२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

चीन पठाउन पोखरा लेकसाइडमा मास्क लोड गरिँदै। तस्बिर : सन्तोष/नागरिक

पोखरा – छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिएपछि नेपालमा रहेका चिनियाँले आफन्त र साथीभाइलाई मास्क कोसेली पठाउन थालेको छ। अहिले धमाधम कोसेलीका रूपमा पठाइँदै गरेका ती मास्क कुनैबेला चीनबाटै आयात गरिएका हुन्। अहिले व्यापारिक रूपमै चीनका विभिन्न सहरमा मास्क निर्यात हुन थालेपछि पोखरामा मास्क अभाव हुन थालेको छ।

पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका चिनियाँ व्यवसायीले चीनका विभिन्न सहरमा मास्क निर्यात गरिरहेका छन्। चिनियाँ व्यवसायीद्वारा लेकसाइडमा सञ्चालिन हेल्लो वल्र्ड जर्नीले सोमबार चीन पठाउने मास्क धमाधम ट्रकमा लोड गरिरहेके। हेल्लो वल्र्ड जर्नीमा कार्यरत कर्मचारी पवन अधिकारीले अहिलेसम्म दुई ट्रक मास्क चीनमा पठाइसकेको जानकारी दिए। सोमबार तेस्रो चरणको निर्यातका लागि ट्रकमा मास्क लोड गरिरहेका उनले अहिलेसम्म २५ लाखजति मास्क हेल्लो वल्र्डमार्फत चीन पठाइएको जानकारी दिए।

पोखरामा सञ्चालित विभिन्न मेडिकलबाट ती मास्क संकलन गरेर चीन निर्यात गरिरहेको उनले बताए। ‘पोखरामा बसिरहेका कतिपय चिनियाँले चीनमा रहेका आफन्त र साथीभाइलाई मास्क कोसेलीका रूपमा पठाइरहेका छन् भने केहीले यहाँ खरिद गरेर चीनमा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘चीनबाट अर्डर आएबमोजिम यहाँ मास्क संकलन गरिएको छ।’ अधिकारीका अनुसार ५० वटा दरले प्याकेट बनाएर चीनका विभिन्न ठाउँमा पठाइएको छ। ५० पिसको प्याकेटलाई पोखरामा ३ सय रुपैयाँमा खरिद गरेको उनले बताए। चीनमा कति मूल्यमा निर्यात भइरहेको भन्नेबारे भने चिनियाँले बताउन चाहेनन्।

औषधि व्यवसायी संघ गण्डकीका महासचिव कृष्ण पाण्डेका अनुसार अहिले पोखरामा समेत मास्क अभाव हुन थालेको छ।

कर्मचारी पवन अधिकारीका अनुसार पोखराबाट ट्रकमा हिँडाइएका पाँचदेखि नौ दिनभित्र चीनका कुनै सहरमा पु-याउनेगरी काम चिनियाँ व्यवसायीले गरिरहेका छन्। काठमाडौंमा रहेका चिनियाँले पनि मेडिकलमा मास्क खरिद गरेर चीन पठाइरहेको अधिकारीले जानकारी दिए। मेडिकलमा संकलन गरेर प्याकेट बनाएर ढुवानीका लागि संकलन केन्द्रमा ल्याउने काम जोकोही व्यवसायीले पनि गरिरहेको उनले बताए। पोखरामा व्यापार गर्दै आइरहेका कास्मिरीलगायत व्यवसायीले समेत यहाँका मेडिकलमा मास्क किनेर चीनतर्फ निर्यात गरिहेको उनले बताए। त्यसबाहेक पोखरामा होटल, रेस्टुरेन्ट सञ्चालन गरिरहेका चिनियाँले पनि चीनमा रहेका आफन्त र साथीभाइलाई मास्क पठाइरहेका छन्।

चीनबाट आयातित मास्क अहिले फेरि चीनतिरै निर्यात हुँदा पोखरामा त्यसको अभाव हुन थालेको यहाँका औषधि व्यावासायीले बताएका छन्। औषधि व्यवसायी संघ गण्डकीका महासचिव कृष्ण पाण्डेका अनुसार अहिले पोखरामा समेत मास्क अभाव हुन थालेको छ। ‘पोखरामा भेटिएजति मास्क चिनियाँ व्यवसायीले फेरि खरिद गरेर चीनतिर पठाएका छन्। संक्रमण फैलने त्रासले स्थानीयले पनि स्टक राख्न थालेका छन,’ उनले भने, ‘पोखरामा मास्क नै अभाव हुने अवस्था आइसकेको छ। भारततिरबाट पनि मास्क आउन छाडिसकेको छ।’
नेपालमा दिनमा तीन हजार गोटा मात्र मास्क उत्पादन हुने भएकाले यसअघि बढी मास्क चीनबाट आउने गरेको उनले बताए।

उनका अनुसार यसअघि पोखरामा प्रतिगोटा तीन रुपैयाँसम्म मास्क आउँथ्यो। मेडिकललाई प्रतिगोटा पाँच रुपैयाँका दरले बिक्री गर्न दिइने ती मास्क उपभोक्ताले १० रुपैयाँमा किन्न पाउँथे। अहिले चिनियाँले पोखरामा प्रतिगोटा ६/७ रुपैयाँमा मास्क किनेर चीनतिरै पठाइरहेको उनले बताए। त्यसबाहेक चीन, हङकङमा रहेका आफन्तलाई यहाँ रहेका परिवारका सदस्यले पनि मास्क कोसेली पठाएको पाण्डेले बताए। ‘चीन र हङकङमा रहेका आफन्तलाई पनि मास्क कोसेली गइरहेको छ,’ उनले भने, ‘सबैतिर माग भएपछि अभावैअभाव हुने अवस्था आएको छ।’ मास्कको कारोबार गर्ने उपयुक्त मौका अहिले चिनियाँ व्यवसायीले उपयोग गरिरहेको उनले बताए।

लेकसाइडमा सञ्चालित केही मेडिकल सञ्चालकले समेत मास्क खरिद गरेर चिनियाँ व्यवसायीमार्फत चीनमा निर्यात गरिरहेको औषधि व्यवसायीले बताएका छन्। लेकसाइडमा दर्जनभन्दा बढी होटल चिनियाँ व्यवसायीले सञ्चालन गरेका छन्। होटलबाहेक रेस्टुरेन्ट पनि चिनियाँले नै सञ्चालन गरेका छन्। ती चिनियाँहरूले अहिले स्वदेशमा रहेका आफन्तलाई पोखराबाट कोसेलीका रूपमा मास्क पठाइरहेको व्यवसायीले बताएका छन्।

प्रकाशित: २१ माघ २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App