९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

चिनी अभावले उद्योग संकटमा

चिनी अभावका कारण नेपालका बिस्कुट, जुसलगायतका उद्योग संकटमा परेका छन् । नेपाली बजारमा पर्याप्त मात्रामा चिनी नपाइएपछि कच्चा पदार्थ अभावका कारण नेपाली उद्योगहरू संकटमा परेका हुन् ।

नेपालमा उत्पादित चिनीको स्टक सकिएको र भारतबाट आयात पनि न्यून मात्रामा भएकाले नेपाली बजारमा चिनी अभाव भएको उद्योगीहरूले बताएका छन् । हाल नेपाली बजारमा भारतीय बजारमा भन्दा झण्डै दोब्बर मूल्यमा चिनी बिक्री वितरण भइरहेको छ । भारतीय बजारमा प्रतिकिलो ४५ रुपैयाँदेखि ४८ रुपैयाँ चिनीको मूल्य छ । भारतमा उद्योगबाट खरिद गर्दाको मूल्य साढे ४२ रुपैयाँ मात्रै पर्छ । 

तर, नेपाली बजारमा ८५ रुपैयाँदेखि ९० रुपैयाँसम्म मूल्य पुगिसकेको छ । महंगोमा चिनी किनेर बिस्कुट उत्पादन गर्न कठिन भएको नेपाल बिस्कुट उत्पादक संघका महासचिव बिक्रम कर्मचार्यले बताए । कर्मचार्यका अनुसार साल्ट ट्रेडिङ र खाद्य संस्थान मार्फत सरकारले सहुलियत दरमा चिनी आयात गर्ने व्यवस्था गरेको भएपनि ती संस्थाहरूले चिनी ल्याउन कम्तीमा दुई महिना लगाउने छन् । सहुलियतको चिनी उपभोक्तालाई वितरण गरिने भएकाले ठूला उद्योगहरूले पर्याप्त मात्रामा चिनी पाउने स्थिति नभएको उनले बताए । 

उनले तत्काल देखिएको चिनी अभावको समस्या समाधान गर्न साल्ट ट्रेडिङ र खाद्य संस्थानलाई जस्तै कोटा तोकेर बिस्कुट र जुस उद्योगलाई पनि चिनी आयातको सुविधा दिन माग गरेका छन् । कर्मचार्यले भने, ‘सरकारी निकायलाई जस्तै चिनी र जुस उद्योगहरूलाई पनि २० प्रतिशत भन्सार सहुलियतमा चिनी आयात गर्ने सुबिधा दिनुपर्छ ।’ 

सरकारले चिनी आयातलाई निरुत्साहित गर्न हाल चिनीको भन्सार ४० प्रतिशत लिँदै आएको छ । ४० प्रतिशत भन्सार तिरेर ल्याएको चिनीबाट बिस्कुट उत्पादन गर्दा बिस्कुटको मूल्य निक्कै बढ्ने कर्माचार्य बताउँछन् । उनले भने, ‘कच्चा पदार्थको मूल्य बढे तयारी बस्तुको पनि मूल्य बढ्ने भएका कारण नेपाली उद्योगको प्रतिस्पर्धी क्षमतामा ह्रास आई उद्योगहरू समस्यामा पर्छन् ।’

भारतबाट चिनी आयात गर्दा भन्सार महसुल ४० प्रतिशत लाग्छ । बिस्कुट आयात गर्दा पनि ४० प्रतिशत नै भन्सार महसुल लाग्ने उद्योगीहरू बताउँछन् । तयारी बस्तु आयात गर्दा र कच्चा पदार्थ अयात गर्दा एउटै भन्सार दर भएपछि नेपाली बिस्कुट उद्योगहरू समस्यामा मात्रै पर्ने नभई बन्द नै हुन सक्ने उनिहरूको भनाई छ । बिस्कुट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा सरकारले चिनी आयातमा सहुलियत नदिए नेपालका उद्योग बन्द भई बिस्कुटमा पनि विदेशकै भर पर्नुपर्ने अवस्था आउने उद्योगीहरूको चेतावनी छ । 

बजारमा पर्याप्त चिनी नपाइएकाले निजी क्षेत्रलाई पनि भन्सार सहुलियतमा चिनी आयातको अनुमति दिन आफूहरूले सरकारसँग माग गरेको उद्योगी ओम महर्जनले बताए । उनले भने ‘नेपाली मिलहरूसँग चिनीको स्टक सकिएपछि सरकारले चिनी आयातमा अवरोध गरिरहनु भएन ।’ तत्काल चिनी आयातको व्यवस्था नगरे नेपालका बिस्कुट, जुसलगायतका उद्योगहरू बन्द हुने उनले स्पष्ट पारे ।

यता, उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडले उद्योगीहरूले चिनी आयातमा सहुलियत नै नमागेकोे बताए । ‘अहिलेसम्म कोहि पनि उद्योगी चिनी आयातका लागि सहुलियतको माग गरेर मन्त्रालयमा आएका छैनन्’ मन्त्री दुगडले भने, ‘चिनी आयातमा सहुलियतका लागि संस्थागत रुपमा बिस्कुट उत्पादकहरू आए सरकार सहुलियत दिन तयार छ ।’ 

कोकाकोला, पेप्सीलगायतका केहि उद्योगहरूले अहिले पनि सहुलियतमा चिनी आयात गरिरहेको मन्त्री दुगडले दाबी गरे । उनले चाडवाडलाई लक्षित गरेर सरकारले साल्ट ट्रेडिङ र खाद्य संस्थानलाई सहुलियतको चिनी आयात गर्ने जिम्मा दिइसकेको जानकारी दिए ।

प्रकाशित: १४ श्रावण २०७७ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App