२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कालीगण्डकी करिडोरको प्रगति १८ प्रतिशत

उत्तरमा कोरोलादेखि दक्षिण गैंडाकोटसम्मको कालीगण्डकी करिडोरमा हालसम्मको भौतिक प्रगति १८ प्रतिशत छ । राष्ट्रिय गौरवका तीन उत्तर–दक्षिण करिडोरमध्येको एक यस लोकमार्गमा झण्डै ५०० मिटरमा ट्र्याक खोल्न बाँकी छ भने हालसम्म कतै पनि कालोपत्र हुन नसकेको सडक विभागले जनाएको छ ।  

सो सडकमा गत आवमा भौतिक प्रगति ५२ र वित्तीय प्रगति ५१ प्रतिशत थियो । सडकमा कतै ट्र्याक खोल्ने, कतै स्तरोन्नति र कतै कालोपत्रका लागि ठेक्का सम्झौता भइरहेको छ । सो लोकमार्गमा २५ पुल डिजाइनका क्रममा रहेकाले आगामी वर्ष निर्माण प्रक्रियामा जाने उत्तर–दक्षिण करिडोर आयोजनाले जनाएको छ ।  

आयोजनामा अपेक्षित गतिमा काम हुन नसकेको आयोजना प्रमुख शिवप्रसाद नेपालले बताए । विभागले निर्माण गरिरहेको खण्डमा चालु आवमा १३२ किलोमिटर ग्राभेल गरेर त्यसमध्ये १०६ किलोमिटरमा कालोपत्र गर्ने लक्ष्य छ । २५ पुल ठेक्कामा जानेछ ।  

राजमार्गको लम्बाइ ४३५ किलोमिटर रहेकामा गैंडाकोटदेखि राम्दीसम्मको १३२ किलोमिटर एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको छ । कालोपत्रका लागि ठेक्का भइसकेको छ । राम्दीदेखि मालढुंगासम्म ११३ किलोमिटर लम्बाइमा ३६ किलोमिटर नेपाली सेनाले बनाइरहेको छ । सेनाले कतिपय खण्डमा ट्र्याक खोलिसकेर हस्तान्तरण गरिसकेको छ भने कतिपय निर्माणको क्रममा सेनाले ट्र्याक खोल्न बाँकी चालु आवमै सम्पन्न गरेर बुझाउने बताएको छ । आयोजनाले रिडीदेखि हर्मिचौर खण्डको कालोपत्रेका लागि सूचना निकालेको छ । आयोजना प्रमुख नेपालले भने, ‘यो खण्डमा चालु आवमा कालोपत्र हुनेछ ।’  

मालढुंगदेखि रिडीसम्मको खण्डमा कालीगण्डकीको कतातर्फ करिडोर निर्माण गर्ने भनी ‘एलाइन्मेन्ट’ विवाद रहेको थियो । विवाद समाधानका लागि ५७ किलोमिटर क्षेत्रमा दुवैतर्फ गर्ने भन्ने निर्णयका आधारमा काम अघि बढाइएको छ । कालीगण्डकी बाँयातर्फ पर्वतमा धेरै र थोरै स्याङ्जामा करिडोर निर्माण भइरहेको छ । पर्वतपट्टि ५७ किलोमिटर मिर्मीदेखि अर्मादीसम्म काम भइरहेको छ । कालीगण्डकी दायाँतर्फ सेनाले ३६ किलोमिटर र बाँकीमा सडक विभागले निर्माण गरिरहेको छ ।
रासस

प्रकाशित: २६ भाद्र २०७७ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App