५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यापार र लगानीमा सहयोग गर्छु: दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत विश्वकर्मा

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ मुलुकमा व्यापार तथा लगानीका सम्भाव्यताको पहिचान गरी व्यापार प्रवर्धन तथा त्यहाँबाट लगानी भित्र्याउन सक्दो पहल गर्ने बताएका छन्। 

नेपाल उद्योग परिसंघका पदाधिकारीसँग आइतबार भएको छलफलमा राजदूत विश्वकर्माले दक्षिण अफ्रिकी मुलुकहरूमा रहेका उद्योग, व्यवसायसँग आवद्ध संस्थाहरूको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरूसँगको सहकार्यमा निर्यात प्रवद्र्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने बताए।

परिसंघका अनुसार अध्यक्ष सतीषकुमार मोरले नेपालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखी कूटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रर्वधन गर्न विशेष पहल गर्नुपर्नेमा जोड दिए। दूतावासहरूले नेपाली उत्पादनलाई प्रदर्शन गर्न प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवर्धनमा सघाउ पुर्‍याउनुपर्नेमा उनले जोड दिएको विज्ञप्तिमा उल्लेख छ।  

अध्यक्ष मोरले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, उनी कपडा लगायत उत्पादन निर्यात गर्न पहल गर्नुपर्ने धारणा राखे। 

स्वदेशमै औद्यागिकीकरणको माध्यमबाट रोजगारी सिर्जना गर्ने र लगानीमैत्री वातावरण तयार गर्न परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मुलकबाट पनि लगानी भित्र्याउन सकिने बताए। परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको पनि अध्यक्ष मोरले जानकारी गराए।

प्रकाशित: २४ फाल्गुन २०७७ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App