२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुन कारोबार नभए पनि मूल्य बढेको बढ्यै

कोरोनाको महामारीसँगै अस्थिर बनेको सुनको मूल्य सोमबार अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको हो।

कोरोना महामारीका कारण गत चैत ११ देखि मूल्य तोक्न बन्द गरिएको कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले गत जेठ २५ देखि पुनः मूल्य तोक्न सुरु गरेको थियो। महासंघका अनुसार लकडाउनयता गत जेठ २५ मा सुनको मूल्यमा १० हजार चार सयले बढेर ८७ हजार चार सय रुपैयाँ पुगेको थियो। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। कारोबार सञ्चालन भएयताका १० दिनमा सुनको मूल्य तीन हजार ६ सय रुपैयाँले बढेर ९१ हजार पुगेको हो।

कोरोनाको महामारीपछि अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य बढेको छ। लगानीकर्ताले अन्य क्षेत्रमा गरेको लगानी असुरक्षित हुने र सुनचाँदीमा लगानी बढाएकाले मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा एकदमै अस्थिर बनेको छ, अहिले एक औंसमै २० देखि ३० डलरसम्म बढेको छ,’ शाक्यले भने, ‘जेठ २५ मा प्रतिऔंस १७ सय डलर रहेको सुनको मूल्य सोमबार १७ सय ४४ पुगेको छ, एक दिनको कारोबारमै पनि मूल्य अस्थिर देखिएको छ।’  

अन्तर्राष्ट्रिय बजारमा वर्षको अन्त्यसम्ममा मूल्य प्रतिऔंस १८ सय डलर नाघ्ने अनुमान गरिएकाले कारोबार केही समय अस्थिर नै रहने उनले बताए। अन्तर्राष्ट्रिय बजारमा प्रयोग गरिने एकाइ एक औंसमा ३१.१० ग्राम हुन्छ।  

कारोबार सञ्चालन भएयताका १० दिनमा सुनको मूल्य तीन हजार ६ सय रुपैयाँले बढेर ९१ हजार पुगेको हो।

लकडाउनयता ७० दिनमा व्यवसाय खुले पनि कारोबार शून्य जस्तै रहेको शाक्य बताउँछन्। ‘उपभोक्ताको क्रयशक्ति घट्दै गएको छ, त्यसमाथि सुनको मूल्य बढ्दै गएको छ। कारोबार गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘लकडाउन खुकुलो भएपछि ग्राहक आउँछन् भन्ने थियो, तर लगनकै महिना भए पनि कारोबार हुन सकेन।’  

उनले मध्यम र निम्न वर्गका व्यवसायीको संख्या बढिरहेको सुनचाँदी कारोबारको निरन्तरतामै संकट उत्पन्न भएको बताए। ‘कारोबारमा मन्दी आएसँगै घरभाडा तिर्ने, कर्मचारीलाई तलब खुवाउने र बैंकको ब्याज तथा किस्ता भुक्तानीमा कठिनाइ छ,’ शाक्यले भने, ‘कोरोनाकै कारण मूल्य उच्च भएको सुनचाँदी कारोबारमा नेपाली मुद्राको अवमूल्यन र राजस्व वृद्धिले झन् बढी असर गरेको छ।’  

उनले सरकारले व्यवसायीलाई राहत दिनुको सट्टा राजस्वको भार थोपरेको गुनासो गरे। ‘हामीले सुनचाँदी व्यवसायीलाई छुट्टै राहत प्याकेज माग गरेका थियौं, तर सरकारले सबै व्यवसायलाई समेटेर तीन अर्बको पुनर्कर्जा कार्यक्रम ल्यायो। त्यसले हामीलाई राहत दिन सक्दैन,’ उनले भने, ‘सरकारले मौद्रिक नीतिमार्फत भए पनि सम्बोधन गर्नुपर्छ नत्र सिंगो व्यवसायमा भयानक अवस्था आउन सक्छ।’

महासंघका अनुसार सुनचाँदीमा २२ हजार व्यवसायीको ६० अर्बभन्दा बढी लगानी छ। पूर्वअध्यक्ष शाक्यले कारोबार घटेसँगै दुई लाख कालीगढको रोजगारी गुम्ने अवस्था आएको बताए। ‘दुई लाखमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली छन्, सरकारले रोजगारी सिर्जना गर्ने भनेको छ। यहाँ त उल्टो रोजगारी गुमेको छ,’ उनले भने, ‘धेरै कालीगढ भारत फर्किइसकेकाले बिस्तारै कालीगढकै कारण पनि काम रोकिने अवस्था आउँछ।’

सुनचाँदीको कारोबार चालु आर्थिक वर्षको सुरुदेखि नै खस्किइरहेको छ। गत वर्ष असारमा सुनको मूल्य प्रतितोला ६० हजार वरिपरि थियो। कारोबार कम भएसँगै सुनको आयात पनि घटेको छ। ‘हाम्रो मागका आधारमा दैनिक २० किलो सुन आयात हुँदै आएको थियो, माग घटेसँगै गएको चैत १६ देखि प्रतिदिन १० किलोलाई आधार मानेर आयात गर्न सरकारले अनुमति दिएको छ,’ उनले भने, ‘लकडाउन खुलेयताको कारोबार रोकिएसँगै अहिले तीन सय किलो मौज्दातमा भएकाले यो आर्थिक वर्षमा आयात गर्नुपर्ने देखिन्न।’

लकडाउन खुकुलो भएयता सुनचाँदीको आयात शून्य छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्ममा जम्मा साढे १३ अर्बको २४ सय किलो सुन आयात भएको छ। गत आवको यही समयमा भने २६ अर्ब रुपैयाँको पाँच हजार ६ सय ८२ किलो सुन आयात भएको थियो। गत वर्ष जेठसम्ममा ३१ अर्ब ६६ करोडको सात हजार तीन सय दुई किलो सुन आयात भएको विभागको तथ्यांक छ।

प्रकाशित: ९ असार २०७७ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App