१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिन्धुपाल्चोकमा ९० प्रतिशत घर ठडिए

भूकम्पपछिको पुनर्निर्माण

विनाशकारी भूकम्पमा सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा झन्डै ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का अनुसार ८१ हजार सात सय तीन घर बनेका हुन्।

एकाइ प्रमुख सन्तोष निरौलाले जिल्लामा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताए। ‘बाँकी १० प्रतिशत घरको पुनर्निर्माण छिट्टै सकिने देखिन्छ,’ उनले भने। भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये निजी अवास पुनर्निर्माणमा सिन्धुपाल्चोक सबैभन्दा अगाडि रहेको निरौलाले जानकारी दिए।

एकाइका अनुसार ६ हजार चार सय १५ घरको पुनर्निर्माण जारी छ। त्यसमध्ये पाँच हजार ६ सय ५० आवास पुनर्निर्माण अन्तिम चरणमा पुग्दा सात सय ६५ घर भर्खरै बनाउन सुरु गरिएको छ। दुई हजार सात सय ७८ घरको पुनर्निर्माण भने अझै सुरु हुन सकेको छैन। घर पुनर्निर्माण सकेकामध्ये ७८ हजार तीन सय ५० ले अनुदानको तेस्रो किस्ता लिइसकेको आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार÷जिमाली) का व्यवस्थापक भरत आचार्यले बताए। उनका अनुसार पुनर्निर्माण सकेका तीन हजार तीन सय ५५ घर अन्तिम किस्ता पाउने प्रक्रियामा छन्।

सिन्धुपाल्चोकमा हाल ९० हजार नौ सय चार लाभग्राही कायम छन्। यसमा रेट्रोफिट (मर्मत) गरिनुपर्ने सात सय दुई घर समेटिएका छन्। ८८ हजार एक सय २६ ले पहिलो र ८४ हजार ६ सय ३० ले दोस्रो लिइसकेको जिमालीको तथ्यांक छ। दुई हजार सात सय २३ घर दोस्रो किस्ता पाउने चरणमा छन्। भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न नसकेको आयोजना व्यवस्थापक आचार्य बताउँछन्। ‘विदेश लगायत अन्यत्र रहेका र प्राविधिक त्रुटि भएका कारण कतिपय लाभग्राहीले पनि घर बनाउन सकेका छैनन्,’ उनले भने। जिल्लामा सुकुम्बासी, भूमिहीन र विस्थापित गरी एक हजार दुई सय ८१ जोखिम वर्गमा समेटिएका लाभग्राही छन्। उनीहरू सबैले जग्गा प्राप्ति गरेर घर बनाउन सकेका छैनन्।

कोरोना महामारीको बीच पनि ६ महिनामा चार हजारभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको तथ्यांक छ। पछिल्लो जनगणनाको घरधुरी संख्याअनुसार भने जिल्लाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। २०६८ को जनगणनामा जिल्लाको घरधुरी संख्या करिब ६८ हजार मात्र थियो। यो संख्याको १३ हजारभन्दा बढी घर बनिसकेको देखिन्छ। भूकम्पले ९९ प्रतिशत घरसंरचना भत्काएको थियो। भूकम्पपछि जिल्लामा लाभग्राहीको संख्या ७९ हजार मात्र थियो।

समय–समयमा गुनासो सम्बोधन तथा छुट र पुनः सर्वेबाट ११ हजारभन्दा बढी लाभग्राही थपिएका हुन्। लाभग्राही थपिँदै जाँदा व्यक्तिगत आवास पुनर्निर्माणसमेत लम्बिँदै गएको आयोजना व्यवस्थापक आचार्य बताउँछन्। भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुनर्निर्माण अभियानको थालनी गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०७७ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App