५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सुस्त सरकारी कम्पनीले २२ अर्ब लगानी गर्दै

उज्यालो

सरकारले जलस्रोतका परियोजनामा लगानी बढाउने लक्ष्य राखेर एक दशक (२०६८) अगाडि जलविद्युत् लगानी तथा विकास कम्पनी  (एचआइडिसिएल) स्थापना गर्‍यो। नयाँ भएर हुनसक्छ कम्पनीले सुरुका केही वर्ष खासै काम देखाउन सकेन। सरकारले विनियोजन गरेको बजेट बैंक तथा वित्तीय संस्थामा राखेर त्यसैबाट आएको ब्याजले सञ्चालन खर्च चलाउने काम मात्र भयो। तर, अहिले यो कम्पनी आक्रामक ढंगले अगाडि बढ्न सुरु गरेको छ।  

कम्पनीले तयार गरेको  व्यावसायिक पञ्चवर्षे योजनामा दर्जनौं कम्पनीमा अर्बौ रूपैयाँ लगानी गर्ने कार्यक्रम राखिएका छन्। आगामी आर्थिक वर्ष २०७८/७९ सम्म ३३ सय ३० मेगावाट क्षमताका २३ जलविद्युत् आयोजना र जलविद्युत् क्षेत्रसँग सम्बन्धित  चार कम्पनीमा ११ अर्ब १० करोड स्वपुँजी लगानी गर्ने योजना कम्पनीको छ। कम्पनीले त्यति मात्रै होइन्, सोही  पञ्चवर्षे अवधिमा दुई हजार आठ सय १० (२८१०) मेगावाटका १४ जलविद्युत् आयोजनामा १२ अर्ब ६७ करोड रूपैयाँ ऋण लगानी गर्ने योजना बनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले पाँचवर्षे व्यावसायिक योजनाअनुसार जलविद्युत् आयोजना तथा जलविद्युत्सँग सम्बन्धित कम्पनीमा आक्रामक ढंगले लगानी गर्दै आइरहेको बताए। ‘कम्पनीले पञ्चवर्षे योजनाअन्तर्गत आगामी दुई वर्षभित्र जलविद्युत्सँग सम्बन्धित २७ वटा आयोजनामा ११ अर्ब १० करोड रूपैयाँ स्वपुँजी लगानी गर्नेछ,’ उनले भने, ‘कम्पनीले २८१० मेगावाटका १४ वटा जलविद्युत् आयोजनामा थप १२ अर्ब ६७ करोड रूपैयाँ ऋण लगानी गर्ने योजना बनाएको छ।’

पोखरेल स्वपुँजी लगानी गर्दा  धेरै पक्षको विश्लेषण गरेर मात्रै लगानी गर्दै आइरहेको बताउँछन्। ‘हामीले स्वपुँजी लगानी गर्दा आयोजनाले दिनसक्ने प्रतिफललाई मुख्य आधार देखेर गर्छाैं,’ उनले भने, ‘जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीको वित्तीय तथा टेक्निकल र अन्य धेरै पाटाको गहन अध्ययन गरेर मात्रै लगानी गर्ने गर्छाैं।’ उनले सकेसम्म राम्रा आयोजना र प्रतिफल छिट्टै आउने आयोजना छनोट गरेर लगानी गर्दै आएको बताए।

‘कम्पनीले ऋण लगानी गरेकोमध्ये ९०.४ मेगावाट क्षमताको चारवटा आयोजना निर्माण सम्पन्न भइसकेका छन्,’ पोखरेलले भने ‘१८२ मेगावाट क्षमताका चारवटा आयोजना प्रसारण लाइनको शुनिश्चितता भए यसै आवदेखि सञ्चालनमा आउनेछन्।’

कम्पनीले लगानी गरेका ४२ मेगावाटको मिस्त्री खोला, ३० मेगावाटको न्यादी, २८ मेगावाटको दोर्दी, ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना तयारी अवस्थामा छन्। कम्पनीका अनुसार नेपाल सरकारको तर्फबाट विश्व बैंकको ४० मिलियन अमेरिकी डलर (करिब चार अर्ब रूपैयाँ) ऋण काबेली ए जलविद्युत् आयोजना (३७.६ मेगावाट) को विकासका लागि अनलेन्ड गरिरहेको छ। तर हाल आयोजना प्रवद्र्धक काबेली इनर्जी लिमिटेडको आन्तरिक कारणले आयोजनाको निर्माण कार्य स्थगित भएको छ।  

कम्पनीले हालसम्म १५६८ मेगावाट क्षमताका ६ जलविद्युत् आयोजना र चारवटा जलविद्युत् क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनीमा नौ अर्ब ४५ करोड स्वपुँजी लगानी गर्ने निर्णय गरेकामा हालसम्म ९५ करोड रकम प्रवाह गरेको पोखरेलले बताए। कम्पनीले चार सय ७८ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजनामा १० अर्ब ८८ करोड  ऋण लगानी गर्ने सहमति गरिसकेको छ। सोमध्ये हालसम्म चार अर्ब ९८ करोड रूपैयाँ ऋण प्रवाह गरेको छ।

