९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

रानी भन्सारबाट भित्रियो नेपालमा प्रतिबन्धित माछा

फाइल फोटो ।

भन्सार कार्यालय रानी विराटनगरको मिलेमतोमा नेपालमा प्रतिबन्धित रहेको क्याट फिस(मुंग्री) माछा भित्र्याउने गरिएको पाइएको छ ।

मांसाहारी प्रजातिको यो माछा ठुलो परिमाणमा सुनसरी प्रहरीले इनरुवाबाट पक्राउ गरेपछि भन्सार कार्यालयको वदमासी खुलेको हो । सुनसरी प्रहरीका अनुसार भारतबाट ल्याइएको ५ हजार किलोभन्दा बढी मुंग्री माछासहित एक ट्रक पक्राउ गरिएको छ । ट्रकमा पोखरी जस्तो बनाएर ज्यूँदो मुंग्री माछा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएको माछालाई आइतबार मत्स्य विकास निर्देशनालय विराटनगरकी अधिकृत नेल्सन पोखरेलले नेपालमा प्रतिबन्धित भनेर पुष्टि गरेकी छिन् । ‘बिशेषज्ञको रुपमा उहाँलाई बोलाइएको थियो, यो माछा नेपालमा प्रतिबन्धित छ भनेर भन्नु भयो,’डिएसपी शर्माले भने ।

जिल्ला प्रहरी प्रमुख तथा एसपी कमल थापाले वरामद भएको माछाको परिमाण कति छ भनेर आइतबार साँझसम्म तौल भइरहेको बताए । ‘सोमबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइनेछ, माछा कति छ भनेर तौल भइरहेको छ,’उनले भने,‘पाँच देखि सात हजार किलो होला ।’उनका अनुसार विलमा मंगुर माछा लेखिएको छ । प्रहरीले नियन्त्रणमा लिएको मुंग्री माछा यो पहिलो पटक भारतबाट नेपाल भित्रिएको भने होइन । यसअघि पनि नेपालको बजारमा ज्यूँदो मुंग्री माछा बिक्री भइरहेको छ । भन्सार कार्यालयसँगको मिलेमतोमा प्रतिबन्धित ज्यूँदो माछालाई फ्रोजन गरेको भनेर छुट दिइरहेको जानकारहरू बताउँछन् । साथै, खुला सिमाको कारण पनि भारतबाट यो माछा नेपाल भित्रिने गरेको छ ।  

प्रदेश सरकार मातहतको मत्स्य विकास अधिकृत पोखरलका अनुसार क्याट फिस माछा पालनको लागि नेपालमा अनुमति दिइएको छैन । भारतमा पनि यो माछा प्रतिबन्धित रहेको छ । ‘यो माछापालन गर्न नेपालमा अनुमति छैन, त्यसैले भुरा माछा पनि ल्याउन पाइदैन,’उनले भनिन्,‘बिक्री गर्नको लागि पनि ज्यूँदो माछा ल्याउन पाइदैन ।’

पोखरेलका अनुसार यो माछा मांसाहारी जातको हो । यो माछाले स्थानीय प्रजातिका सबै माछालाई खाइदिन्छ, र जैविक विविधतालाई पनि नष्ट गर्छ । ‘यसलाई प्रतिबन्ध लगाउनुको मुख्य कारण यो मांसाहारी जातको माछा हो, र यसले लोकल प्रजातिलाई खाइदिन्छ,’उनले भनिन्,‘यो माछा बायोडाइभर्सिटीको लागि खतरा हो ।’

केन्द्रीय मत्स्य प्रर्वद्धत तथा संरक्षण केन्द्र बालाजुका प्रमुख प्रमोद रिजालका अनुसार अहिलेसम्म नेपालमा यो माछाले पार्ने प्रभावबारे अध्ययन नभएको कारण नेपाल भित्र्याउने अनुमति दिइएको छैन । त्यसैले रानी भन्सार तथा क्वारेन्टाइनमा नै यो माछालाई रोक लगाउनुपर्ने उनले बताए । ‘वैध तरिकाबाट भित्रिएको हो भने यो क्वारेन्टाइनमा नै रोकिनुपर्ने थियो, आएको हो भने अनुसन्धानको बिषय हो,’वरालले भने,‘तर अहिलेसम्म मलाई जानकारी भएको छैन ।’  

उनका अनुसार आयातित माछाले नेपालको स्थानीय प्रजातिका माछाहरुलाई पार्ने प्रभावबारे विस्तृत अध्ययन गरेपछि मात्र ल्याउन दिने वा नदिने भन्ने सिफारिस हुन्छ । ‘खुला सिमाको कारण लुकीछिपी ल्याएर बजारमा बेच्ने गरेको हो,’उनले भने,‘भारतमा पनि यो माछा पाल्न प्रतिबन्धित नै छ ।’

प्रकाशित: ८ श्रावण २०७७ १३:०९ बिहीबार

प्रतिबन्धित माछा रानी भन्सार