४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

नदीको ढुङ्गा निकाल्दा बेनीबजार थप जोखिममा

तस्बिर : हरिकृष्ण गौतम

म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा नदीले सडक कटान गरेपछि संरचनाको बाहनामा नदीबाट एक्साभेटर प्रयोग गरेर किनारका ठूला  ढुङ्गा निकालिएको छ । जमिनमा एकपटक बसिसकेको ढुङ्गालाई बगिरहेको नदीबाटै भारी मेसिनको प्रयोग गरी टुक्राटुक्रा पारिएकोछ । बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वरमा गतबर्ष कालिगण्डकीमा आएको बाढीले नदीको धार परिवर्तन गरेको अवस्थामा तारजालीको अस्थायी तटबन्धनका लागि अन्यत्रबाट ढुङ्गा ल्याएर काम गर्नुपर्ने अवस्थामा बजेट अभाव भन्दै एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा निकालेर जाली भर्ने प्रयोग गरिएको छ । सोही स्थान नजिकै बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहन भइरहेको छ। नदी उत्खनन्मामा सहज हुने गरी हेभी इक्युभमेन्ट पुग्ने गरी सडक समेत बनाइएको छ। उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजार संरक्षणको बाहनामा ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ भने सदरमुकाम बेनीबजारको कालिपुल क्षेत्र थप जोखिममा परेको छ ।  

दैनिकजसो संरक्षणका बाहनामा नदीको बेग रोक्न सक्ने गरी बसेका ढुङ्गा निकालिदाँ समेत सरोकारवाला निकाय मौन बसेका छन् । प्रभावित क्षेत्रका बासिन्दाले अवरोधको प्रयास गर्दा समेत सरोकारवाला निकायको आडमा ठेकेदार कम्पनीले हेभी इक्युभमेन्ट नै नदीमा लगेर ढुङ्गा फुटाइरहेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र सम्बन्धित कार्यालयसँग भएको सम्झौता बिपरित नदीको उत्खनन्मा हुने गरेको भन्दै रोक्न पटकपटक अनुरोध गर्दा समेत सुनुवाई नभएको स्थानीयको गुनासो छ । ‘उत्ताउलो विकासको मोडल प्रयोग भइरहेको छ,‘दवाव दिदाँ समेत वास्ता हुदैन’ जलेश्वरका स्थानीय यूवा इन्द्र बरुवालले भने । विगतका बर्षमा स्थानीय उपभोक्ताको आडमा स्काभेटरको प्रयोग गरी नदीको गर्भ खन्दा नदीले धार परिवर्तन गरी थप जोखिम बनाएको अवस्थामा चालु आवमा समेत साना आकारका ढुङ्गा निकाल्ने बाहनामा नदीमा लुट मच्चाइएको छ । बेनी नगरपालिका मार्फत शिव जिसीले फोहोर ब्यवस्थापन कक्ष, पूर्वाधार कार्यालय म्याग्दीमार्फत ठेकेदार बिपिन खड्काले अस्थायी संरचना बनाउन र रुपातालमार्फत कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीले काम गरिरहेको छ।  ठेकेदार कम्पनीले सम्बन्धित निकायको अनुमतिमा काम गरेको जिकिर गरेका छन् । रुपाताल संरक्षण आयोजनाका प्रतिनिधिले समेत जमेको ढुङ्गा निकाल्न उपयुक्त नहुने बताउँदै जोखिम भएको ठाउँमा अर्को स्थानबाट ढुङ्गा ल्याएर नदीको सतहलाई पुरानै धारमा फर्काउन सकिने बताए ।

कंक्रिट पर्खालले कटान रोक्ने भन्दै प्राकृतिक रुपमा  जमेर बसेका ढुंगा फुटाउँदा भविस्यमा बजार संरक्षणमा थप क्षती पुग्ने प्राविधिक पक्षको भनाई छ ।  यता जिल्ला पूर्वाधार कार्यालयका प्रमुख प्रमुख नवराज पौडेलले जमेका ढुंगालाई चलाउन नहुने बताए ।‘नदीमा रहेका ढुंगालाई बेग रोक्न सघाउँछ,‘नदीको छेउछाउ र बिच भागमा रहेका ठूला–ठूला ढुङ्गा फुटाउनु बर्खामा जोखिम हुनसक्छ’ पौडेलले भने । उनले नदीमा संरक्षणको कामका लागि अन्यत्रबाट ढुंगा ल्याउनुपर्ने बताए । नदीमा पानीको भार रोक्ने ढुंगाले नै भएकाले जोखिमलाई हेरेर काम गर्नुपर्ने बताए । बस्ती आसपासका क्षेत्रमा नदीभित्रबाट ढुंगा निकाल्दा धार परिवर्तन गरी थप कटानको जोखिम हुने भएकाले सर्तक हुनुपर्ने प्राविधिक पक्षको भनाई छ । गतबर्ष नदीबाट ढुंगा निकालिएपछि धार जोखिमपुर्ण स्थानमा सोझिएपछि नदीको बाहव रोक्न दोभिल्लाबाट ढुंगाले पुरानै अवस्थामा फर्काउने प्रयास समेत भइरहेको अवस्थामा अहिले समेत गलत मोडेलमा काम भइरहेको छ ।  

विगतमा संरक्षणको कामका लागि बनाइएको उपभोक्ता समितिको अदृष्य गतिविधिले समेत नदीको छेउछाउ र बीच भागमा रहेका ठूल्ठूला ढुङ्गा फुटालेर नदीको सौन्दर्य नष्ट गर्ने काममा सघाएका थिए । ग्याविनजाली लगाउने ठाउँदेख ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमतिले नै नदी कटानलाई सघाइरहेको छ। बेनी नगरपालिका, पूर्वाधार कार्यालय र रुपाताल एकीकृत संरक्षण विकास परियोजनाले बेनीबजार आसपासमा गरेको काम आवश्यकता भन्दा फरक र मापदण्ड विपरित भएपनि संघीय र प्रदेश सरकारका प्रतिनिधिले समेत हस्तक्षेप गर्न सकेका छैनन् । बेनीबजारको पूर्ण संरक्षणका लागि पक्की पर्खाल सहितको संरचनामा झण्डै ५० करोडभन्दा बढी लाग्ने बताइएको छ । अपारदर्शी मोडेलका कारण बर्षेनी बनाइएको संरचना नदी कटानले भत्काउने गरेको छ ।  

प्रकाशित: २७ फाल्गुन २०७७ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App