पोखरेलले कम्पनीले १५ वर्षे योजनाअनुसार आव २०९१/९२ सम्म ३३३६ मेगावाटका ३८ निजी क्षेत्रका जलविद्युत् आयोजनामा कुल २२ अर्ब ८४ करोड रूपैयाँ स्वपुँजी लगानी गर्ने व्यावसायिक योजना बनाएको बताए। ‘सरकारी सस्थाबाट प्रवद्र्धन हुने ९१४२ मेगावाट क्षमताका २६ वटा जलविद्युत् आयोजनामा ९३ अर्ब पाँच करोड स्वपुँजी लगानी गर्नेछ,’ उनले भने, ‘७७३४ मेगावाटका ५९ वटा आयोजनामा एक सय ३७ अर्ब ५३ करोड ऋण लगानी गर्ने योजना छ।’

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीको लगानी समेट्ने गरी रेमिट्यान्स हाइड्रोको अवधारणा पनि कार्यान्वयनमा ल्याइसकेको छ। ‘जलविद्युत् क्षेत्रमा आवश्यक पुँजी परिचालन गर्नका लागि  स्वदेशी बजारबाट करिक ६० अर्बको पावर बन्ड जारी गर्ने योजना छ,’ पोखरेलले भने, ‘अन्तर्राष्ट्रिय वित्तीय संस्था एवं ऊर्जा क्षेत्रसँग सम्बन्धित कम्पनीसँगको सहकार्यमा माडी र तमोर जलाशययुक्त जलविद्युत् आयोजना विकास गर्न  एक खर्ब ५७ करोड बराबरको अन्तर्राष्ट्रिय वित्तीय स्रोत जुटाउने लक्ष्य छ।’ उनले कम्पनीलाई नेपालको जलविद्युत् क्षेत्रको सफल एवं अग्रणी संस्थाका रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए।

मिस्त्रीखोला जलविद्युत् आयोजना ९८.५ प्रतिशत

४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना भौतिक प्रगति ९८.५ प्रतिशत सकिएको छ। आयोजनाले यो चालु आवभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। उक्त आयोजना पाँच अर्ब ७८ करोड रूपैयाँ लागतमा निर्माण गर्न लागिएको हो। यो आयोजना माउन्टेन इनर्जी नेपाल लिमिटेडले प्रवद्र्धन गरेको हो। आयोजना निर्माणका लागि चार सय २५ करोड रूपेयाँ ऋण लिइएको हो। एचआइडिसिएलले यो आयोजनाका लागि १०८.७ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ। एचआइडिसिएलले हालसम्म ९१ करोड ४२ लाख रूपैयाँ लगानी गरिसकेको छ। यो जलविद्युत् आयोजना म्याग्दी जिल्लामा अवस्थित छ। चालु आवको पहिलो चौमासिकसम्म चार करोड ६ लाख रूपैयाँ खर्च भएको छ।

दोर्दी जलविद्युत् आयोजनाको प्रगति ८५.५ प्रतिशत

एचआइडिसिएलले ऋण लगानी गरेर निर्माण गरेको अर्काे आयोजना हो– २७ मेगावाटको दोर्दी जलविद्युत् आयोजना। लमजुङ जिल्लामा अवस्थित यो आयोजनामा कम्पनीले ५० करोड रूपैयाँ ऋण लगानी गर्दैछ। हिमालय पावर पार्टनर लिमिटेड प्रवद्र्धक कम्पनीले यो आयोजना चार सय २३ करोड लागतमा निर्माण गरिरहेको छ। आयोजनाको कुल ऋण रकम तीन सय १७ करोड रूपैयाँ रहेको छ। एचआइडिसिएल कम्पनीले हालसम्म ४० करोड ७७ लाख रूपैयाँ लगानी गरिसकेको छ। आयोजनाको हालसम्मको भौतिक प्रगति ८५.५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। यो आयोजना पनि चालु आवभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

न्यादीको ८८.५ प्रतिशत निर्माण सकियो

३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको भौतिक प्रगति ८८.५ प्रतिशत निर्माण सकिएको छ। यो जलविद्युत् आयोजना पाँच अर्ब ८६ करोड लागतमा निर्माण गर्न लागिएको हो। सरकार मातहतको एचआइडिसिएलले यो आयोजनाका लागि पनि ५४ करोड २५ लाख रूपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको छ। यो कम्पनीले हालसम्म ३२ करोड ५२ लाख रूपैयाँ लगानी गरिसकेको जनाएको छ। यो जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीको रूपमा न्यादी हाइड्रोपावर लिमिटेड रहेको छ। यो आयोजनाका लागि चार सय ४४ करोड रूपैयाँ ऋण र अन्य रकम स्वपुँजीमा निर्माण गर्न लागिएको हो। चालु आवको चौमासिकसम्म ६९ लाख रूपैयाँ लगानी भएको छ।

