९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवामा दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण

रसुवा- लकडाउनको समयमा मूल्य वृद्धि भएको जनगुनासो आएपछि रसुवामा दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण गरिएको छ । उपभोक्ताहरूलाई दैनिक गुजारा गर्न कठिन भइरहेको अवस्थामा खाद्यान्न सामग्रीमा कालोबजारी हुन नदिन मूल्य निर्धारण गरिएको हो ।

सोमबार रसुवा चेम्बर अफ कमर्स, रसुवा उद्योग वाणिज्य महासंघ, नागरिक समाज र उपभोक्ता हित संरक्षण मञ्च नेपालले व्यापारीहरूसँग छलफल गरेर मूल्य निर्धारण गरेको हो । निर्णयले उपभोक्ताहरूलाई दैनिक उपभोग्य सामग्री सहज तथा सुपथ मूल्यमा उपलब्ध हुने र सबै पसलहरूको सामग्रीको मूल्यमा एकरूपता आउने विश्वास गरिएको छ ।

हरेक पसलमा मूल्य सूची अनिवार्य रूपमा राख्नका लागि पनि अनुरोध गरिएको छ । जिल्लाको कालिकास्थान, जीवजीवे, बेत्रावती, स्याफ्रुबेसी, टिमुरे,चिलिमे लगायतका बजार क्षेत्रमा गाडी ढुवानी अनुसार मूल्यमा केही फरक हुने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष शुकसाङ तामाङले बताए ।

रसुवा चेम्बर्स अफ कमर्सका प्रवक्ता प्रमोदकुमार तितुङले तरकारी पसलमा हरेक दिन मूल्य फरक हुने भएकाले ह्वाइट बोर्ड राखेर अनिवार्य रूपमा मूल्य सूची राख्ने निर्णय भएको बताए । ‘लकडाउनको समयमा बजारमा मूल्य वृद्धि हुने, कालो बजारी हुने समस्या आउने गर्छ’, उनले भने, ‘यसलाई व्यवस्थापन गर्नका लागि हामीले यो निर्णय गरेका हौं ।’

निर्णय अनुसार प्रति केजी जिरा मसिनो चामल ७२, बास्मति चामल १ सय ३५, स्टिम मन्सुली ५६, सोना मन्सुली ५०, रातो मसुरो (ठुलो दाना) १ सय २५, रातो मसुरो (सानो दाना) १ सय २०, कालो दाल १ सय ५०, रहरको दाल १ सय ७०, चना प्रतिकेजी १ सय २५ रुपयाँ निर्धारण गरिएको छ ।

यस्तै हरियो केराउ १ सय ५०, मैदा ६५, चिनी ९०, आयोडिन नुन २५, मस्यौरा १ सय ५०, चियापत्ती (मेची स्पेसल) ४ सय ५०, चियापत्ती (टोकला, ) ४ सय ५०, कुखुराको मासु ३ सय ६०, खसीको मासु १ हजार, राँगा (हडुडी मासु) ३ सय ५० र राँगा (फल मासु) ४ सय रुपैयाँ पर्छ ।

भटमासको तेल प्रतिलिटर १ सय ७० , तोरिको तेल २ सय ६० र सनफ्लावर तेल १ सय ९० रुपयाँ निर्धारण गरिएको रसुवा उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रकाशित: ९ वैशाख २०७७ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App