लकडाउनका कारण उत्पादन घटेसँगै उपत्यकामा ब्रोइलर कुखुरा मासुको अभाव देखिन थालेको छ। लकडाउनसँगै मासुको खपत कम हुँदा अधिकांशले आफ्ना फार्म बन्द गरेका थिए। होटल व्यवसाय बन्द भएको र सर्वसाधारणमा मासुबाट पनि कोरोना सर्छ भन्ने आतंकका कारण सुरुमा कुखुरा बिक्री नै नभएकोले समयमा चल्ला हाल्न डराउँदा उत्पादक कम भएको राष्ट्रिय कुुखुरापालक महासंघका अध्यक्ष विष्णु खड्का बताउँछन्।
‘अधिकांश साना कुखुरापालकले चल्ला राखेकै छैनन्, केही ठूला व्यवसायीले जोेखिम मोलेर राखेका थिए। तिनैले थोरै भए पनि अभाव टारेका छन्,’ खड्काले भने, ‘बीचमा चल्ला र दाना अभाव समेत भयो, जसले गर्दा अहिले कुखुरा उत्पादन १० प्रतिशत हाराहारी मात्र छ।’
साना व्यवसायीले चल्ला नराखेपछि पछिल्लो समय केही ह्याचरी उद्योगले आफ्नै पहलमा कुखुरापालन गरेका थिए। धेरैजसो व्यवसायीले चल्ला राख्न सुरु गरिसकेकाले अबको १० दिनसम्ममा अभाव हट्ने उनले बताए। उनले भने, ‘मूल्य नघट्ला तर अबको १० दिनमा बजारमा आवश्यकता अनुसार कुखुरा उपलब्ध हुन थाल्छ।’
कुखुरापालकले अहिले व्यवसायीले तोकेभन्दा बढी मूल्य पाइरहेको बताए। ‘महासंघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ५० तोकेको छ तर कुखुरापालकले प्रतिकिलो दुई सय ७० सम्म पाएका छन्,’ उनले भने, ‘इतिहासमै पहिलोपटक कुखुरा उत्पादकले तोकेभन्दा बढी मूल्य पाएका छन्। तर आवश्यकता अनुसार उपलब्ध गराउन सक्ने अवस्था छैन।’ उनले उपत्यकाबाहिर पनि उत्पादन कम भएकोले आउन नसकेको बताए। उनले भने, ‘केही समयअगाडि त उपत्यकाबाहिरका जिल्लामा पनि यहीँबाट पठाएको हो। सर्लाही, वीरगन्जतिर कुखुरा पाइन थाले तर उतै माग बढी हुनाले धेरै महँगो पनि छ।’
कुखुरा अभाव भएसँगै मासुको मूल्य बढेको छ। खुद्रा व्यापारीले ब्रोइलरको मासु तीन सय ७० देखि तीन सय ८० रुपैयाँसम्ममा बेचिरहेका छन्। मासु व्यवसायी संघका अध्यक्ष चैते शाहीले धेरै कोल्ड स्टोरले मासुनै दिन बन्द गरिसकेको बताए। ‘मासुको खपत कम हुँदा स्टक गरेको मासु दिँदै आएका थिए, अहिले त धेरैले कोल्ड स्टोरले दिनै छाडे,’ उनले भने, ‘माग अहिले पनि साबिकको तुलनामा आधा मात्रै छ। तर कुखुरा अभाव हुँदा केही महँगो भएको हो।’
बिक्री कम भएकोे भन्दै चल्ला नष्ट गरेका ह्याचरी उद्योगीले पछिल्लो समय चल्लाको मूल्य बढाएका छन्। अहिले ह्याचरी उद्योगले प्रतिचल्ला ७० रुपैयाँ मूल्य तोकेका छन्। ह्याचरी उद्योग संघका महासचिव बलराम किसी चल्ला उत्पादनमा असर पुगेको कारण लागत मूल्य नै नपाएको दाबी गर्छन्। ‘अहिले पनि पहिलेको तुलनामा चल्लाको माग धेरै कम छ। हरेक हप्ता ३० देखि ३५ लाख चल्ला उत्पादन गथ्र्यौं। तर अहिले मुस्किलले १० देखि १२ लाख चल्ला उत्पादन भइरहेको छ,’ उनले भने, ‘विस्तारै केही त बढ्ला तर पूर्ण क्षमतामा उत्पादन गर्ने खालको माग हुन सक्ने देखिन्न।’
प्रकाशित: १२ असार २०७७ ०२:४६ शुक्रबार