६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

डिजेल ट्यांकर गायब गर्ने थुनामा

काठमाडाैँ - अज्ञात समूहले कब्जामा लिएको बहाना बनाएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेलको ट्यांकर गायब बनाएको घटनामा अदालतले चालकसहित चारजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला अदालतले ट्यांकर चालक रामदेव यादव, सह–चालक उमेश यादव, मुन्सी दीपनारायण यादव र सवारी धनी राजेश गुप्तासहित चारजनालाई थुनामा राख्न आदेश दिएको हो।

डिजेल चोरी घटनामा गत पुस १ गते दायर गरेको मुद्दामा चारजनालाई थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले बताए। ‘चालककै मिलेमतोमा डिजेल चोरी भएको अनुसन्धानमा देखिएकाले मुद्दा दायर गरेका थियौं,’ उनले भने, ‘अदालतले चारजनालाई पुर्पपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।’ गत मंसिर २ गते नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको थियो। उक्त ट्यांकरमा २० हजार लिटर डिजेल थियो। प्रहरीले ट्यांकर चालक यादवकै मिलेमतोमा अपहरणको नाटक रचेर १९ लाख रूपैयाँको डिजेल चोरी भएको निष्कर्षसहित मुद्दा चलाएको थियो।

ट्यांकर चालक यादव र सह–चालक यादवले आफूलाई अज्ञात समूहले कब्जामा लिएर अपहरण गरी ट्यांकर लगेको बताएका थिए। चालकले आफू अपहरणमा परेको दाबी गरे पनि उनीहरूकै मिलेमतोमा डिजेल चोरी भएको अनुसन्धानमा देखिएपछि मुद्दा दायर गरेको चतुर्वेदीले बताए। ‘चालकले आफू अपहरणमा परेको बताए पनि उनकै मिलेमतोमा ट्यांकर गायब गरेर तेल चोरी गरेको हो,’ उनले भने। चालक यादवको विगत पनि राम्रो नदेखिएको प्रहरीले जनाएको छ। चालक रामदेवका भाइ विजय यसअघि पनि डिजेल चोरीमा संलग्न रहेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।


‘चालककै मिलेमतोमा डिजेल चोरी भएको अनुसन्धानमा देखिएकाले मुद्दा दायर गरेका थियौं। अदालतले चारजनालाई पुर्पपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।’

डिजेल बोकेको ट्यांकर सिराहाको लहान मूल राजमार्ग हुलाक कार्यालयअगाडि पार्किङ गरी चालकले विश्राम गरेको अवस्थामा सात–आठजनाको समूहले कब्जामा लिई लगेको बताएका थिए। आफूहरूलाई कब्जामा लिएर बर्दिवास र लालबन्दीको बीच जंगलमा छाडेर गएको बताए पनि बयान झुटो भएको प्रहरीले जनाएको छ। अपहरणमा परेको बहानामा झुटो सूचना दिएर घटनालाई अन्यत्र मोड्ने प्रयास गरे पनि प्रहरीले उनीहरूलाई नै केन्द्रमा राखेर अनुसन्धान गरी मुद्दा दायर गरेको हो। २ गते हराएको डिजेल बोकेको ट्यांकर धनुषास्थित जनकपुर–ढल्केबर राजमार्गमा भेटिएको थियो। ट्यांकर रित्तो थियो। डिजेल स्थानीय पम्पले खरिद गरेको अुनमान गरिए पनि कुन पम्पले खरिद गरेको भने पत्ता लाग्न सकेको छैन। निगमले सिराहा र सप्तरीका पम्पमा अनुगमन गरे पनि पत्ता लगाएको छैन। ट्यांकर गायब बनाएर डिजेल चोरीको विषयमा छानबिन गर्न निगमले विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको भए पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

समितिमा प्रहरी, स्थानीय प्रशासन, ढुवानी व्यवसायीका प्रतिनिधि छन्। तेल कहाँ बिक्री गरे भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। तेल बिक्री गरेको विषयमा त्यस क्षेत्रका पेट्रोल पम्पमा सोधपुछ भए पनि चालकले बयान फेरेकाले पत्ता लागेको छैन। चालकको तेल चोरी प्रमाणित भए चालकले आजीवन पेट्रोलियमको ट्यांकर चलाउन पाउँदैनन्। उक्त घटनामा संलग्न ट्यांकरलाई ढुवानीमा रोक लगाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। लकिङ सञ्चालन सम्बन्धी कार्यविधिले यस्तो अपराध गर्ने ट्यांकरसँग ढुवानी सम्झौता खारेज गर्ने पनि व्यवस्था छ। चालक मात्र नभएर चोरीको तेल खरिद गर्ने पम्प पत्ता लागे निगमले तीन महिनासम्म इन्धन आपूर्ति बन्द गर्न सक्छ। यसअघि भारतबाट इन्धन बोकेर आएका ट्यांकर बीचबाटोमा कब्जा गरेर तेल लुट्ने गरेको भए पनि आफ्नै मुलुकभित्र भएको घटनालाई गम्भीर रूपमा लिएको निगमले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App