५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

गौरवका सिँचाइ आयोजनाको प्रगतिः समष्टिगत न्यून, चौमासिक सन्तोषजनक

राष्ट्रिय गौरवमा सूचीकृत सिँचाइका आयोजनाको समष्टिगत प्रगति निराशाजनक भए पनि चालु आर्थिक वर्षको चौमासिक प्रगति भने सन्तोषजनक देखिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार राष्ट्रिय गौरवमा सूचीकृत सिँचाइका निर्माणाधीन आयोजनाको चालु आवको चौमासिक भौतिक र वित्तीय प्रगति सन्तोषजनक छ। ऊर्जा मन्त्रालयले पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तीय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। सिँचाइतर्फको वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३.६४ छ। मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८.७३ र भौतिक प्रगति ७६.७४ प्रतशित छ।

मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ का लागि पाएको बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो। यो चार महिनामा १४ अर्ब तीन करोड ७४ लाख रूपैयाँ खर्च भएको छ।

सुनकोसी मरिनको प्रगति एक वर्षमा एक प्रतिशत  

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक वर्षको समष्टिगत भौतिक प्रगति एक प्रतिशत छ। यो आयोजना ०७६/७७ आर्थिक वर्षमा निर्माण सुरु भएको हो। यसको समष्टिगत वित्तीय प्रगति ०.५४ प्रतिशत छ। यो आयोजनाको सुरुङ निर्माणको लागि पूर्वयोग्यताको सूचना प्रकाशन भई मूल्यांकन भइरहेको छ। हेडवक्र्स, पावरहाउस, सर्जसाफ्ट आदिको डिटेल्स इन्जिनियरिङ डिजाइन कार्यको ड्राफ्ट रिपोर्ट तयारी अन्तिम चरणमा छ। कोभिड १९ को कारणले जग्गा अधिग्रहणसम्बन्धी काम र विभिन्न संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन कार्यमा ढिलाइ भइरहेको छ। चालु आवको चार महिनामा यो आयोजनाको भौतिक ९८.६८ प्रतिशत र वित्तीय प्रगति ४.२७ प्रतिशतमा सीमित छ।

भेरी बबईको ४० प्रतिशत  

चालु आवको चार महिनामा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति ८०.२६ प्रतिशत र वित्तीय प्रगति २७.९३ प्रतिशत पुगेको छ। राष्ट्रिय गौरवमा सूचीकृत यो आयोजनाको समष्टिगत प्रगति ४० प्रतिशत छ। समष्टिगत वित्तीय प्रगति ३५ प्रतिशत छ। यो आयोजना ०६७/६८ सालमा निर्माण सुरु गरिएको हो। सरकारले यो आयोजना ०७९/८० सम्म सम्पन गरी बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ सुविधा उपलब्ध गराउन भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबईमा खसाल्ने योजनासहित सुरु गरेको थियो। यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ।  

बबईको समष्टिगत भौतिक ५१.८९ प्रतिशत

आव ०४५/४६ सालदेखि निर्माण सुरु भएको बबई सिँचाई आयोजनाको समष्टिगत भौतिक प्रगति हालसम्म ५१.८९ प्रतिशत मात्रै भएको छ। यो आयोजनाको समष्टिगत वित्तीय प्रगति ४५.७१ प्रतिशत भएको छ। त्यसैगरी बबई सिंचाई आयोजनाले चालु आवको चार महिनामा लक्ष्यको ८०.७८ प्रतिशत भौतिक प्रगति गरेको छ। यो आयोजनाको वित्तीय प्रगति ३८.२२ प्रतिशत मात्रै छ। मन्त्रालयले सिक्टा सिँचाइ आयोजनाको लागि २८ करोड १२ लाख रूपैयाँ विनियोजन गरेकोमा चालु आवको चौमासिकसम्म ४२.५१ प्रतिशत खर्च भएको छ। आयोजनाले चार महिनाको अवधिमा ९६.९३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ।

रानीजमरा कुलरियाको ४८.९ प्रतिशत

राष्ट्रिय गौरवकै रानी जमरा कुलरिया सिँचाइ आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ४८.९ र वित्तीय प्रगति ४८.२६ प्रतिशत छ। यो आयोजनाको चालु आवको चार महिनामा ८०.२६ प्रतिशत भौतिक प्रगति २७.९३ प्रतिशत वित्तीय प्रगति रहेको मन्त्रालयको प्रतिवेदनले देखाएको छ। 

प्रकाशित: २८ मंसिर २०७७ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App