१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

छापामार कमान्डरको कृषिक्रान्ति

पूर्वमन्त्री लोकेन्द्र विष्ट।

दाङ – समकक्षी अग्निप्रसाद सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुख चयन भए। सहकर्मी सापकोटा उच्च ओहदामा पुग्दा आफूले राजनीतिबाट लिएको ‘सन्न्यास’प्रति कुनै पश्चात्ताप थिएन उनलाई। राजनीतिप्रति जागेको चरम वितृष्णाको तीन वर्षअघिको निर्णयले निम्त्याएको कृषिको बाटो नै सहज महसुस भइरहेको छ पूर्वमन्त्री लोकेन्द्र विष्टलाई। उनी भन्छन्, ‘राजनीतिमा लागिरहेको भए यो वा त्यो पदमा हुन्थें भन्ने सोच मेरो दिमागमा कहिल्यै आउँदैन।’ २०५१ सालमा आँफूसँगै सिसिएम (केन्द्रीय कमिटी समिति) बनेका आफ्ना सहकर्मी सापकोटा सभामुख बनेको प्रति औधि खुसी व्यक्त गर्दै थोरै चिन्ता राखे– ‘एमसिसी प्रकरणले उहाँलाई सिध्याउने खतरा देखिरहेको छु।’ ‘ड्रागन फ्रुट’ खेती फैलिएको ६६ कट्ठा बारीनजिकै टिनको टहरोमा यही फल बिक्री गर्न व्यस्त थिए लोकेन्द्र। ग्राहकसँग उस्तै मजाक गर्दै हँसाइरहेका थिए– ‘ड्रागन फ्रुट’बाट टन्न कमाएर हजारका नोटै नोटले कसैलाई प्याट्ट हान्न मन छ।’

स्वास्थ्य र पर्यटन गरी दुई कार्यकाल मन्त्री बनेका लोकेन्द्र राजनीतिबाट विमुख बनेर अहिले ‘ड्रागन खेतीमा लागेका छन्। उनी जिल्लाको तुलसीपुर उपमहानगर, बिजौरी डाँडामा रहेको जमिन लिजमा लिएर कृषि गरिरहेका छन्। ४० वर्ष लामो राजनीतिक जीवनलाई बिट मारेर किन कृषि उद्यममा लागे लोेकेन्द्र ? उनको जवाफ छ, ‘फोहोरी खेल राजनीतिसँगै म सती जान सकिनँ।’

२०३५ सालमा कम्युनिस्ट विद्यार्थीको आन्दोलनमा सहभागी भएदेखि नै उनीभित्र राजनीतिज्ञ बन्ने ठूलो इच्छा जाग्यो। ‘पढाइभन्दा लडाइँ ठूलो’ भन्दै त्यसबेला लगाइएको नाराले लोकेन्द्रलाई झनै ऊर्जा मिल्यो। ‘बुर्जुवा शिक्षा’ को कामै छैन भन्ने निक्र्योलमा पुगेका उनी पढाइ छोडेर लडाइँमा होमिने निर्णयमा पुगे। कम्युनिस्ट राजनीतिमा निरन्तर होमिएका उनी तत्कालीन माओवादी द्वन्द्वमासमेत होमिए। माओवादी सैन्य विभागको राजनीतिक प्रशिक्षकका रूपमा उनले काम गरे। आफ्नो राजनीतिक करिअरमा उनी २३ वर्ष तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेर काम गरे। २०६३ देखि २०७० बिच उनी दुई कार्यकाल सांसद चुनिए। २०७० मा उनी म्याग्दीबाट चुनावमा लडे। तर, हारे। उनले भने, ‘मतदाताले स्थानीय व्यक्ति नै उम्मेदवार खोज्दा रहेछन्, म रुकुमको मान्छेलाई त्यहाँका जनताले रुचाएनन्।’ रुकुमका लोकेन्द्रले अर्का नेता जनार्दनसमक्ष प्रस्ताव गरेका थिए, ‘हामीले आफ्नो जिल्ला छोडेर अरू साथी हेमन्तप्रकाश ओली र गणेशमान पुनलाई उम्मेदवार बनाऔं।’ तर, जनार्दनले लोकेन्द्रको प्र्रस्ताव मानेनन्। उनले थपे, ‘जनार्दनजी रुकुमबाटै लड्नुभयो तर मैले पहिले नै वचन दिइसकेकाले रुकुम छोडें।’

स्वास्थ्य र पर्यटन गरी दुई कार्यकाल मन्त्री बनेका लोकेन्द्र विष्ट राजनीतिबाट विमुख बनी ‘ड्रागन खेतीमा लागेका छन्। ४० वर्ष लामो राजनीतिक जीवनलाई बिट मारेर किन कृषि उद्यममा लाग्नुभएको ? भन्ने प्रश्नको उनले जवाफ दिए, ‘फोहोरी खेल राजनीतिसँगै म सती जान सकिनँ।’

