८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवा भन्सारले फागुनमा २.५ प्रतिशत राजस्व उठायाे

रसुवा - विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका बन्द भएपछि राजस्व संकलन प्रभावित भएको छ। चालु आर्थिक वर्ष ०७६/७७ साउनदेखि माघ महिनासम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको रसुवा भन्सार कार्यालयले फागुन महिनामा भने न्यून राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार फागुन महिनामा एक करोड १७ लाख राजस्व संकलन भएको छ। यो लक्ष्यको २.५ प्रतिशत हो। कार्यालयले फागुनमा ४६ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो। नाका बन्द हुनुअघि आइपुगेर जाँँचपास नभएका सामग्रीको जाँचपास गरिएको सामग्रीबाट राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। कार्यालयले वार्षिक लक्ष्यको ८५ प्रतिशत राजस्व उठाइसकेको छ।

आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सडक अवरोध नभएको, परियोजनाको सामग्रीको आयात बढेको, प्रविधिमा आधारित भएर मूल्य तथा मूल्यांकनलाई व्यवस्थित बनाइएको, केही सामग्रीमा भन्सार महसुल बढेकाले राजस्व संकलन बढेको थियो। पछिल्लो समय नेपाल तथा चीनतर्फको भन्सारले जाँचपासलाई सहज बनाएका छन्। बाहिरी जिल्लाका चालक तथा सहचालकलाई अस्थायी रूपमा पास उपलब्ध गराइएको छ। कार्यालयले आठ महिनामा सात अर्ब ९८ करोड ५२ लाख ३३ हजार राजस्व उठाएको छ। प्रमुख भन्सार अधिकृत खड्काले सामग्रीको आयात बढ्नुका साथै भन्सारलाई व्यवस्थित बनाउँदै लगिएका कारण राजस्व संकलनमा वृद्धि हुँदै गएको बताए।

‘भन्सारको कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सबैबाट सहयोग मिलेका कारण यो सफलता मिलेको हो’, उनले भने, ‘कोरोना भाइरसको कारण अहिले चाहिँ असर पुर्‍याएको छ।’ गत आवमा पनि अगाडि नै वार्षिक लक्ष्य पूरा गरेपछि लक्ष्य बढाइएको थियो। कार्यालयले साउनमा एक अर्ब तीन करोड पाँच लाख, भदौमा एक अर्ब ५१ करोड २६ लाख, असोजमा एक अर्ब ३८ करोड ८० लाख, कात्तिकमा एक अर्ब ४७ करोड एक लाखराजस्व संकलन भएको थियो। मंसिरमा एक अर्ब ९१ लाख ९१ हजार, पुसमा ८२ करोड ८३ लाख र माघमा ६३ करोड ४६ लाख राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ। यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख राजस्व उठाउने लक्ष्य राखेको छ।

गत आवमा नौ अर्ब ५० करोड ६२ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। आव ०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख राजस्व उठेको कार्यालयको तथ्यांक छ। रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ।

प्रकाशित: ५ चैत्र २०७६ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App