९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

कर्णालीमै पहिलो पटक सौर्य उर्जाबाट लिफ्ट सिँचाइ

जुम्लाको हिमा गाउँपालिका ३ मोप्लाका परिमल रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीन दसक वित्यो। २०५२ सालदेखि उनले खेतमा धान रोपेका छैनन्। आकाशे पानीको भरमा अन्य बालीनालीको खेती गरिरहेका छन्। सिँचाइ नहुँदा न अन्नपात राम्रो सित उत्पादन गर्न पायौँ, नत खेती नै छोड्न सक्यौँ, परिमलले दुखेसो पोखे,‘गाउँ किनारामा बगेको हिमा नदी हेरेर बस्यौँ। खेत बाझो राख्यौँ।’

सुख्खा जमिनमा लगाएको सिमि, मकै, जौँ र गहुँ पनि राम्रो सित उत्पादन भएन। तर पछिल्लो समयमा लिफ्ट सिँचाइ प्रविधिबाट पानी तानेर सिँचाइ गर्न थालिएपछि निकै चकित छन्। उनले भने,‘खोलाको पानी डाँडाकाँडासम्म आउदैन भन्ने थियो। डाँडामा खोलाको पानी आएको पनि देखेका थिएनौँ, उनले भने,‘अहिले लिफ्ट सिँचाइ मार्फत पानी आउँदा नियमित रोपाइँ चल्ने भयो। मार्सी धानको खेती नियमित हुने भयो। यतिमात्र नभएर व्यवसायिक योजना बनाएर थरीथरीका कृषि योजना बनाउन सकिने अवस्थामा पुगियो।’

मोप्ला गाउँका २ सय ८५ घरधुरीले सिँचाइ गर्न पाएका छन्। झण्डै २ हजार ५ सय मुरी खेतमा सिँचाइ सुविधा पुगेको हो। सिँचाइ अभावले सुख्खा भइसकेको क्षेत्रमा लिफ्ट मार्फत सिँचाइ पुगेको कर्णालीमै पहिलो हो। गाउँका केहीले जमिन बाँझो राखेर घाँस काट्ने मेला बनाइसकेका थिए। अब मेलमा खेतीयोग्य जमिनमा परिणत हुनेछन्। किसानले आयतित खाद्यान्नमा भरपर्नु पर्ने अवस्था हट्नेछन्।  

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाख रुपैयाँमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण गरेर सफल परीक्षण भएपछि किसान दंग छन्। त्यो लिफ्ट सिँचाइ मार्फत ७० मिटर उकालोसम्म पानी पुर्‍याउन सकिन्छ। तर यो गाउँका लागि २६ मिटर मात्र आवश्यक हो। कृषि प्राविधिक धर्मराज शाहीले भने,‘यो प्रविधि यहाँको भुगोल सुहाउँदो छ। दिर्घकालिन हुने संभावना बढेको छ। अब सिँचाइका लागि किसानलाई समस्या हुने छैन। तर यहाँ जडित प्रविधिको संरक्षण गर्न जरुरी छ।’ 

५० किलोवाटको सौर्य उर्जाको प्रयोग भइरहेको छ। सोलार ब्याट्रीको प्रयोग गर्दा खर्चिलो हुने भएकोले सोलार प्यानल मात्र राखेर दिउँसो सिँचाइ सुविधा दिन सकिने गरि बनाइएको छ। सोलार ब्याट्री अधिकतम दुई तीन वर्षसम्म टिक्छ। त्यसपछि काम लाग्दैन। उनले भने,‘सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने भएकोले प्यानलबाट दिउँसो मात्र सिँचाइ गर्न थालिएको हो। सिँचाइ बढी भइसकेको अवस्थामा यो पानीबाट अन्य वैकल्पिक क्रियाकलाप गर्न पनि किसानले सक्नेछन्।

उनले कर्णाली प्रदेशको उदाहरणीय योजना भएकोले यहाँबाट अनेत्रका किसानका लागि सिकाइ हुने बताए। तलको पानी माथितिर आउने कसैले कल्पनासम्म गरेका थिएनन्। अहिले खोलाको पानी लेकमा चढाएर फेरी खोलाको जमिनमा सिँचाइ हुन थाल्यो। आकाशे भरमा निर्भर यहाँको कृषि क्षेत्रले बल्ल निकास पायो। कर्णाली प्रदेश जुम्ला क्षेत्र (ख) का सांसद पदम रोकायाले भने,‘योजना सञ्चालनमा आएर मात्र हुदैन। नियमितताका लागि उचित संरक्षण र रेखदेखको खाँचो छ। घर निर्माण भएर मात्र व्यवस्थित बसोवास हुदैन। बलियो घर बनाउनका लागि जग बलियो हुनुपर्छ। कृषि प्राविधिको सल्लाह विना कुनै कार्य नगर्नुहोला। यो भावि सन्नतीको लागि निकै लाभदायक हुनेछ।’

