१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोना त्रास, पर्यटन प्रवर्द्धन कार्यक्रम अनिश्चित

पोखराको मूल पर्यटकीय क्षेत्र लेकसाइड। फाइल तस्बिर:नागरिक

पोखरा - नयाँ कोरोनाभाइरस संक्रमणको त्रासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरमा गरिने पर्यटन प्रवद्र्धन अनिश्चित बनेको छ। यहाँका व्यवसायीले यो बेला अन्तर्र्राष्ट्रिय सहरमा प्रवद्र्धनको तयारी गरे पनि भाइरस संक्रमणले अनिश्चित बनेको बताएका छन्। भाइरस संक्रमण कहिलेसम्म रहने भन्ने निश्चित नभएकोले प्रवद्र्धनात्मक कार्यक्रमको टुंगो पनि लगाउन नसकेको व्यवसायीले बताए।

पश्चिमाञ्चल होटल संघले आगामी साता बंगलादेश र भारतको कोलकातामा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारी गरे पनि कोरोना त्रासले गर्दा हालका लागि स्थगित गरेको बताएको छ। आगामी महिना भारतका अरु सहरमा गर्ने भनिएको प्रर्वद्धनात्मक कार्यक्रम पनि हालका लागि रद्द गरेको संघले बताएको छ। भाइरसको जोखिम सकिएको निश्चित भएपछि मात्र प्रवद्र्धनात्मक कार्यक्रम गर्न सकिने व्यवसायीले बताएका छन्।

आन्तरिक पर्यटक लक्षित गर्दै स्वदेशभित्र गरिने प्रवद्र्धन अभियान समेत अनिश्चित बनेको व्यवसायीले बताए। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारी भए पनि कोरोना संक्रमणका कारण अनिश्चित बनेको बताए। सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्दै प्रवद्र्धनात्मक कार्यक्रम नगर्न समेत भनेकोले यो बेला रोकिएको प्रवद्र्धन कहिले हुन्छ भन्ने नै यकिन नभएको तुलाचनले बताए।

‘सबैतिर अहिले भाइरस फैलिएको छ। चीनमा मात्र फैलिँदाको अवस्थामा हामीले बंगलादेश र भारतका सहरमा प्रवद्र्धनका कार्यक्रम लैजाने तयारी गरेका थियौ,’ उनले भने, ‘तर अहिले सबैतिर यो भाइरस संक्रमण बढेको छ। भारतमा पनि संक्रमण देखिएको छ। त्यसले गर्दा अहिले प्रवद्र्धन कार्यक्रम गर्न सक्ने अवस्था रहेन।’

मार्च १२ देखि बंगलादेशको ढाका र भारतको कोलकाता सहरमा प्रवद्र्धनात्मक कार्यक्रम लिएर जाने योजना संघले बनाएको थियो। त्यस्तै, अप्रिल अन्तिम साता दक्षिणी भारतीय सहरमा प्रवद्र्धनका कार्यक्रम गर्ने योजना बनाए पनि त्यो समेत अनिश्चित भएको उनले बताए।

‘विश्वव्यापी आउजाउ रोकिएको बेला हामीले प्रवद्र्धनात्मक कार्यक्रम गर्न सक्ने अवस्था छैन। सरकारले पनि यो बेला प्रवद्र्धन नगर्नु भनेको छ। हामी आफैं पनि सुरक्षित रहनुपर्ने भएकोले सबै कार्यक्रम स्थगित भएको हो,’ उनले भने, ‘केही समय पर्ख र हेरको अवस्थामा छौं।’ कोरोना फैलिन थालेर चिनियाँ पाहुनाको आगमन घट्न थालेपछि व्यवसायीले विकल्पमा भारत, बंगलादेश लगायत मुलुकका ठूला सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना बनाएका थिए। तर भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिँदै गएपछि सबैतिरका प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गर्न बाध्य भएको अध्यक्ष तुलाचनले बताए।

