्ब ८१ करोड रूपैयाँ कर्जा लगानी रहेकोमा फागुन अन्तिमसम्म्मा यस्तो कर्जा बढेर एक खर्ब ४८ अर्ब नौ करोड रूपैयाँ पुगेको छ।  

माघमा पनि यस्तो कर्जा साढे एक प्रतिशतभन्दा धेरैले बढेको थियो। पुस अन्तिमसम्म एक खर्ब ४५ अर्ब रूपैयाँ रहेको यस्तो कर्जा माघ अन्तिमसम्म एक खर्ब ४७ अर्ब रूपैयाँ पुगेको थियो। कोरोना महामारीका कारण केही महिना लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाले विस्तारै कर्जा वृद्धि गर्दै लगेका हुन्। कात्तिकसम्म बैंकहरूलाई लगानी गर्न हम्मेहम्मे परेर करिब दुई खर्ब रूपैयाँसम्म अधिक तरलता भएको थियो।  

कर्जा लगानी बढ्दै जाँदा विस्तारै सबै बैंकहरूमा तरलता करिब तीस अर्ब रूपैयाँ हाराहारीमा पुगेको छ। अधिक तरलता भएपछि बैंकहरूले घर तथा सवारी साधन कर्जामा एकल अंक ब्याजमै कर्जा दिन थालेका छन्। घर जग्गामा लगानी गर्न नयाँ नयाँ योजना ल्याउने गरेका छन्।  

त्यस्तै, विकास बैंकहरूले फागुनसम्म घर जग्गामा गरेको लगानी १७ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ। फागुनमा मात्रै यस्तो कर्जा ३.०३ प्रतिशतले बढेको पाइएको छ। फाइनान्स कम्पनीहरूले पनि घर जग्गामा गरेको कर्जा लगानी ६ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ। फागुनमा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा ०.५३ प्रतिशतले बढेको छ।  

फागुन मसान्तसम्म २७ वाणिज्य बैंकहरूले कुल ३४ खर्ब सात अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। केहीले घरजग्गामा गरिएको लगानीलाई अनुत्पादक मान्ने गरे पनि कतिपय अर्थशास्त्री घरजग्गाको लगानीलाई अनुत्पादक ठान्न नहुने बताउँछन्।  

बैंक तथा वित्तीय संस्थाले कात्तिक, मंसिरदेखि जग्गा कर्जामा लगानी बढाउन थालेको पाइन्छ। कात्तिकमा तीन अर्ब ९५ करोड र महिनामा बैंकहरूको घरजग्गामा तीन अर्ब ४० करोड रूपैयाँले लगानी बढाएका छन्। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले गरेको कुल कर्जामध्ये घरजग्गामा गरेको लगानीको ४ प्रतिशत हो।

फागुन मसान्तसम्म २७ वाणिज्य बैंकहरूले कुल ३४ खर्ब सात अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। केहीले घरजग्गामा गरिएको लगानीलाई अनुत्पादक मान्ने गरे पनि कतिपय अर्थशास्त्री घरजग्गाको लगानीलाई अनुत्पादक ठान्न नहुने बताउँछन्।  

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा संविधानले नै आवासको सुविधालाई मौलिक हकको रूपमा राखेको बताउँछन्। ‘घर कर्जामा गरिएको लगानीबाट पनि रोजगारी सिर्जना गर्ने काम भइरहेको हुन्छ,’ उनले भने, ‘त्यसैले घर कर्जालाई अनुत्पादक भन्न मिल्दैन।’  

कतिपय व्यक्ति भने बैंकहरूले अर्थतन्त्रलाई बलियो बनाउन कृषि, जलविद्युत् लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्ने गर्छन्। उत्पादनमूलक क्षेत्रमा लगानी नभएसम्म रोजगारी नबढ्नुको साथै आयात पनि प्रतिस्थापन नहुने उनीहरू बताउँछन्। 

प्रकाशित: १६ वैशाख २०७८ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App