१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनुदानका लागि कृषि फार्म दर्ता गर्ने बढे

गोरखा- गोरखामा पछिल्लो समय घरेलु उद्योग दर्ता हुने क्रम बढेको छ। स्थानीय सरकारले अनुगमनमा कडाई र अनुदान दिन अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानपछि उद्योग दर्ता बढेको हो। घरेलु तथा साना उद्योग कार्यालय गोरखामा चालु आर्थिक वर्षको साउनदेखि माघसम्म पाँच सय ७५ वटा होटल तथा रेष्टुरेन्ट दर्ता भएको छ। गत वर्षसम्म पाँच सय ७२ मात्रै दर्ता भएको थियो।

कार्यालयको तथ्याङ्कमा अहिले एक हजार तीन सय १३ वटा कृषि तथा पशुपंक्षी फार्म दर्ता भएको अभिलेख छ। साउन यता मात्रै चार सय ६० वटा कृषि फार्म दर्ता भएका छन्। ‘सबैभन्दा धेरै होटेल र कृषि फार्म चालु वर्ष कार्यालयमा दर्ता भएको छ’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले भने। बन्द भएका उद्योगको अद्यावधि रेकर्ड भने कार्यालयमा छैन। संघीय, प्रदेश र स्थानीय सरकारले कृषिमा दिने अनुदान लिन अनिवार्य फार्म दर्ता गरेको हुनुपर्ने प्रावधानका कारण बढेको हो।

दर्ता गरेका अधिकांशले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन् भने प्रक्रियामा छन्। अनुदान लिनकै लागि उद्योग दर्ता गर्ने लहर चलेको छ। ‘पेसा व्यवसाय गर्न भनेर प्रक्रिया पूरा गरेर आएपछि हामीले दर्ता गरिदिन्छौँ’ कार्यालय प्रमुख पौडेलले भने ‘त्यसपछिको कुरा हामीलाई थाहा हुँदैन, नबिकरण गर्दा पुनः आवश्यक कागजात खोज्छौँ।’

कृषि तथा पशुपंक्षी फार्म दर्ता महिलाको नाममा गर्नेहरु धेरै छन्। पुरुषको नाममा उद्योग दर्ता गर्दा छ हजार एक सय रुपैयाँ लाग्छ भने महिलाको हकमा दुई सय रुपैयाँले हुन्छ। गत साउन, भदौ र असोज महिनामा दैनिक दुईदेखि चारवटा सम्म नयाँ उद्योग कार्यालयमा दर्ता भएको तथ्याङ्कले देखाउँछ। साउन यता १२ वटा ग्रिल उद्योग, २२ वटा राईस मिल, सात वटा निर्माण सेवा, एउटा ढाका उद्योग दर्ता भएको छ। १२ वटा फर्निचर उद्योग, २९ वटा सिलाई, कटाई, १८ वटा कम्यूटर इन्स्चिच्यूट, १२ वटा ब्यूर्टी पार्लर दर्ता भएको छ। नौ वटा इट्टा उद्योग, तीनवटा क्रसर उद्योग र १२ वटा फिरफिरे (बालुवा प्रसोधन ) उद्योग दर्ता भएको छ। १२ वटै गत वर्षको अन्यतिर गण्डकी गाउँपालिकाको बिभिन्न ठाउँमा दर्ता भएका छन्। क्रसर उद्योग गोरखा नगरपालिका क्षेत्रमा एक र पालुङटार नगरपालिकामा दुईवटा रहेको छ।

वर्कसप, कपास उद्योग, ढुवानी सेवा, पाउरोटी उद्योग, मोवाईल मर्मत सेन्टर,ढुवानी सेवा लगायत विविध शिर्षकमा साउन यता ५९ उद्योग दर्ता भएका छन्। उद्योग दर्ता हुने क्रम साउन यता बढेपछि राजस्व पनि ह्वातै बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। मदिरा र सुर्तिजन्य वस्तु बिक्री गर्न छुट्टै इजाजत लिनुपर्ने नियमका कारण रेष्टुरेष्ट दर्ता गर्ने क्रम बढेको हो। रेष्टुरेन्टबाट मदिरा र सुर्तिजन्य वस्तु बिक्री गर्न पाउने भएपछि ग्रामिण भेगका बजारका होटल समेत दर्ता हुन थालेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App