२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

हलेसीको माथिल्लो माल्खुमा होमस्टे

हलेसी माल्खुका सुबिन्द्र गिरीको होमस्टेमा बनाइएको कटेजमा पुगेका अतिथि । तस्बिर:दमन राई/नागरिक<br>

जिल्लाको त्रि–धार्मिकस्थल हलेसीमा पहिलोपल्ट होमस्टे सञ्चालनमा ल्याइएको छ। स्वदेश तथा विदेशबाट आउने पर्यटकलाई लक्ष्य गर्दै हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द्र गिरीले होमस्टे सुरु गरेका हुन्।  

व्यावसायिक रुपमा गाई, लोकल कुखुरा, टर्कीपालन तथा तरकारी खेती गर्दै आएका गिरीले लकडाउनकै अवधिमा आवश्यक संरचना निर्माण गरी होमस्टे सञ्चालनमा ल्याएका हुन्। हाल खाजा, नास्ता, पेय पदार्थ जस्ता सेवासहितको होमस्टे सञ्चालनमा ल्याएको गिरीले बताए। हलेसीबाट ककनी मन्दिर जाने बाटोमा गिरीले दुईवटा कटेज बनाएर होमस्टे सुरु गरेका हुन्।  

हलेसी महादेवस्थान विकास समितिको पहलमा गिरीकै अध्यक्षतामा होमस्टे सञ्चालन समिति गठन भएको केही समयपछि होमस्टे सुरु गरिएको हो।

माथिल्लो माल्खुमा सामुदायिक होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ। आवश्यक पूर्वाधार तयार पारेर कम्तीमा पाँच घरबाट होमस्टे सेवा दिने तयारी गरिएको गिरीले बताए। होमस्टेमा आउने पर्यटकलाई देखाउन माथिल्लो माल्खुमा हाल बालन र संगीनी नाच सिक्ने अभ्यास भइरहेको छ।  

घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजना केही समयअघि उनीहरुलाई होमस्टे सञ्चालनसम्बन्धी तालिम दिएको थियो। ‘पाँच घरबाट सुरु गर्ने र क्रमशः १४–१५ घरलाई समेट्ने लक्ष्य छ,’ गिरीले भने, ‘प्रत्येक घरमा एक–एक कोठा निकालेर सामुदायिक होमस्टे चलाउने तयारी गरिरहेका छौं। यसका लागि नगरपालिका र वडासँग पनि सहकार्य गर्नेछौं।’

स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा होमस्टे व्यवसायमा हात हाल्ने गिरी पहिलो हुन्। महादेवस्थानकै तल्लो माल्खु र ऐसेलुखर्क पनि होमस्टे सञ्चालनका लागि सञ्चालक समिति गठन भइसकेको हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले बताए। होमस्टेका लागि ऐसेलुखर्कमा कोपिला राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ। दैनिकजसो दर्शनार्थी र पर्यटकको भीड लाग्ने हलेसीमा हालसम्म होमस्टे छैन। होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डो-याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २२ भाद्र २०७७ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App