४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्यारेकभित्र सुन्दर स्याउ बगैँचा

ब्यारेकभित्र स्याउका बिरुवा रोप्दै सैनिकहरु । तस्बिर: नागरिक

जुम्ला- यो समयमा जुम्लास्थित २४ नम्बर बाहिनीमा कार्यरत हरेक सैनिक स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन्। उनीहरु स्याउको बिरुवा रोप्ने, खाल्डो खन्नेदेखि मलखाद्य व्यवस्थापन र गोडमेलमै व्यस्त छन्। कर्णालीमै पहिलो पटक सेनाको ब्यारेकमा सुन्दर स्याउ बगैँचा बनाउने अभियानमा २४ नम्बर बाहिनी जुटेको छ। यो सिजनमा मात्र ६ सय स्याउका बिरुवा रोपिएको बाहिनीपति दिपक बाँनिया बताउँछन्। उनले भने, ‘जुम्ला सुहाउँदो फलफूल खेती भनेको स्याउ नै हो। स्याउ खेतीको संरक्षण र प्रवद्र्धन गर्न ब्यारेकभित्र बगैँचा स्थापना गरेका छौँ।’

उनका अनुसार नेपाल सरकारले एक नागरिक एक बिरुवा अभियान थालेकोमा नेपाली सेनाले पनि एक सैनिक एक फलफूल बिरुवाको अवधारणा अघि सारेको हो। यो कार्यक्रम अनुसार जुम्लाको सैनिक ब्यारेकमा सुन्दर स्याउ बगैँचाको परिकल्पनाका साथ स्याउ रोपिएको हो। बाहिनीपति बाँनिया भन्छन्, ‘सेनाले भूगोल सुहाउँदो फलफूल बिरुवा रोप्नु पर्ने भयो। जुम्लामा स्याउका बिरुवा रोपियो। सैन्य ब्यारेक वरिपरिको बाँझो पाखो भरी स्याउ रोपियो। यो जुम्ली स्याउको लागि राम्रो कामको सुरुवात पनि हो। स्याउ खेती ब्यारेकभित्र पनि गरेका छौँ। यहाँका हरेक सैनिक परिवारलाई पनि स्याउ खेती गर्न उत्साहित बनाएका छौँ।’

स्थानीय अनुकुलको बिरुवा स्याउ ब्यारेकभित्र रोपेपछि किसान उत्साहित छन्। जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर स्याउ खेती थालिएको २४ नम्बर बाहिनी अड्डाले जानकारी दिएको छ। यो स्याउ खानलाई भन्दा पनि प्रचारप्रसारमा सहयोग पुगोस भन्नका लागि लगाइएको हो। कुनै पनि संरचना निर्माण गर्न पनि नसकिने र ध्वस्त पनि नहुने जमिनमा स्याउ बगैँचा स्थापना गरिएको छ। यो स्याउ अर्गानिक ब्राण्डका रुपमा उत्पादन हुनेछ। प्रत्यक्ष कृषि प्राविधिकको निगरानी रहिरहनेछ।

बगैँचामा रोपिएका सबै बिरुवामा नम्बरिङ गरिएको छ। विभिन्न दर्जाका सैनिकलाई बिरुवा हुर्काउने जिम्मेवारी दिइएको छ। कृषि प्राविधिक बोलाएर खाल्डो खन्नेदेखि काँटछाँट तथा व्यवस्थापनको पक्षलाई बलियो बनाइएको छ। प्रत्यक्ष कृषि प्राविधिकको निगरानीमा बगैँचा स्थापना गरिएकाले सुन्दर बगैँचाको सपना साकार हुनेमा दुईमत नरहेको बाहिनीपति बाँनिया बताउँछन्। उनले भने, ‘यो बगैँचालाई सुन्दर बनाउने छौँ।’ यो बगैँचा जहाजबाट सहजै रुपमा देखिने भएकोले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्न सक्ने सम्भावना पनि रहेको कृषि प्राविधिक बताउँछन्।

