६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मिल मालिक पक्राउपछि उखुको भुक्तानीमा चासो

नवलपरासीको लुम्बिनी चिनी उद्योगले एक साताभित्रै आन्तरिक समस्या टुंग्याएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ। सरकारसँग भएको सम्झौताअनुरूप उसले पुस मसान्तअघि नै सम्पूर्ण किसानको भुक्तानी चुक्ता गरिसक्ने जनाएको छ। आन्तरिक समस्या एक साताभित्रै सल्टाएर किसानको भुक्तानी सुरु गर्ने लिखित प्रतिबद्धता जनाएपछि मिलका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन्। अग्रवाल बिहीबार पर्साबाट पक्राउ परेका थिए। बिहीबार राति नै उनलाई नवलपरासी ल्याइएको थियो।

दुई वर्षदेखि उखुको भुक्तानी नपाएका किसानले उद्योगका सञ्चालकविरुद्ध ठगी गरेको भन्दै मुद्दा हालेका थिए।  

सुनवल नगरपालिकाका उखु किसान ज्ञानचन्द्र यादव, जर्नादन यादव, वीरेन्द्रकुमार गुप्ता, हरिलाल गुप्ता, अर्जुन चौधरीलगायतका किसानले उद्योगका सञ्चालक सुशिला गोयल (अग्रवाल) बिरुद्ध पुस २ गते ठगी मुद्दा दर्ता गरेका थिए।  

मनीष अग्रवालको नाममा रहेको उद्योग उनको मृत्युपछि श्रीमती सुशिला गोयल अग्रवालको जिम्मामा गएको थियो। अशंबण्डा गर्दा उद्योग सुशिलाका देवर मनोज अग्रवालको भागमा परेकाले प्रहरीले सोही मुद्दामा मनोजलाई नियन्त्रणमा लिएर नवलपरासी ल्याएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उखु किसान, प्रहरी र प्रशासनबीच छलफल भयो। किसानहरूले उखुको भुक्तानी पुरा नगरेसम्म मिल चलाउन नदिने चेतावनी दिएका छन्। अग्रवालले उद्योगको नामसारी गरी लोन स्वीकृत गराउन एक सताको समय मागेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।  

एकसाताभित्र आंतरिक तयारी पूरा गरी किसानको भुक्तानी दिने लिखित प्रतिबद्धता जनाएपछि अग्रवाललाइ तारेखमा छोडिएको प्रजिअ पाठकले बताए। ‘एक साताभित्रै किसानलाई उखुको भुक्तानी दिन सुरु नगरे कानुनी कारबाही गर्नेछौं,’ प्रमुख जिल्ला अधिकारी पाठकले भने। उखु किसान र सरकार बिच भएको पछिल्लो सहमती अनुरूप पौष मसान्त अघि नै सम्पूर्ण भुक्तानी नगर्ने उद्योगीलाइ कानुन बमोजिम कारबाही गरीने प्रजिअ पाठकले बताए। ठगी मुद्दामा मिल मालिक पक्राउ परेपछि उद्योगले २ करोड रकम बैंकमा जम्मा गरेको छ। त्यसमध्ये शुक्रबार सम्म १ करोड ९ लाख रूपैयाँ किसानको खातामा पठाइसकेको छ। अग्रवालले दुईवटा बैंकबाट ५/५ करोड लोन लिने प्रक्रिया सुरु गरिएको छलफलमा बताएका थिए।

सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले २०७५ सालमा २ लाख २४ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। सरकारले उद्योगका लागि तोकेको प्रतिक्विन्टल ४७१ रूपैयाँका दरले उसले किसानलाई १० करोड बढी उखुको भुक्तानी दिनुपर्छ। सो रकममध्ये केही किसानलाई उद्योग डुबिसकेको भन्ने डर देखाएर ३८५ रूपैँया प्रतिक्विन्टलका दरले भुक्तानी दिइएको छ। जसका कारण उद्योगले आफ्नो बाँकी बक्यौता ८ करोड भएको दावी गरीरहेको छ। तर किसानहरूले भने उद्योगले १० करोड भुक्तानी दिन बाँकी रहेको दावी गरीरहेका छन। सुनवल नगरपालिका २ रजहरका किसान ज्ञानचन्द्र यादवले दुइ बर्ष देखि उखुको भुक्तानी नदिएर उद्योगले किसानहरूलाइ प्रताडित गरेको बताए। उखुको भुक्तानी नपाएपछि सुनवल क्षेत्रका झण्डै ७० प्रतिशत किसानले उखु खेती मासेको यादवले बताए।  

नवलपरासीकै अर्को उद्योग इन्दिरा सुगर मिलले पनि किसानको ८ करोड भुक्तानी दिएको छैन। सो उद्योगका सञ्चालक राकेश अग्रवालबिरुद्ध पनि उखु किसानले ठगी मुद्दा दिएका छन्। तर प्रहरीले अहिलेसम्म अग्रवालाई पाक्राउ गरेको छैन। किसानले ठगी मुद्दा दिएपछि उद्योगले केही दिनअघि ८० लाख रूपैयाँ बैंकमा जम्मा गरेको छ। तर सो रकम अहिलेसम्म किसानको खातामा हालिदिएको छैन। उद्योगी अग्रवालविरुद्ध ठगी मुद्दा परेकाले उनको खोजी भइरहेको प्रजिअ पाठकले बताए। केही वर्षअघिसम्म उखु खेतीका लागि नवलपरासी सर्लाहीपछिको जिल्ला मानिन्थ्यो। 

तर चिनी उद्योगीले वर्षौंसम्म उखुको भुक्तानी नदिने सरकारले तोकेभन्दा कम मुल्यमा उखु बेच्नुपर्ने जस्ता समस्याले किसान ग्रस्त भएपछि उखु मासिँदै गएको छ। डेढ दशकअघिसम्म ३० हजार हेक्टरमा लगाइने उखु खेती अहिले जम्मा ५ हजार हेक्टरमा सीमित भएको उखु उत्पादक कृषक समिति नवलपरासीले जनाएको छ।

प्रकाशित: १९ पुस २०७७ ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App