४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुस्ताङका होटल नौ महिनापछि खुले

धार्मिकस्थल मुक्तिनाथ आसपासको क्षेत्र ।

कोरोना भाइरस संक्रमणका कारण बन्द भएका हिमालपारिको जिल्ला मुस्ताङका होटल नौमहिनापछि खुलेका छन् । कोरोनाको त्रासले गतवर्षको चैतदेखि त्यहाँका होटल बन्द थिए ।  

होटल बन्द गरेर मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्न रोक लगाइएपछि पर्यटन व्यवसायीले आलोचना गर्दै आएका थिए । म्याग्दी र मुस्ताङका व्यवसायीको पहलमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णय भएको हो ।  

मुस्ताङका होटल बन्द हँदा धवलागिरीभित्रका म्याग्दी, बागलुङ र पर्वतका अरु होटल व्यवसायी समेत मर्कामा परेका थिए । मुस्ताङका होटल बन्द हुँदा म्याग्दी, पर्वत र बागलुङका व्यवसायी पनि मर्कामा परेको भन्दै होटल व्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र समेत बुझाएको थियो ।  

यसअघि मुस्ताङमा प्रवेश गर्न अनिवार्य रुपमा कोरोना परीक्षण गरेर पिसिआरको नेगेटिभ रिर्पोट माग्ने गरिएकोमा अव जनस्वास्थ्यको मापदण्ड पालना गरी होटल व्यवसाय नियमित सञ्चालन गर्ने निर्णय भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।  

‘जनस्वास्थ्यको मापदण्डलाई पालना गर्न अनुरोध गरेका छौ, मुस्ताङ प्रवेशमा कुनै समस्या छैन,’ अध्यक्ष तुलाचनले भने । यसअघि मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने बताएपछि म्याग्दीका व्यवसायीले प्रशासनमार्फत समन्वय गरेका थिए । मुस्ताङ प्रवेशमा सहज बनाउन म्याग्दीका प्रजिअ उमाकान्त अधिकारीले मुस्ताङका प्रजिअ हिरादेवी पौडेलसँग समेत सहज वातावरणका लागि सहजीकरण गर्न अनुरोध गरेसँगै मुस्ताङमा जान सहज भएको म्याग्दी होटल ब्यवसायी समितिका अध्यक्ष ताराप्रसाद आचार्यले बताए ।  

‘पर्यटनमा अफसिजन भएपनि ब्यवसायमा केही सहज हुन्छ’ अध्यक्ष आचार्यले भने । उनले धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि समेत सहज वातावरण बनाउनुपर्ने बताए । मुस्ताङ घुम्न जाने अधिकांश पर्यटक मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने गरेका छन् । बेनी–जोमसोम सडकखण्डमा संचालित अधिकांश होटलको ठूलो कारोबार मुस्ताङमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकमा निर्भर रहेको छ । 

प्रकाशित: १६ पुस २०७७ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App