पुरानो बिरुवालाई गोडमेल, किटनाशक औषधि लगाउने कार्य समेत भइरहेको छ। सैनिकहरुलाई स्याउ व्यवस्थापन तालिम प्रदान गरिदै आएको छ। नेपाली सेनाको कल्याणकारी निर्देशनालयको कार्यक्रम अनुसार पूर्वसैनिक र आस्रित परिवारका ४० जनालाई स्याउ खेती बारे दुई साताको तालिम दिइएको छ। सुन्दर स्याउ बगैँचा स्थापना गर्ने कार्यक्रम ब्यारेकभित्र मात्र केन्द्रीत छैन, बाहिनीपति बाँनिया भन्छन्, ‘सैनिक परिवारलाई पनि स्याउ खेती गर्न उत्साहित गरिएको छ। ठाउँ अनुसारको उत्पादनसँग जोडिदा सैनिक परिवारको आर्थिक आयआर्जनमा समेत टेवा पुग्ने देखिन्छ।’

बगैँचामा स्थानीय जातको रेड र गोल्डेन डेलिसियस जातको स्याउ रोपिएको हो। ब्यारेभित्र हरियाली हुने भयो। स्याउ सिजनमा निकै आकर्षक बगैँचा देखिने भयो। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन्,‘जुम्लामा स्याउ खेती गरेर सेनाले उदाहरणीय काम गरेको छ। यो कामको किसान स्तरमा उच्च प्रशंसा भइरहेको छ।’ कृषि कार्यालयको समन्वयमा स्याउ स्थानीय किसानको नर्सरीबाटै खरिद गरिएको हो। काँटछाँटमा नियमितता छ। तालिम प्राप्त जनशक्ति ब्यारेकभित्र पनि उत्पादन भइसकेको छ। यो निकट भविष्यमै सबैको मन लोभ्याउने बगैँचा बन्ने देखिन्छ।

स्याउ बगैँचा स्थापनाको कार्यलाई नेपाली सेनाले 'वृहत वृक्षारोपण कार्यक्रम‘ का रुपमा हेरेको छ। रोपिएका बिरुवाहरुको अभिलेख राख्ने कार्य गरिनुका साथै ‘वृक्षारोपण र संरक्षणमा सहभागिता, जिम्मेवारी र निरन्तरता’लाई पालना गरी संरक्षण गर्ने व्यवस्था गरेको छ। सेनासँग समन्वय गरेर स्याउ खेती अध्ययन गर्ने थलोका रुपमा स्थापित हुनसक्छ, कृषि विकास प्रमुख देवकोटा भन्छन्,‘यो प्राविधिक जनशक्तिका लागि राम्रो प्रयोगशाला जस्तो बन्ने छ। यो बगैँचालाई नमुना बनाउने कार्यमा कृषि कार्यालय पनि जिम्मेवार रहने छ।’

सरकारी बाँझो जग्गामा बगैँचा स्थापना गर्न अनुदानमा बिरुवा उपलव्ध गराइएको थियो।  राष्ट्रिय स्तरमा स्याउको महत्व अझै बढाउन मद्धत ग¥यो। ब्यारेकभित्रको २० हजार बर्गमिटरमा स्याउ खेती गरिएको छ। स्याउको संरक्षण पनि सहजै रुपमा गर्न सकिनेछ। रोगकिरा नियन्त्रण, बगैँचा व्यवस्थापन, स्याउको बारेमा अध्ययन गर्न सहयोग पुग्नेछ। ब्यारेकभित्रको बगैँचालाई तालिम केन्द्रका रुपमा स्थापित गर्ने लक्ष कृषि विकास कार्यालय जुम्लाको छ।
जुम्ली स्याउको प्रचारप्रसारसँगै संरक्षणमा टेवा पुग्छ। हाल जुम्लामा ३ हजार ४ सय ५० हेक्टरमा स्याउ खेती गरिएको छ। यहाँको स्याउ शुद्ध अर्गानिक भएकोले माग पनि अत्यधिक बढ्दो छ।
 

प्रकाशित: १७ माघ २०७६ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App