५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जयनगर–कुर्था रेल भदौभित्रै आइपुग्ने

फाइल तस्बिर।

सरकारले जयनगर–जनकपुर–कुर्था खण्डमा चल्ने रेल यसै महिना नेपाल ल्याउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले सो खण्डमा सञ्चालन हुने दुईवटा रेल तयार भइसकेको बताए । ‘एउटा रेल भारतको पटनानजिकैको हाजिपुर आइसकेको छ ।’

महानिर्देशक मिश्रले लकडाउनका कारण निर्माण सम्पन्न भइसके पनि रेल ल्याउन समस्या भएको बताए । ‘दुवै रेल तयार भइसके, तर लकडाउनले गर्दा ल्याउन सकेका छैनौं,’ उनले भने, ‘भदौ मसान्तसम्म ल्याइपु¥याउने तयारी गरेका छौं ।’ महानिर्देशक मिश्रले आगामी दसैंदेखि रेल चलाउने तयारीमा जुटेको बताए ।  

उक्त रेलले एक खेपमा १२ सयदेखि १३ सय यात्रु ओसार्न सक्छ । रेल विभागले पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल गुडाउन लागेको हो । कुर्थादेखि महोत्तरीको डिजेलपुरासम्म थप १७ किलोमिटर रेलको लिक निर्माण भइरहेको छ ।  

महानिर्देशक मिश्रले पहिलो चरणमा २६ जना भारतीय कर्मचारी नियुक्त गरेर रेल चलाउने तयारीमा जुटेको बताए । ‘रेल सञ्चालनको लागि प्रारम्भिक चरणमा २६ जना भारतीय कर्मचारी नियुक्त गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘थप दुई सय १६ जना नेपाली कर्मचारी नियुक्त गर्नेछौं ।’ सरकारले रेल बनाउने जिम्मेवारी इन्ट्रिगल कोच फ्याक्ट्रीलाई दिएको थियो ।  

उक्त रेल निर्माणको लागि ८६ करोड रूपैयाँ खर्च भएको रेल विभागले जनायो । जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि बर्दिबाससम्म विस्तार हुने बताइएको छ । बर्दिबाससम्म पुग्दा कुल रेलमार्ग ६९ किलोमिटर हुनेछ । बर्दिवास आइपुग्ने रेलमार्ग भारतले नै निर्माण गरिरहेको छ । जनकपुर–बर्दिबास खण्डबाहेक भारतको सहयोगमा काँकडभिट्टा, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलमार्ग निर्माण हुने विभागले जनाएको छ ।

प्रकाशित: १० भाद्र २०७७ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App