लोकेन्द्र तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा ६ महिनासम्म पर्यटनमन्त्री बने भने झलनाथ खनाल नेतृत्वको सरकारका पालामा १३ दिन स्वास्थ्य मन्त्री बने। ‘झलनाथ खनालले हामी मन्त्रिमण्डलमा सहभागी भएको १३ दिनमै राजीनामा दिनुभयो,’ लोकेन्द्रले १३ दिने मन्त्री बन्दाको अनुभव सुनाए। पटक पटक मन्त्री र सांसद बनेका लोकेन्द्र जहिल्यै पार्टीभित्र खरो बनेर उत्रिए। उनले भने, ‘म जहिल्यै सही निर्णयको पक्षमा पार्टीभित्र खरो बनेर उभिएँ तर नेतृत्वलाई मन परेन।’

पार्टीको कृषि तथा सहकारी विभागको प्रमुख रहेका बेला लोकेन्द्रले पार्टीमा आबद्ध नेताको आर्थिक स्तर बढाउन हरेक नेता कृषिमा लाग्नुपर्ने प्रस्ताव पार्टीसमक्ष पेस गरेका थिए। उनका अनुसार यो प्रस्तावको अर्को अर्थ पनि थियो ‘पार्टीभित्र भ्रष्टाचार नहोओस्।’ नेताहरूको आर्थिक स्तर बलियो नभए स्वाभाविक रूपमा भ्रष्टाचारले प्रश्रय पाउने भएकाले लोकेन्द्रले कृषिको अवधारणालाई अघि सारेको वताए।

तर, नेतृत्वले यो प्रस्तावलाई अस्वीकार ग¥यो। उनी त्यही दिन ‘म भोलि राजीनामा दिन्छुु भन्दै पार्टी कार्यालयबाट निस्किएका थिए। नभन्दै अर्को दिन उनले राजीनामा दिए। पार्टीबाट राजीनामा दिएपछि उनी आफूले खेती थालेको काभ्रेको भकुण्डे पुगे। उनले त्यहाँ ‘ब्ल्याक राइस’ धानको खेती गर्दै आएका थिए। कृषिसम्बन्धी आफ्नो प्रस्तावलाई अस्वीकार गरिएपछि राजीनामा दिएका लोकेन्द्रको राजीनामा प्रमुख कारण एउटा मात्रै यो भने होइन। अँध्यारो कुनामा बुनिने राजनीतिक तानाबुनाका निर्णयप्रति उनी पहिलेदेखि नै रुष्ट थिए। माओवादीभित्र निकटस्थलाई काखी च्यापेर गरिने निर्णयविरुद्ध उनि उभिए। ‘अँध्यारो कुनामा बसेर बुनिने तानाबुनाका आधारमा पार्टी चल्न थाल्यो,’ उनले भने, ‘अनि मैले यो राम्रो भएन भन्दा पनि लागेन।’ यसैगरी उनको अर्को दुखाइको विषय थियो– राजनीति र अपराध कनेक्सन। राजनीतिले आपराधिक र अपराधले राजनीतिक रङ पाउन थालेपछि लोकेन्द्रले यसको पनि पार्टीभित्र चरम विरोध गरेको सुनाए। ‘राजनीति र अपराधले मितेरी गाँसेपछि मलाई राजनीतिदेखि झनै वितृष्णा जाग्यो,’ उनले भने, ‘अनि मैले राजनीतिभित्र मौलाएको फोहोरको डंगुरभित्र नबस्ने निर्णय लिएको थिएँ।’

माओवादीभित्र मौलाएको बेथितिकै कारण आफूले राजनीतिबाट सन्न्यास लिएको बताउने लोकेन्द्रलाई तीन वर्षअघिको राजनीतिक वितृष्णाले राजनीतिक मोहभंग गराइसकेको छ। अहिले पुनः फरक पार्टीको नेता बन्न तारन्तर प्रस्ताव आइरहेकै छन्। तथापि कृषि कर्मबाट आफूलाई पुनः राजनीतिमा फर्काउन चाहन्नन् उनी। ‘विप्लव र वैद्यजीले मलाई सँगै रहेर काम गर्न मलाई प्रस्ताव गर्नुभयो तर मैले सो प्रस्ताव अस्वीकार गरें,’ उनले भने, ‘अहिले पनि नेकपाबाट रुष्ट मेरा पुराना सहकर्मीले मलाई नेता बनाएर छुट्टै पार्टी खोल्न प्रस्ताव गर्नुहुन्छ, तर मैले सबैलाई राजनीतिमा नआउने जवाफ दिइरहेको छु।’

२०७२ देखि काभ्रेको भकुन्डेमा ब्ल्याक राइस नामक धानको खेती सुरु गरेका उनले अर्को एक वर्ष साँखुमा सोही धानको खेती गरे। काभ्रे र साँखुको कृषि कर्म छोडेर उनी यही खेतीपातीमै सक्रिय रहन दाङ गए। उनी अहिले जिल्लामा ‘ड्रागनखेतीमा सक्रिय छन्। ड्रागनखेती सुरु गरेको ५ वर्षसम्म लगानी लाग्ने र २५ वर्षसम्म यसले मुनाफा दिने उनले सुनाए। पटक पटक नेपाली राजनीतिको चर्को आलोचना गरेका लोकेन्द्रले अब राजनीतिको फोहोरमा नभई सदैव माटोमै खेलेर जीवनयापन गर्ने अठोट लिएका छन्।

प्रकाशित: १५ माघ २०७६ ०३:०४ बुधबार

छापामार कमान्डर कृषिक्रान्ति