१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुर्खेतमा नेपाल बैंकको डिजिटल महाअभियान सुरु

डिजिटल महाअभियानअन्तर्गत डिजिटल प्रविधिमार्फत क्यूआर कोडमार्फत सामान खरिद गरेर उक्त अभियान शुभारम्भ गर्दै नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीलगायत। तस्बिरः गणेश/नागरिक

काठमाडौं बाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले डिजिटल महाअभियान सुरु गरेको छ। वीरेन्द्रनगरमा आयोजित एक समारोहबीच नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले उक्त अभियानको शुभारम्भ गरेका हुन्।

उक्त महाअभियानअन्तर्गत डिजिटल प्रविधिमार्फत क्यूआरकोड (क्वीक रेस्पोन्स कोड) वितरण गरी अध्यक्ष मरासिनीले महाअभियानको शुभारम्भ गरेका थिए। क्यूआर कोड प्राप्त गरेपछि सेवाग्राहीले बैंकबाट छिटोछरितो बिना झन्झटिलो सेवा पाउने अपेक्षा गरिएको छ। कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरी उक्त बैंकका अध्यक्ष मरासिनीले क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेर डिजिटल महाअभियान उद्घाटन गरेका थिए। 

समयको परिवर्तनशीलतलाई आत्मसाथ गरी प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्नेमा अध्यक्ष मरासिनीले जोड दिए। ‘हामी बैंकको काम कसरी सरल र सहज बनाउने भन्ने विषयमा केन्द्रित छौं,’ उनले भने, ‘मलाई लाग्छ यो अभियानले पक्कै सेवाग्राहीलाई सहज सेवा दिने छ।’ कर्णालीका अन्य जिल्ला र अन्य प्रदेशहरुमा पनि बिस्तारै यो महाअभियान सञ्चालन हुने उनको भनाइ छ।

कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रविधिमार्फत कर्णालीको मह खरिद गरेका थिए। नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरी कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम डिजिटल सुर्खेत महाअभियानअन्तर्गत डिजिटल प्रविधिमार्फत क्यूआर कोड स्टेन्ड वितरण गरिएको नेपाल बैंक शाखा कार्यालय सुर्खेत वीरेन्द्रनगर शाखाका प्रमुख गणेश केसीले जनाए। 

हालसम्म वीरेन्द्रनगर शाखाले एक सय २० भन्दा बढी क्यूआर कार्ड वितरण गरेको उनले जानकारी दिए। ‘एउटा पसलमा सेवाग्राही सामान किन्न आउँछ। उसलाई उदारोमा सामान दिन पनि सकिँदैन। आएको सेवाग्राहीलाई रित्तो हात फर्काउन पनि सकिँदैन,’ उनले भने, ‘यस्तै परिस्थितिमा क्यूआर कोर्डको महत्वपूर्ण भूमिका रहन्छ। क्यूआर कोर्डमार्फत सेवाग्राहीले सामान पाउँछ भने व्यापारीलाई उदारोमा सामान दिनु पनि पर्दैन।’ जसले किनमेलमा सहजता हुने उनको भनाइ छ।

यो अभियान अहिलेको आवश्यकता भएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले भने, ‘नेपालको पहिलो बैंक आधुनिकतामा जानु हाम्रा लागि खुसीको विषय हो।’ यसलाई सफल बनाउन उद्योग, व्यवसायीको सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ७ चैत्र २०७७ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App