१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

अरुण तेस्रो निर्धारित समयमैं सकिन्छ

काठमाडौं - नेपालका लागि भारतीय  राजदूत  विनयमोहन क्वात्राले लामो समयदेखि अलपत्र अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिएकामा खुसी व्यक्त गरेका छन्। राजदूत क्वात्राले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनसँग भेटवार्ता गर्दै अरुण तेस्रो जलविद्युत् आयोजनाले अपेक्षित लक्ष्य हात पारेको बताएका हुन्।

राजदूत क्वात्राले छिमेकी भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम ऊर्जा क्षेत्रमा भएको स्मरण गराएका थिए। राजदूत क्वात्राले ऊर्जा मन्त्री पुनको सक्रिय र नेतृत्वदायी भूमिकाकै कारण जलविद्युत्का क्षेत्रमा उल्लेख्य काम सम्भव भएको मन्त्रालयले जनाएको छ। अरुण तेस्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे। राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नति, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन अनुरोध गरेका छन्।

यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो। उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ। मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ। यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत् आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो। जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत् व्यापारका लागि बाटो खुलेको थियो।

सोही आधारमा नेपालले बंगलादेशँग विद्युत् व्यापारको सम्झौता गरेको छ। यस्तै सोही अवधिमा नेपाल–भारतबीच विद्युत् आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ। भेटमा मन्त्री पुनले नेपालले जलविद्युत्को सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको  चर्चा गरेका थिए। मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेस्रो जलविद्युत् आयोजना र बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको  उल्लेख गरे। भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेको खुसी व्यक्त गरे।

यसअघि समेत काठमाडौंस्थित सार्क सचिवालयमा रहेर लामो समय काम गरिसकेको र नेपाली समाज बुझेका कारण राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास मन्त्री पुनले व्यक्त  गरे। क्वात्रासँग ३० वर्ष भारतीय विदेश सेवामा काम गरेको अनुभव छ। गत पुस २८ मा  राजदूत नियुक्त भएका क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। सन् १९८८ मा सेवा प्रवेश गर्नुभएका क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त व्युरो प्रमुुखका रुपमा काम गरेका छन्। क्वात्राले बिजनेस एडमिनिस्ट्रेनसमा स्नातकोत्तर र अर्थशास्त्रमा एम फिल गरेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:३५ आइतबार

जलविद्युत्_आयोजना भारतीय_राजदूत