१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तरकारीको भाउ पाउन थाले भक्तपुरका किसानले

भक्तपुरका किसानले बल्ल तरकारीको उचित भाउ पाउन थालेका छन्। नेपालकै सबैभन्दा ठूलो अनि आधुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा ल्याइएपछि किसानहरुले तरकारीको उचित मूल्य पाउन थालेका हुन्।  

किसानको जिल्ला भनेर चिनिने किसानको बाहुल्यता भएको जिल्लामा यसअघि तरकारी बजार थिएन। बजारको अभावमा उनीहरु सडकको छेउछाउमा बसेर तरकारी बेच्न बाध्य थिए। बजारको अभावमा उनीहरुले तकारीको उचित मूल्य पाउन सकेका थिएनन्। बजारको अभावमा किसानले काठमाडौंसम्म लाने बिचौलियालाई सस्तैमा तरकारी बेच्न बाध्य थिए।

एकजना किसान कृष्णबहादुर फेलूले आफ्नै आँंगनमा तरकारी बजार खुल्दा उचित मूल्य पाएको भन्दै खुसी जनाए। ‘एक दिन एक पटक सबैको पालो आउँंछ भनेको हो रहेछ जस्तो लाग्यो, लामो समयदेखि कृषि पेशा गर्दै आएका उनले भने, ‘बल्ल तरकारीको उचित मूल्य पाउँंदा असाध्यै खुसी लागेको छ।’

उत्पादन भएको तरकारी विहानै तरकारी बजारमा बेच्न लाने गरेको उनले सुनाए। विहानै नभ्याए जुनैबेला पनि त्यहाँं तरकारी बेच्न जान सकिने अवस्था रहेको उनले बताए। उनले आफूले मात्रै होइन, सबैले तरकारीको उचित मूल्य पाउन थालेको भन्दै प्रसन्नता व्यक्त गरे।

जिल्लामै हालसालै सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा नेपालकै ठूलो सूर्यविनायक हरित कृषि थोक बजार प्रालि सञ्चालनमा ल्याइएको छ। बजार अरनिको राजमार्ग अन्र्तगत आदर्श बस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रमा रहेको छ।  

कृषि बजार आधृनिक रुपमा बनाइएको छ। त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्वार र बाहिर निस्कनका लागि छुटाछुटै दुई वटा प्रवेशद्वारको व्यवस्था गरिएको छ। एउटा प्रवेशद्वार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मुख्य सडकसँंग जोडिएको छ।  

कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ। साथै त्यहाँं पार्किंगको पनि व्यवस्था छ। कृषि बजारभित्रसम्म तरकारी पुर्‍याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ। ३२ करोडको लगानीमा सञ्चालित यो नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो व्यवस्थित कृषि बजार हो।  

बजारभित्र साढे सात सय स्टलहरु रहेको छन्। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ। बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा बिक्री पनि हुने गरेको छ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले यहाँं तरकारी बेच्न ल्याउने किसानलाई उचित मूल्य दिइरहेको बताए। यसले यहाँंका किसानहरु दंग परेको उनी सुनाउँछन्। किसानलाई मात्रै नभई यहाँंबाट तरकारी किनेर काठमाडौंमा बेच्न लाने खुद्रा व्यापारीहरुलाई पनि आकर्षक मूल्यमा तरकारी बेचिरहेको जानकारी उनले गराए। यसबाट तरकारी बेच्न आउने किसान अनि किन्ने आउने खुद्रा व्यापारी दुवै खुसी हुने गरेको उनले सुनाए।  

काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडीभित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै हुन्छ तर यहाँं त्यस्तो समस्या आउने गरेको छैन। यसकारण पूर्वी नाकाबाट आउने सबै तरकारीहरु यही पुर्‍याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुर्‍याउन सकिने अवस्था छ।

प्रकाशित: १२ वैशाख २०७८ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App