१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

उन्नत जातको बोका र थुमा पाउँदा किसान खुसी

जुम्ला हिमा गाउँपालिका–६ का उम्म रावतले उन्नत जातको बोका पाएपछि खुसीको सीमा नाघेको छ। स्थानीय जातको भेंडा पालिरहेका उनलाई उन्नत जातको भेंडापालन गर्ने धोको थियो।  

उनको त्यो धोको अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले पूरा गरिदिएको छ। उनी भन्छन्, ‘भेंडापालनलाई पनि उन्नत बनाउँदै लैजानु अहिलेको टड्कारो आवश्यकता हो। व्यावसायिक रुपमा गरिने उन्नत जातको भेंडापालनले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।’ त्यो वयर बोकाबाट उन्नत जातका भेंडा उत्पादन हुने उनको बुझाइ छ।

उम्म रावत उदाहरण मात्र हुन्। उनीजस्तै जिल्लाका तीन स्थानीय तहका आठ किसानले उन्नत जातको बोका तथा थुमा पाएका छन्। भेंडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरका किसानलाई अस्ट्रेलियन जातका भेंडा तथा बोका किसानलाई उपलब्ध गराइएको हो। जिल्लाको तातोपानी गाउँपालिकाका–२, हिमाका एक र तिलाका पाँच किसानलाई उन्नत जातको बोका तथा थुमा दिइएको हो। भेंडापालनले किसानलाई फाइदा हुने स्थानीय बताउँछन्। भेंडा एक क्विन्टलसम्मको हुन्छ। मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ। ऊन पनि स्थानीय जातको भेंडाभन्दा दोब्बर नै हुन्छ। जुम्लाको वातावरणमा लामो समयदेखि पालन भइरहेकाले किसानलाई बोका र थुमा दिइएको हो।

किसानलाई चारवटा बोका तथा चारवटा थुमा बाँडिएको हो। बोका र थुमा गरेर झनडै पाँच लाख रुपैयाँमा खरिद गरिएको हो। तल्लो क्षेत्रमा वयर बोका दिइएकामा माथिल्लो क्षेत्रमा थुमा दिइएको हो। तिला–१ का भिमबहादुर रावत भन्छन्, ‘उन्नत जातको भेंडा बोकाले किसानलाई उत्साहित बनाएको छ। दसैंतिहारमा उन्नतजातको भेंडाको माग पनि तीव्र हुन्छ। जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाका ६० वटै वडामा भेंडापालन भइरहेको छ।  

जुम्ला भेंडापालनमा प्रचुर संभावना बोकेको क्षेत्र हो। तर परम्परागत भेंडापालनले खासै उपलब्धि भएन। किसान भिमबहादुर भन्छन्,‘ उन्नतजातको भेंडापालनले किसानको जीवनशैली परिवर्तन गर्न सक्छ। पछिल्लो समयमा उन्नत जातको भेंडापालन प्रति किसान आकर्षित भइरहेका छन्।’

प्रकाशित: २१ श्रावण २०७७ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App