सिँचाइ नहुँदा यहाँका किसान जेठअसारमा खान सुत्न पनि पाउँदैनथे। राति टर्च बालेर, खेतको आलीमै आगो बालेर भएपनि सिँचाइ गर्न विवश थिए। अहिले लिफ्ट सिँचाइले मुक्ति मिलेको छ। सुख शान्तिको दिन आएका छन्। सांसद रोकायाले भने,‘लिफ्ट सिँचाइको भरपुर प्रयोग गर्नुहोला। खेतमा सिँचाइ गरेर अन्न फलाउनुहोला। व्यवसायिक खेतीमा जोेड दिनुहोला।' 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्र्रमुख बालकराम देवकोटाले यो सिँचाइ आयोजना कर्णाली प्रदेशकै नमुना आयोजना हो। गत आर्थिक वर्षमा सञ्चालित १२ सिँचाइ योजना मध्ये यो योजना निकै जाखिमको थियो। यस्तो प्रकारको योजना कर्णालीको कुनै पनि जिल्लामा सुरु भइसकेको छैन। यो नयाँ प्रविधि हो। प्राविधिक स्टमेट बाहेकको सामाग्री प्रयोग गर्न दिइएका छैनौँ। कृषि प्रमुख देवकोटाले भने,‘सिँजा क्षेत्रमा बनेका ९ योजना मध्ये यो योजना सबैको चुनौतिको योजना हो। जब खेतमा पानी पुग्यो। सबै चुनौति सामाना गरेर सफल भएको अनुभुति भइराखेको छ।’ अहिले ५० लाख रुपैयाँको लागतमा यो योजना सफल भएको छ। घेरबारदेखि जाली क्यानल बनाउनको लागि चालु आर्थिक वर्षमा पहल भइराखेको छ।  

सांसद पदम रोकायाले प्रदेशबाट सञ्चालन हुने योजनामा निकै पहल लिने गरेको बताए। उनले भने,‘विकास सरकारले सबै क्षेत्रमा एकै पटक गर्न सक्दैन। आएको विकास प्रभावकारी र गुणस्तरीय बनाउनुस। हामी तपाइहरुकै साथमा छौँ।’ यसअघि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले यो योजनाको अनुगमन गरेकी थिइन्। उनले लिफ्ट सिँचाइ आयोजनालाई कर्णालीकै हेर्न लायक र सफल बनाउन निर्देशन गरेकी थिइन्।’ कर्णाली प्रदेश सामाजिक विकास आयोगका सभापति देवी नेतृत्वको टोली पनि लिफ्ट सिँचाइ आयोेजना स्थलमै पुगेर अनुगमन गरेको थियो। टोलीले यो योजना निकै प्रभावकारी र किसानको हितमा रहेको भन्दै यहाँका विकट र सिँचाइ अभाव भएका क्षेत्रमा यो प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड दिएको थियो।  

जुम्लामा अधिकांस स्थानीय तहले लिफ्ट सिँचाइ आयोजना निर्माण गरिरहेको भएपनि कुनै पनि आयोजना सफल हुन सकेका छैनन्। कमसल सामाग्रीको प्रयोगसंगै लिफ्ट निर्माणमा चरम लापरबाही देखिएकोले हिमा तथा तिला गाउँपालिकामा निर्माण भएका लिफ्ट सिँचाइ आयोजना प्रयोगमा आउन सकेका छैनन्। ती आयोजनामा करोडौँ रुपैयाँ खर्च भइसकेको छ। तर कर्णाली प्रदेशको ५० लाख रुपैयाँमा लिफ्ट सिँचाइ बनेर प्रारभ्म भइसकेको छ।  

मोप्लाका युवा वरिष्ठ किसान गोपाल रोकायाको पहलमा यो सिँचाइ आयोजना बनेको हो। सौर्य उर्जाबाट दिनभर सिँचाइ गर्न मिल्नेछ। उनले सिँचाइ कार्यसंगै नजिकै कुटानी, पिसानी र तेल पेल्ने मिल बनाउन पहल भइरहेको बताए। उनले भने,‘अहिले सिँचाइ चलिरहेको छ। अब यो पानीको भरपुर प्रयोग गर्न वैकल्पिक कामको पनि थालनी गर्ने सोच बनाइरहेका छौँ। कर्णाली प्रदेश सरकार र प्रदेश सांसदको महत्वपूर्ण भूमिका र साथ मिल्ने छ।’

लिफ्ट सिँचाइले गाउँमा किसान निकै उत्साहित छन्। सिधैँ कम्पनीसंग समन्वय गरेर सामान ल्याएकोले बिग्रे भत्केको पनि कम्पनीले बेहोर्नेछ। आफ्नो कम्पनीको प्रचारको लागि पनि यो सिँचाइमा शक्ति कम्पनीले लागत स्टमेट भन्दा बढी नै लगानी गरेको छ।

प्रकाशित: १० पुस २०७७ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App