९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

चिनी उद्योगको प्रदूषणविरुद्ध संघर्ष समिति

सर्लाही – पटक पटक आग्रह गर्दा पनि ईन्दुशंकर चिनी उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन्। शनिबार हरिवन नगरपालिका–११ र ८ का बासिन्दाको भेलाले चिनी उद्योगको प्रदूषण नियन्त्रणका लागि दबाब दिने उद्देश्यले बाँसाटोल निवासी समाजसेवी सुरेश भट्टराईको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका हुन्।

चिनी मिल वरिपरी हनुमानचोक, बाँसाटोल, पाख्रिन टोललगायत बासिन्दा चिनी उद्योगको प्रदूषणबाट बढी पीडित हुँदै आएका छन्। चिनी उद्योग चलेको समयमा चिम्नीबाट उड्ने धुलोले आजित बनाएको समितिका संयोजक भट्टराईले गुनासो गरे। ‘जति भन्दा पनि उद्योगले प्रदूषण नियन्त्रणमा कुनै चासो दिएन,’ संयोजक भट्टराईले गुनासो गरे, ‘अब कडा संघर्षमा उत्रनुको विकल्प रहेन।’ प्रदूषण नियन्त्रणका लागि पटक–पटक ज्ञापन पत्र बुझाए पनि चिनी उद्योग व्यवस्थापनले कुनै सुनुवाइ नगरेको भट्टराईको गुनासो थियो।

चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको सेतो लुगा कालाम्मे हुने, घरभरी कालो धुलाले छपक्कै बनाउने गरेको तथा घरभित्रै बसेर खाना खाँदासमेत कालो धुलोले छपक्कै पार्ने गरेको संघर्ष समितिका प्रचार प्रसार समिति संयोजक विनय न्यौपानेले गुनासो गरे। धुलो, धुवाँको प्रदुषण अनि चिनी उद्योग अन्तर्गतकै अमरावती डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानीको दुर्गन्धले स्थानीयमा स्वाशप्रस्वाश लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको समितिका संयोजक भट्टराईको दाबी छ। ‘चिनी उद्योगले उत्पादन गर्ने मलको प्लाण्ट तथा डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानी गनाएर वरिपरीका गाउँमा बसिनसक्नु भईरहेको छ’, भट्टराइले भने, ‘अनि चिम्नीबाट उड्ने धुलो र धुवाँले सास फेर्नै गाह्रो भईरहेको छ।’

भेलाले आईतबार प्रदुषण नियन्त्रणका लागि उद्योग व्यवस्थापन समक्ष संघर्ष समिति मार्फत ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ। ‘उद्योग व्यवस्थापनलाई तीन दिने अल्टिमेटम सहित भोली ज्ञापन पत्र बुझाईने छ र ज्ञापन पत्रको बोधार्थ हरिवन नगरपालिका कार्यालय एवं ईलाका प्रशासन कार्यालयमा समेत दिईने छ’, प्रचार प्रसार समिति संयोजक न्यौपानेले भने, ‘तीन दिनभित्र मागबारे सुनुवाई नभए समितिको बैठक बसेर कडा संघर्षका कार्यक्रम घोषणा गरिने छ।’

प्रकाशित: १९ माघ २०७६ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App