१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धनगढीमा थपिँदै मार्ट

बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन्। एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउन मार्ट खुलेका हुन्।  

व्यापार व्यवसायका लागि ‘भर्जिन’ एरिया सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको छनोटमा मार्ट पर्न थालेका छन्। परम्परागत शैलीको व्यापार, व्यवसायलाई परिवर्तन गर्दै पछिल्लो समय ग्राहकको रोजाइ र समय बचत गराउन मार्टहरू सञ्चालनमा आउन थालेका हुन्। मार्ट सञ्चालनमा आउन थालेपछि ग्राहकको रोजाइमा पनि पसल पसल डुलेर सामान किन्नुभन्दा एउटै छानामुनि सबै सामान पाइने मार्ट पर्न थालेका छन्। पछिल्लो समय धनगढीमा ओम ट्रेड सेन्टर, चौलानी डिपार्टमेन्टल स्टोर, चौलानी मार्ट, भूमिराज मार्ट, साथी मार्ट हुँदै बिबी मार्ट सञ्चालनमा आएका छन्। धनगढीको भर्जिन मार्केटलाई लक्ष्य गर्दै पछिल्लो समय काठमाडौंको भाटभटेनीले पनि शाखा सञ्चालनमा ल्याउन भवन निर्माण गरिरहेको छ।  

धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र रहेको र यहाँ व्यापार, व्यवसायको अथाह सम्भावना रहेको बिबी मार्टका सञ्चालक हरिष चटौत बताउँछन्। ‘धनगढी प्रदेशकै ठूलो सहर हो,’ उनले भने, ‘यहाँ अब खुद्रा पसलभन्दा पनि मार्ट संस्कृतिको विकास भइसकेको छ।’ यहाँका ग्राहकले समयको सदुपयोगका साथै सबै सामग्री एउटै छानामुनि खोज्न थालेकाले मार्ट संस्कृतिको विकास भइसकेको उनको बुझाइ छ।  

‘देशकै पश्चिम कुनाको ठूलो सहर हो धनगढी,’ उनले भने, ‘यहाँ पनि डिपार्टमेन्टल स्टोर र मार्टको खोजीमा ग्राहक छन्, त्यही भएर हामीले पनि मार्ट सञ्चालनमा ल्यायौं।’ बुधबार मात्रै धनगढीमा बिबी मार्ट सञ्चालनमा आएको हो। सातजनाको लगानीमा सुपरमार्केट डिपार्टमेन्टल स्टोरको ‘कन्सेप्ट’मा बिबी मार्ट सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका एक चटौतले बताए। उनले भने, ‘हामीले कञ्चनपुरको महेन्द्रनगर, झलारी, कैलालीको अत्तरियामा यसअघि मार्ट सञ्चालनमा ल्याइसकेका छौं, अहिले धनगढी आएका हौं।’ एकपछि अर्को गर्दै मार्ट खुल्न थालेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।

उनले भने, ‘पछिल्लो समयमा धनगढीमा मार्ट संस्कृतिको विकास हुन थालेको छ, जसले गर्दा यहाँका ग्राहकलाई सुपथ मूल्यमा सामान किन्न पाउने छन्।’ प्रतिस्पर्धी मार्ट भएमा ग्राहकलाई टेवा पुग्ने बताउँदै उनले भने, ‘एउटै छानामुनि सस्तोमा सबै सामग्री पाउने भएपछि उपभोक्तालाई सामान किन्न बजार डुल्ने समय र इन्धनको बचत हुनेछ।’  

धनगढी आधुनिकतातिर ढल्कदै गर्दा यहाँ मार्टहरू पनि सञ्चालनमा आउन थालेको उनले बताए। ‘परम्परागत व्यापार, व्यवसायलाई परिमार्जन गर्दै अहिले उनीहरू नै आधुनिकतातिर लम्किरहेका छन्,’ उनले भने, ‘ठूला व्यापार, व्यवसायका साथै मार्ट तथा डिपार्टमेन्टल स्टोर स्थापना हुन थालेका छन्।’ मार्टमा महँगो हुन्छ भन्ने ग्राहकको बुझाइ विस्तारै परिवर्तन हुन थालेको बताउँदै बिबी मार्टका अर्का सञ्चालक दिपेन्द्र ऐरले भने, ‘मार्टमा महँगोभन्दा पनि खुद्रा पसलभन्दा सस्तो पर्ने भएकाले ग्राहको रोजाइमा पर्न थालेको हो।’ त्यही भएर पनि आफूहरूले मार्ट संस्कृतिको विकास गर्न र ग्राहकको रोजाइलाई ध्यानमा राख्दै सञ्चालन गरेको उनले बताए। 

प्रकाशित: ९ वैशाख २०७८ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App