क्यालेन्डर अनुसार वार्षिक कार्यक्रम नहुँदा अन्योल छाएको उनले बताए। ‘लामो समय प्रवद्र्धन नगरी बस्न सक्ने अवस्था पनि छैन। प्रवद्र्धनका कार्यक्रम लिएर जाने अवस्था पनि रहेन,’ उनले भने, ‘सबैतिर दोधार छाएको छ।’ नेपाल भ्रमण वर्ष स्थगित भएपछि पनि व्यवसायीले बर्सेनि गर्दै आएका नियमित कार्यक्रम गर्ने योजना बनाएका थिए तर, भाइरस त्रासले रोकिएको उनले बताए। ‘अहिलेको त्रासमा कतिन्जेल रहने भन्ने पनि लाग्न थालेको छ,’ उनले भने। सुरुमा चीनमा मात्र संक्रमण फैलिँदा त्यसका प्रभाव अन्यत्र नपर्ने अनुमानले भारत र बंगलादेशका सहरमा कार्यक्रम तय भएपनि अहिले सबैतिर संक्रमण फैलिएकोले रोकिन बाध्य भएको उनले बताए।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार बंगलादेश र भारतको कोलकातमा गर्ने भनिएको प्रवद्र्धनात्मक कार्यक्रमको सबै तयारी पूरा भएको थियो। प्रवद्र्धनात्मक कार्यक्रमका लागि जाने समूहका लागि होटल र व्यावसायिक भेटघाटका लागि आउने ट्राभल एजेन्सीसँग भेटघाटको टुंगो समेत लागिसकेको थियो। तर सबैतिर कोरोना त्रास फैलिएपछि अनिश्चितकालका लागि स्थगित गरिएको पराजुलीले बताए। ‘चीनमा कोरोना फैलिन थालेपछि चिनियाँ पाहुना आउन छाडे। अनि हामीले भारतीय र बंगलादेशी पाहुना लक्षित गर्दै प्रवद्र्धनका कार्यक्रमको तयारी ग-यौं,’ पराजुलीले भने, ‘तर जब कोरोनाको त्रास सबैतिर रह्यो, हामीले वैकल्पिक ठानिएका सहरमा पनि जाने आँट गरेनौं।’

पर्यटक प्रवद्र्धनात्मक कार्यक्रम लिएर जाँदा छिटो परिणाम आउने सहरको रुपमा यहाँका व्यावसायीले भारत र बंगलादेशलाई रोजेका थिए। आउजाउ सहजको हिसाबले ती मुलुकका पाहुना सहजै नेपाल आउन सक्ने भएकोले पहिलो प्राथमिकतामा भारत र बंगलादेश परेको भए पनि प्रवद्र्धन गतिविधि अनिश्चित भएको पराजुलीले बताए। भारत र बंगलादेशमा गर्मी बढने भएकोले पनि शितल महसुस गर्न पोखरा आउनुस् भनेर बोलाउन जाने तयारी भए पनि कोरोना त्रासले रोकिएको उनले बताए। आन्तरिक पाहुनालाई पोखरा घुम्न आऊ भनेर समेत जान सक्ने अवस्था नरहेको उनले बताए।

‘स्वतः आएका आन्तरिक पाहुनालाई हामी स्वागत गर्न तयार छौं। तर अब यो बेला घुम्ने समय हो भने र पोखरा बोलाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘सबैतिर कोरानोका प्रभाव घट्दै गएपछि बल्ल आन्तरिक पाहुनालाई बोलाउन सकिन्छ। अहिलेकै अवस्थामा आन्तरिक पाहुनालाई पनि बोलाउन सक्ने अवस्था छैन। तर आएका आन्तरिक पाहुनालाई हामीले सेवा दिन कन्जुस्याइँ गर्दैनौं।’

नेपालमा पनि कहाँ कतिखेर कोरोनाका बिरामी भेटिने हुन् भन्ने अत्यासलाग्दो अवस्था रहेकोले पनि पर्यटन क्षेत्र मौन बस्नुपरेको उनले सुनाए।

प्रकाशित: २७ फाल्गुन २०७६ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App