१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

सिन्धुलीको सुनकोशी गाउँपालिका-६ स्थित सुनकोशी मरिन डाइभर्सन आयोजनाकोे सुनकोशीस्थित डुबान क्षेत्र। तस्बिर:अनिल/नागरिक

सिन्धुली- सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोशी, मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ। यहाँको सुनकोशी गाउँपालिकास्थित वडा नंं ७ को सुनकोशी नदीमा ड्याम बनाइने र उक्त ड्याम बनाउदा डुबान हुने क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणको तयारी भएको आयोजनाले जनाएको छ।

आयोजनाको भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारका स्थानीयलाई मुआब्जा दिएर अधिग्रहण गरिसकिएको र अब सुनकोशीको ड्याम र त्यसको डुबानले प्रभावित हुने स्थानीययो जग्गा अधिग्रहण गर्ने कार्य सुरु भएको आयोजनाका निर्देशक सुशिलचन्द्र आचार्यले जानकारी दिए।

शनिबार सुनकोशी गाउँपालिकाको वडा नं. ६ खाल्टेमा आयोजित आयोजनाको डुबान क्षेत्रको जग्गा प्राप्ति सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभागी गोलञ्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले आयोजनाबाट सुनकोसी गाउँपालिका मात्रै प्रभावित नभएर त्यसको प्रत्यक्ष प्रभाव गोलञ्जोर गाउँपालिकाले समेत भोग्नुपर्ने भएकाले गोलञ्जोरका सुनकोशीको तिर आसपास बस्ने स्थानीयलाई पनि व्यवस्थित गर्नुपर्ने माग गरे। उनले सुनकोशीको पानीले चिसोको अनुभुती हुने गरेको र पानी डाइभर्सन गरेपछि मरुभूमि हुने भएकाले त्यस तर्फ पनि आयोजनाले सोच्नुपर्ने जनाए। आयोजनाले स्थानीय मठमन्दिर बाटो खानेपानी सहायक कच्चि सडकलाई व्यवस्थित गर्नुका साथै क्षमताअनुसारको रोजगारी स्थानीयलाई दिनुपर्ने उनीहरुले सुझाव राखेका छन्।

आयोजनाको सिन्धुली सम्पर्क कार्यालयका प्रमुख सिनियर डिभिजन हाइड्रोजिओलिष्ट विश्वबन्धु केसीका अनुसार आयोजनाको भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्ने प्रक्रिया अनुसार सिन्धुलीको कुसुमटार क्षेत्रका ५० जना स्थानीयलाई मुआब्जा दिई जग्गा अधिग्रहण गर्ने कार्य सुरु भएको र ड्याम क्षेत्रमा पर्ने डुबान हुने जग्गाको मुआब्जा दिने तयारी भएको हो। हामी विवेकपूर्ण तरिकाले मुआब्जा वितरण गर्छौ, मुआब्जा निर्धारण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, राज्यले पनि मुआब्जा दिन संकुचित भएर सोच्न भएन, अनि प्रभावितहरुले पनि बढी महत्वकाक्षी माग देखाउनु हुदैन सबै मिलेर आयोजना निर्माण सम्पन्न गर्नुपर्छ।

सुनकोशी गाउँपालिकाको वडा नं. ७ को सुनकाशी नदीमा १२ मिटर उचाईको बाध बाधि ६७ क्युविक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङगको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने आयोजनाको  प्रमुख लक्ष्य रहेको छ। आयोजनाबाट सुनकोशीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने र  त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख आचार्यले जनाए। विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमै रहनेछ।

तराईका विभिन्न जिल्लालाई सिँचाइको सुविधा पुर्‍याउन सरकारले सो आयोजनालाई अगाडी बढाएको हो। तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने यो आयोजनाको प्रमुख उद्देश्य हो, आयोजना प्रमुख आचार्यले भने, सुनकोशीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ। उक्त फाँटबाट मरिण नदी हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पानी पुर्‍याई सिँचाइको सुविधा बढाउने लक्ष्य सरकारको छ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ भने सुनकोशी–मरिन–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ। देशमा भएका विभिन्न परिवर्तनकारी व्यवस्थामा सिन्धुलीले कुनै न कुनै भूमिका खेलेर चर्चा पाएको र हाल देश संघीयतामा गइसकेपछि सिन्धुली जिल्लामा देश विदेशसम्म चर्चा हुने आयोजना बन्न लागेको भन्दै सुकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोराले खुसी व्यक्त गरिन्। उनले स्थानीयको माग र सुझावलाई आयोजनाले सहज तरिकाले ग्रहण गर्नुपर्ने भन्दै आयोजनालाई गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने प्रतिवद्धता जनाइन्।

 

प्रकाशित: ४ फाल्गुन २०७६ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App