८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

खरिद ऐन संशोधन गर्दा महासंघको प्रतिनिधित्व माग

काठमाडौै - नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधन गर्ने क्रममा महासंघको अनिवार्य प्रतिनिधित्वका लागि आग्रह गरेको छ। महासंघको एक प्रतिनिधिमण्डलले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई भेटी उक्त आग्रह गरेको हो।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलले निर्माण व्यवसायसँग सम्बन्धित ऐन/नियम निर्माण व्यवसायमैत्री तथा विकास निर्माणमैत्री नहुँदा विकास निर्माणको क्षेत्रमा देशले फड्को मार्न नसकेकोबारे मन्त्री नेम्बाङलाई जानकारी गराएको छ।महासंघको सुझाव बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ परिमार्जन गर्ने कार्य मामहासंघको समेत अनिवार्य प्रतिनिधित्व गराउनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन प्रतिनिधिमण्डलले मन्त्री नेम्बाङ समक्ष आग्रह गरेको छ। जवाफमा मन्त्री नेम्बाङले समस्या समाधानका लागि सरोकारवाला निकायमा जानकारी गराउने बताए।

पुँजीगत खर्चतर्फको राष्ट्रको बजेटको करिब ६५ प्रतिशत खर्च गर्ने निर्माण व्यवसाय क्षेत्रको समग्र विकासले मात्र नेपाल सरकारको ‘समृद्घ नेपाल सुखी नेपाली’को परिकल्पना साकार हुन र देश विकास हुन सक्छ भन्ने स्पष्ट धारणा महासंघले अघि सारेको छ। यसैबीच विगत केही समययता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यका लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट बारम्बार भइरहेको शृखंलावद्ध आक्रमण तथा आगजनीका घटनाबारे समेत महासंघले मन्त्री नेम्बाङको गम्भीर ध्यानाकर्षण गराएको छ।विविध चुनौतीका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीलाई पेसाबाट नै पलायन गर्ने गरी भएको त्यस्ता आततायी घटनाको कडा शब्दमा निन्दा गर्दै महासंघले विगतमा यस्ता घटनामा संलग्नलाई कारवाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको जनाएको छ।

महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाहीको लागि आग्रह गर्दै व्यवसायीका उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति दिन मन्त्री नेम्बाङ समक्ष जोडदार माग गरेको छ।पीडित कम्पनीहरुलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्दै महासंघले व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गरेको छ। व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि महासंघ देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुने जानकारी महासंघले गराएको छ। प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, उपमहासचिव नरहरी थपलिया, कार्य समिति सदस्य उज्जल गौतम, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लयायतको सहभागिता रहेको थियो।

प्रकाशित: ५ चैत्र २०७६ ०३:०२ बुधबार

निर्माण_व्यवसायी खरिद_ऐन