४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुक्खा बन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनीलाई

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह । तस्बिरः रितेश त्रिपाठी/नागरिक

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह संचालनको भइरहेको ठेक्का प्रक्रियामा गत आइतबार खोलिएको आर्थिक प्रस्तावमा सबभन्दा बढी कबोल गर्ने भारतको राजधानी नई दिल्लीमा मुख्यालय भएको कम्पनी प्रिस्टाइन लजेस्टिकको ठेक्का स्विकृत भएको छ ।  

सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको नेपाल सरकार बाणिज्य मन्त्रालय मातहतको नेपाल इन्टर मोडेल यातायात बिकास समितिले मंगलबार यसको सूचना प्रकाशित गरेको हो । सुक्खा बन्दरगाह आगामी पाँच बर्षको अवधीका लागि संचालनको टेन्डरमा प्राविधिक प्रस्तावमा छनौट भएका सबै प्रतिस्पर्धी पाँच कम्पनीहरुको आर्थिक प्रस्ताव आइतबार खोलिदा प्रिस्टाइन सबभन्दा अगाडि देखिएको थियो ।  

नेपाल इन्टर मोडेल यातायात बिकास समितिका कार्यकारी अधिकृत नवराज ढकालले प्रिस्टाइनले सबभन्दा बढी तीन अर्ब ३३ करोड रुपैया कबोल गरेको बताए । नेपाल इन्टर मोडेल यातायात बिकास समितिले ५ बर्षको लागि सुक्खा बन्दरगाह संचालन गर्न न्युनतम दुई अर्ब ४० लाख रुपैया ठेक्का रकम तोकेका थियो । प्रिस्टाइन लजेस्टिक्स भारतमा आधा दर्जनभन्दा बढी ठाउँमा सुक्खा बन्दरगाह तथा ‘आइसिडि’ (इनल्याण्ड कन्टेनर डिपो) संचालन गर्दै आएको कम्पनी हो । सुक्खा बन्दरगाह संचालनमै सो कम्पनीको बिशिष्ठ अनुभव रहेको उक्त कम्पनीले व्यवसायिक रुपमा र नेपाली सेवाग्राही राम्ररी सेवा प्रदान गर्दै यस अवधीको उपयोग गर्ने जनाएको छ ।  

प्रविधिक प्रस्तावमा सबै प्रतिस्पर्धी कम्पनीहरू थोरै अंकले अघिपछि देखिए पनि प्रिस्टाइनले आर्थिक प्रस्तावमा दोस्रो प्रतिस्पर्धी देखिएको ‘कन्कोर’भन्दा ५१ करोड १० लाख रुपैयाको भारी अन्तरले बढी रकम हालेको देखियो । ‘कन्कोर’ ले २ अर्ब ८१ करोड ९० लाख रुपैयाँको आर्थिक प्रस्ताव हालेको थियो । सुक्खा बन्दरगाह संचालन अन्तरगत ‘आइसिडि’ (इनल्याण्ड कन्टेनर डिपो) र मालवाहक रेल आवागमन व्यवस्थापन तथा संचालन गर्नु पर्ने हुन्छ ।

सुक्खा बन्दरगाहमा रहेको भन्सारले आयात निर्यात हुने मालवस्तुको राजश्व संकलन र बैधानिक तथा औपचारिक प्रक्रिया गर्ने गरेको छ भने मालवस्तु बोकेका रेलको आगमन, त्यसबाट मालवस्तु अनलोडिङ–लोडिङ, भण्डारन गर्ने अनि आयातकर्ता हस्तान्तरण गरी दिने काम सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनीले गर्छ । त्यस्तै निकासी हुने मालवस्तु निर्यातकर्ताबाट कागजातको आधारमा लिएर गन्तब्यतर्फ पठाउने काम यसले गर्छ ।  

तेस्रो मुलकसंगको ब्यापारको लागि रेल संजालमार्फत भारतीय बन्दरगाहसंग जोडिएको नेपालको एकमात्र संरचना वीरगन्ज सुक्खा बन्दरगाहलाई साबिककै पुर्वाधारमा संचालन गर्नु चुनौतिपुर्ण रहेको बताइन्छ । त्यहाँ रहेको पाँच वटा रेल लाइनमध्ये तीन वटा मात्र अहिले प्रयोगमा रहेको छ । साढे १५ सय कन्टेनर एक पटकमा भण्डारन गर्ने क्षमता रहेकोमा पछिल्लो पटक त्यहाँ क्षमताको दोब्बर कन्टेनरको चाप देखिएको छ ।  

त्यस्तै फलाम जस्ता बल्क कार्गो राख्ने यार्ड चापको तुलनामा पनि अपुग छ । वीरगन्ज सुक्खा बन्दरगाहमा बिदेशबाट मालवस्तु बोकेका कन्टेनरहरू भारतीय बन्दरगाहहरू कोलकता, बिशाखापट्नम र हल्दिया हुँदै आइपुग्छ । हल्दिया र कोलकता बन्दरगाह हुदै आउने कोइला, रसायनिक मल र चिनीजस्ता पनि यहाँ बोराबन्द रुपमा बल्क कार्गो यहाँ आउने गरेको छ । त्यस्तै मुख्य गरी भारतीय फलाम प्रसोधन केन्द्रहरूबाट औद्योगिक कच्चा पदार्थको रुपमा र अद्र्धतयारी रुपमा आउने विभिन्न खाले फलाम पनि सुक्खा बन्दरगाहमा मुख्य रुपमा आउने गरेको छ । यहाँबाट पछिल्लो समयमा बालवस्तु बिदेशतिर निकासी पनि भएको छ ।

प्रकाशित: २ असार २०७७ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App