२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

रौतहटको चिनी उद्योग बुधबारदेखि सञ्चालन

रौतहट- किसानहरुको लामो प्रतिक्षा र संघर्षपछि रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लि. बुधबारदेखि सञ्चालनमा आएको छ। चिनीमिल सञ्चालनको लागि किसानहरुले ठूलै संघर्ष गरेको उद्योग सञ्चालनमा आएपछि किसानहरु खुसी पनि भएका छन्। ढिलो भए पनि उद्योग सञ्चालनमा आएपछि उखु किसानमा खुसी र उत्साह आएको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन्।

पुसको दोस्रो हप्तादेखि सञ्चालनमा हुनुपर्ने उद्योग भने माघको अन्तिम दिनदेखि सञ्चालनमा आउँदा पनि किसान हर्षित हुनुपर्ने मुख्य कारण आगामी वर्ष समयमै सञ्चालन हुने आशा हो। चालु सिजनमा सञ्चालनमा नआए उद्योग सधैको लागि बन्द हुने हल्ला चलेपछि उखु उत्पादक संघ रौतहटले उद्योगभित्र, जिल्ला प्रशासन कार्यालय र उद्योगपति समेतलाई उद्योग सञ्चालनको लागि आग्रह गर्दै आएको थियो भने कृषि, उद्योग र अर्थ मन्त्रालयमा पनि लबिङ गरेको थियो।

उद्योगले उखु किसानलाई अझै पनि कम्तीमा करिब ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। जिल्लामा दर्जनौँ खाँडसारी उद्योगले किसानलाई ठगी गरिरहेको तथा जिल्ला बााहिरका चिनी उद्योगले दलालमार्फत सस्तोमा उखु किनिरहेको थियो। बारा र सर्लाहीका चिनी उद्योगहरुले जिल्लाको विभिन्न ठाउँमा संकलन केन्द्रमार्फत प्रति क्वीन्टल पौने चार सयदेखि चार सय रुपैयाँमा उखु खरिद गरिरहेको थियो। जिल्लाको कटहरियामा रहेको बाबा बैजुनाथ केमिकल इन्डस्ट्रीले उखु किनिरहेको भए पनि सर्वसाधारण किसान बिस्वस्त हुन सकिरहेको थिएन।

ढिलो सञ्चालनमा आएपछि उद्योगले धेरै उखु पाउने सम्भावना कम छ। अधिकांश किसानले यताउति उखु बेचिसकेका छन्। उखु बेचिसकेपछि चिनी मिल सञ्चालनमा आउँदा बचेका उखु नै किसानले उद्योगलालाई उपलब्ध गराउने देखिन्छ तर उद्योग सञ्चालनमा आएपछि किसानको उखु खेतीप्रतिको आशा भने पलाएको छ।

चिनी मिल सञ्चालनमा आउने सम्भावना कम हुँदै गएपछि केही किसानले उखु खेती नै छोड्न लागेका थिए। गढीमाईको समनपुरका ठूला उखु किसान कामेश्वर सहनीले भरपर्दो चिनी मिल समयमा सञ्चालन नआएपछि उखु रोप्ने करिब तीन बिगाहा खेतमा मकै खेती गरेको बताएका छन्। चिनी मिल सञ्चालनमा आएपछि अब थप खेतमा नयाँ उखु रोप्ने अगुवा उखु किसान सहनीले बताएका छन्।

 

प्रकाशित: २९ माघ २०७६ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App