१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवामा निर्माणाधीन आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प

रसुवा  - रसुवामा निर्माण भइरहेका आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आयोजनाहरूको काम पूर्ण बन्द भएको हो। 

प्रकोपको महामारीका कारण निर्माण सामग्री अभाव, कामदारको अभाव, सामग्री ढुवानी लगायतका समस्याका कारण आयोजनाको काम अघि बढ्न नसकेको हो। १४.७ मेगावटको फलाखुखोला ६.४२ मेगावटको माथिल्लो मैल्ुङ ए, ५ मेगावटको फलाखुखोला जलविद्युत् आयोजनाले गएको असारदेखि नै काम गरेका छैनन्। 

नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ कामदार साउनमा चीन फर्किएका थिए। उनीहरू कार्तिकपछि आउने तयारी थियो। 

भिसाको म्याद सकिएपछि उनीहरू आउन पाएनन्। वर्खाको समयमा काम नगर्ने भन्दै असारमा चिनियाँ कामदार फर्किएका थिए। अर्को परियोजनामा काम गर्नका लागि उनीहरू नेपाल आएका थिए। 

अर्को परियोजनाबाट यो आयोजनामा आएका उनीहरूको पुरानो परियोजनाको काम सकिएपछि यहाँ बस्न सम्भव भएन। वर्किङ भिसामा उनीहरूलाई ल्याउन प्रक्रियागत झन्झट भएपछि ढिलाइ भएको थियो। त्यसपछि दुवै फलाखु खोला आयोजनाले काम रोके। 

वर्षको ६ महिना मात्र काम हुने ६.४२ मेगावटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाले पनि साउन यता काम गर्न सकेन। काम गर्ने मुख्य सिजनमा नै कोरोना भाइरसको त्रास बढेपछि आयोजनाको काम रोकिएको आयोजना प्रमुख जीतमान शेर्पाले बताए। यो आयोजनाको ८५ प्रतिशत काम सकिएको छ। 

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको यो आयोजना २०६९ सालदेखि निर्माण सुरु भएको हो। भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा र हिउँ पर्ने समयमा काम हुन नसक्ने भएका कारण कामले गति लिन नसकेको हो।

निर्माण कार्य सुरु गर्दै गरेको रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको काम सुरु हुँदा नहुँदै रोकियो। आयोजनाको उद्घाटन गरेर निर्माण कार्य सुरु गरेको करिव १ महिनामा नै यसको काम रोकियो। 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा निर्माण भइरहेको २० मेगावटको लाङटाङ खोला जलविद्युत् आयोजनाले चीनमा कोरोना फैलन सुरु गरेदेखि नै काम अघि बढाएको छैन। निर्माण प्रक्रिया सुरु हुँदै गरेका आयोजनाले काम नै सुरु गरेनन् भने सुरु भएका आयोजना पनि अहिले बन्द भएका छन्। 

लकडाउन हटेर सामग्री ढुवानीमा सहज भएपछि मात्र काम अघि बढाउने आयोजनाहरूले जानकारी दिएका छन्।

प्रकाशित: ३ वैशाख २०७७ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App