पोखरा महानगरपालिकाले किसानलाई ‘किसान परिचयपत्र’ वितरण सुरु गरेको छ । महानगरपालिकाले शुक्रबार पोखरामा एक औपचारिक कार्यक्रम गरी ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको हो ।
किसान परिचय पत्र वितरण गर्नेमा पोखरा महानगरपालिका देशकै पहिलो स्थानीय तह बनेको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । महानगरले पहिलो चरणमा २ सय ८८ जना पशुपंछी पालक किसानलाई ‘किसान परिचय पत्र’ वितरण गरेको जनाएको छ । जस अन्तर्गत विशिष्ट कृषक ८, उद्यमी कृषक ५, व्यवसायिक किसान १३, व्यवसाय उन्मुख किसान ९८ र साना व्यवसायी कृषक १६४ जनालाई किसान परिचय पत्र वितरण गरिएको पोखरा महानगरपालिकाका पशु सेवा विभागका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले किसानलाई ७ वर्गमा वर्गीकरण गर्ने नीति लिए अनुरुप महानगरपालिकाले किसान वर्गीकरण गरेर परिचय पत्र वितरण गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । प्रदेश सरकारले १५० भन्दा बढी गाईभैंसी पाल्ने र १ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० वटासम्म गाईभैंसी पाल्ने र १ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई उद्यमी किसान, ३० देखि ६० वटासम्म गाईभैंसी पाल्ने र ५० लाख भन्दा बढी लगानी गर्ने किसानलाई व्यवसायीक, १० देखि ३० वटासम्म गाईभैंसी र ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख कृषक, ५ देखि ९ वटासम्म गाईभैंसी र १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी कृषक भनेर वर्गीकरण गरेको छ ।
त्यस्तै १ देखि ४ वटासम्म गाईभैंसी पाल्ने किसानलाई निर्वाहमुखी कृषक र एउटा मात्र गाईभैंसी पाल्ने किसानलाई सिमान्तकृत कृषक भनेर वर्गिकरण गरेको छ । महानगरपालिकाले निर्वाहमुखी कृषक र सिमान्तकृत कृषकलाई भने परिचय पत्र वितरण तत्काल नगर्ने जनाएको छ । किसान परिचयपत्र पाएपछि पोखरेली किसान खुसी भएका छन् । किसान भएर पनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्र पाउँदा खुसी लागेको बताए । किसान परिचयपत्र पाएका किसान दीपक तिमिल्सिनाले वर्षौंदेखि किसान परिचयपत्रका लागि लड्दै आएपनि बल्ल अधिकार पाएको बताए । ‘लड्दालड्दा बल्लबल्ल किसानको पहिचान प्राप्त भयो, हामीले वर्षौंदेखिको लडाईंको प्रतिफल प्राप्त ग¥यौं,’ उनले भने ।
किसान परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले किसान परिचयपत्र किसानका लागि गर्वको विषय भएको बताए । ‘कृषिको स्तर मापन गर्न पनि किसान परिचयपत्र चाहिन्छ, ‘उनले भने, ‘यो किसानको पहिचान पनि हो ।’ उनले किसान परिचयपत्र कृषकलाई पेन्सन वितरण गर्नका लागि पनि उपयोगी हुने बताए ।
मन्त्री थापामगरले किसानलाई अनुदान वितरणका लागि पनि परिचयपत्रले मद्दत गर्ने बताए । किसान परिचयपत्र वितरणपछि झोले किसानले अनुदान पाउने अवस्थाको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । साथै उनले उत्पादनसँगै उत्पादित वस्तुको बजारको समेत ग्यारेन्टी गर्नुपर्ने बताए । त्यसको जिम्मा सरकारले लिनुपर्ने उनको भनाई छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानलाई किसान हो भनेर परिचय पत्र वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । किसान परिचयपत्र नहुँदा अनुदान बास्तविक किसानले पाउन नसकेको बताउँदै उनले भने, ‘अहिलेसम्म सरकार जसको हो त्यहि पार्टी निकटका कार्यकर्ताले कृषि अनुदान लैजाने गरेका थिए । तर यसले त्यसको अन्त्य गर्छ ।’ उनले किसानलाई उत्पादनमा जोड दिन आग्रह गर्दै भने, ‘तपाईंहरु उत्पादन गर्नुस्, महानगरले उत्पादित वस्तुको न्यूनतम मूल्य तोक्छ, त्यस्ता बस्तुको बजार खोज्छ । बजार नपाएर उत्पादित वस्तु खेर गएमा त्यसको क्षतिपूर्तिसमेत महानगरले दिन्छ ।’
उनले महानगरपालिका भित्र उत्पादित वस्तुको बजार ग्यारेन्टी गर्न बाहिरका वस्तु आयातमा प्रतिबन्ध लगाउने पक्षमा महानगर रहेको बताए । ‘कसैले सिण्डिकेट भन्छ भने पनि भनोस्, ‘उनले भने, ‘महानगरपालिका भित्र उत्पादित वस्तुको उपभोग पहिले महानगरभित्रै हुनुपर्छ, बाहिरका बस्तु ल्याएर यहाँकोले बजार नपाउने स्थिति हुनु हुँदैन, हामी त्यहि दिशामा अघि बढ्दैछौं ।’
प्रकाशित: १६ माघ २०७७ ११:०८ शुक्रबार