तल्लो सोलु जलविद्युत् आयोजना ९०.५ प्रतिशत

सोलु हाइड्रोपावर प्रालिले निर्माण गरेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनाको भौतिक प्रगति ९०.५ प्रतिशत सकिएको छ। यो जलविद्युत् आयोजना सोलुखुम्बु जिल्लामा अवस्थित छ। यो आयोजना १८ सय ३२ करोड लागतमा निर्माण गर्न लागिएको हो। यो आयोजनाका लागि नेपाली जनताबाट तीन अर्ब रूपैयाँ ऋण लिएर निर्माण गर्न लागिएको हो। एचआइडिसिएलले यो आयोजनाका लागि कम्पनीले हालसम्म ६० करोड ऋण लगानी गर्नेछ। कम्पनीले आव २०७७/७८ को पहिलो चौमासिक लगानी ५९ लाख रूपैयाँ गरेको छ।

तल्लो लिखु जलविद्युतकोनिर्माण आधा सकियो

२८ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनाको ५० प्रतिशत निर्माण सकिएको छ। रामेछाप जिल्लामा रहेको यो जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेको छ। यो आयोजनाको कुल लागत ५५९.५ करोड रहेको छ। स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड यसको मुख्य प्रवद्र्धक रहेको छ। यो आयोजना ४१९.३ करोड रूपैयाँ ऋण लगानीमा निर्माण गर्न लागिएको हो। एचआइडिसिएलले यो आयोजनाका लागि ८० करोड ऋण लगानी गर्ने सम्झौता भइसकेको छ। कम्पनीले हालसम्म ३५ करोड १५ लाख रूपैयाँ लगानी गरिसकेको छ। चालु आवको पहिलो चौमासिकसम्म ६ करोड ६७ लाख रूपैयाँ लगानी भएको छ।

माथिल्लो सोलुको आधा सकियो

तीन अर्ब २७ करोड लागतमा निर्माणाधीन १८ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाको आधा निर्माण कार्य सकिएको छ। आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भएको छ। यो आयोजना बेनी हाइड्रोपावर प्रालिको प्रवद्र्धनमा निर्माण भइरहेको छ। आयोजनाका लागि दुई सय २९ करोड रूपैयाँ ऋण लगानीमा निर्माण गर्न लागिएको हो। एचआइडिसिएलले यो आयोजनाका लागि २० करोड रूपैयाँ ऋण लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। कम्पनीले अहिलेसम्म १० करोड ३१ लख रूपैयाँ लगानी गरिसकेको छ। चालु आवको पहिलो चौमासिकसम्म तीन करोड ५४ लाख रूपैयाँ खर्च भइसकेको छ।

८६ मेगावाटको सोलुखोलाको प्रगति ६५ प्रतिशत

८६ मेगावाटको सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ। यो जलविद्युत् आयोजना ११८५ करोड लागतमा निर्माण गर्न लागिएको हो। यो आयोजना नौ सय पाँच करोड ऋण लगानीमा निर्माण भइरहेको छ। यो आयोजनामा एचआइडिसिएलले ९० करोड ऋण लगानी गर्ने सम्झौता भइसकेको छ। हालसम्म कम्पनीले ३४ करोड ३८ लाख रूपैयाँ लगानी गरिसकेको छ। चालु आवको चारमहिने अवधिमा सात करोड ८३ लाख रूपैयाँ लगानी गरेको छ। यो आयोजना साहस ऊर्जा लिमिटेडको प्रवद्र्धनमा बन्न लागेको हो।

अपर त्रिशूली ३ बी जलविद्युतको निर्माण ४५ प्रतिशत

रसुवा र नुवाकोटको सीमास्थलमा निर्माणाधीन ३७ मेगावाटको अपर त्रिशूली ३ बी जलविद्युत्् आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत सकिएको छ। त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडद्वारा  प्रवद्र्धन गरिएको यो आयोजनाको कुल लागत ८ सय २३ करोड रूपैयाँ रहेको छ। यो आयोजनामा ४६० करोड ऋण लिएर निर्माण गरिदैछ। एचआईडिसिएलले यो आयोजनाको लागि  १५० करोड रूपैयाँ ऋण लगानी गर्दैछ। हालसम्म कम्पनीले २७ करोड ८९ लाख रूपैयाँ लगानी गरेको छ।

काबेली एको ५५ प्रतिशत

रसुवा र नुवाकोटमा सीमाक्षेत्रमा निर्माणाधीन ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत्् आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत सकिएको छ। काबेली इनर्जी लिमिटेडद्वारा प्रवद्र्धन गरिएको यो आयोजनाको कुल लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ। एचआइडिसिएलले यो आयोजनाको लागि चार अर्ब रूपैयाँ ऋण अनलेन्ड गर्नेछ।

प्रकाशित: १४ माघ २०७७ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App