६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भाउ नपाएपछि ट्याक्टर लगाएर तरकारी नष्ट

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा लगाइएको तरकारी बिक्री नभएपछि ट्याक्टर लगाउँदै किसान केशवराज नहर्की । तस्बिर: सरिता/नागरिक

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसान राजकुमार बिसुरालले दुई महिनाअघि ६ रोपनी जग्गामा मुलाखेती गरे। बीउ, मल र ज्याला गरी ६० हजार रुपैयाँ खर्च गरेर लगाएको मुलाले बजार नपाउदा ट्याक्टर लगाएर नष्ट गर्नुपर्‍यो। ‘खेती गर्ने बेला न समयमा मल पायौँ न बीउ नै, हजारौँ खर्च लाग्यो’, उनले भने, ‘बारीमा लगाएका मुला र बन्दाको बजार भाउ नपाउदा ट्याक्टर लगाएर नष्ट गर्नुपरेको छ।’

बिसुरालले १२ रोपनी जग्गामा तरकारी खेती गरेका छन्। ६ रोपनी जग्गामा मात्रै मुला छन् भने बाँकी जग्गामा बन्दा, भेडी लगायतका अन्य तरकारी लगाएका छन्। गतवर्ष पनि बजारमूल्य भन्दा पन्ध्र गुणा कममा पनि तरकारी बिक्री नभएपछि ट्याक्टर लगाएर खेतमा लगाएको बन्दाकोभी, मुला लगायतको तरकारी नष्ट गर्नुपर्‍यो। यस वर्ष पनि खेती लगाउने बेला चर्को मूल्यमा बीउ, मलको जोहो गर्नुपर्‍यो। तर प्रतिफल शून्य भएको उनले बताए।

बिचौलिया ब्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि किसानहरुले खेतमै थुप्रो लगाएका छन्। ‘गत वर्ष बन्दाकोभी र मुलाबारीमा ट्याक्टर लगायौँ, अहिले बन्दाको भाउ केही आशलाग्दो छ तर मुला बारीमा नै कुहिने भयो,’ उनले भने, ‘भाउ आउने आशमा थियौँ तर तरकारीको मूल्य नपाएपछि बाध्य भएर ट्याक्टर लगाएर नष्ट गर्‍यौ।’ सिजनमा तरकारी लगायो, आम्दानी भन्दा खर्च बढी हुने भएपछि ट्याक्टर लगाउनु बाहेक अन्य विकल्प नरहेको उनले बताए। विगत १५ वर्षदेखि कृषि पेशामा संलग्न बिसुराल तरकारी खेतीबाट बिस्तारै हात धुनु पर्ने अवस्था आएको बताए।

बजारमा प्रतिकिलो मुलाको भाउ ४० देखि ५० रुपैयाँ छ भने बन्दाकोभीको भाउ प्रतिकिलो ८० देखि १०० रुपैयाँ छ। किसानले बिक्री गर्दा मुला प्रतिकिलो दुई रुपैयाँ र बन्दाकोभी १५ देखि १८ रुपैयाँमा बिक्री गर्नुपरेको विशालटारका अर्का किसान धुव्र पाण्डेले बताए। ‘हामीले दुःख गरेर यसरी तरकारी उत्पादन गछौँ, बजार भाउ छैन तर उपभोक्ताले महंङगो मूल्य तिरेर तरकारी किन्नु परेको छ’, उनले भने, ‘विचौलियाको विगविगीका कारण उत्पादन गर्ने किसानदेखि बिक्री गर्ने उपभोक्तासम्म मारमा छौँ।’

किसानले सिजन अनुसारको तरकारी लगायो उत्पादन हुने बेला बिक्री नै नहुने भएपछि विशालटारका किसानहरु चिन्तित बनेका छन्। विशालटारमा मात्रै करिब ३० जनाले व्यावसायीक रुपमा तरकारी लगाउँदै आइरहेका छन्। धान लगाउन छोडेर लगाएको तरकारीले किसानलाई घाटा बनाएपछि अब तरकारी खेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको किसानहरुले बताए। अघिल्ला वर्षहरुमा तरकारी खेतीले मनग्य आम्दानी गरि घरव्यवहार चलाउन र छोराछोरीलाई पढाउन समेत पुगेको भएपनि अहिले उल्टै ऋणको भारी बोक्नु परेको किसानको भनाई छ।

५० हजार खर्च गरेर लगाएको तरकारीले आम्दानी नपाएपछि अर्को सिजनको तरकारी लगाउने कि नलगाउने किसानहरु अन्यौलमा छन्। प्रतिफल नपाएपछि दुई रोपनी जग्गामा लगाएको मुला धमाधम ट्याक्टर लगाएर नष्ट गर्नुपर्ने बाँध्यता रहेको किसान सुनाउँछन्। किसानको मेहनत माटोमा मिसिएको उनीहरुको भनाई छ।   
राज्यले खेतबारी बाँझो नराख्न किसानलाई आग्रह गरेको छ, खेती गर्‍यो, उल्टै घाटा हुने भएपछि अब खेती छाड्नुपर्ने अवस्था भएको छ। मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनु परेको छ। तीन वर्षअघिसम्म तरकारी खेती गरेर लाखौ कमाउने किसानहरु अहिले घाटा व्यहोर्नु परेकोमा चिन्तित छन्।

धादिङ लगायत काठमाडौ नारायणघाट, पोखराका जनतालाई यहाँको तरकारीले धानेको छ। राजमार्गको छेउमा रहेको यस क्षेत्रमा तरकारीमा भएको नोक्सानीले किसानहरु अब भने तरकारी उत्पादन नगरी विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताएका छन्। यहाँका प्रत्येक किसानले ५० देखि एक लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ। अब बर्खे तरकारी लगाउनका लागि किसानहरुले तयारी गरिरहेका छन्।

धादिङ जिल्लामा लगभग ६ हजार हेक्टर जमिनमा तरकारी खेती गरिन्छ। काठमाडौँमा बिक्री हुने तरकारीको १८ प्रतिशत तरकारी धादिङ जिल्लाबाट जाने गरेको छ। खुल्ला नाका, भारतबाट तरकारी आउनु र बजारसम्म किसानको पहुँच नहुनुका कारण किसानहरुले उत्पादन गरेको तरकारी बिक्री नभएको किसानहरुको भनाई छ।

 

 

 

प्रकाशित: १ चैत्र २०७६ १०:०० शनिबार

मारमा_किसान तरकारी_नष्ट