८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नारायणीले ति-यो ८३ लाख कर

नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रालिको प्रथम वार्षिक साधारण सभामा बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललगायत। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर - नेपालकै ठूलोमध्येको एक नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रालिको प्रथम वार्षिक साधारणसभा हेटौंडामा भएको छ। ४० वर्षअघि स्थापित संघले गत तीन आर्थिक वर्षमा ८३ लाख २२ हजार रुपैयाँ सरकारलाई कर तिरेको सभामा जानकारी दिइएको छ।

सभा उद्घाटनपछि बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले यातायात व्यवसाय विशिष्ठ प्रकृतिको भएको भन्दै सरकारले सबैभन्दा राम्रो वातावरण बनाएको दाबी गरे। ‘सरकारले यातायातसहित सबै व्यवसाय गर्न अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण बनाएको छ,’ उनले भने, ‘यातायात क्षेत्रमा लगानीकर्ता प्रायः सबै नेपाली रहेकाले व्यवसायीलाई जोगाउँनुपर्छ।’

यातायात क्षेत्रमा नियम कानून अपुग रहेको आफू पनि जानकार रहेको भन्दै उनले व्यवसायीको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताए। ‘यातायात क्षेत्रको समस्या समाधानका लागि केन्द्र सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार छ,’ उनले भने। यातायात व्यवसायीसँग सम्बन्धित संघसंस्था जबरजस्ती रुपमा कम्पनीमा गएको भन्दै उनले नयाँ मोडल ल्याउनुपर्नेमा जोड दिए। शासन व्यवस्था फेरिए पनि सोच र व्यवहार नफेरिएकाले यातायात क्षेत्रमा पनि पहुँच र पैसावालाले राज्यबाट छुट, सुविधा धेरै लिइरहेकाले नेता, कर्मचारी, व्यवसायी सबै बदलिनुपर्ने तर्क गरे।

प्रदेशका प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राज्यले व्यवसायीबीच विभेद गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष बनाउने काम बन्द गर्नुपर्ने बताए। ‘नारायणी यातायात व्यवसायी संघजस्ता यातायात संस्थाप्रति सरकारले गम्भीर विभेद गरेको छ,’ उनले भने, ‘व्यवसायी भनेका व्यवसायी मात्र हुन्, राज्यले सत्तापक्ष र प्रतिपक्ष बनाउने काम तत्काल रोक्नुपर्छ।’ व्यवसायीबीच सरकारले विभेद गरेमा देशलाई नै ठूलो घाटा हुने चेतावनी दिँदै उनले राज्य विभेदकारी भएमा विद्रोह हुने बताए। ‘राज्य सञ्चालन गर्नेले जे गर्ने हो त्यही बोल्नुपर्छ,’ उनले भने, ‘नेताहरुको बोली, व्यवहार गाँजरजस्तो हुनुपर्छ, भित्र पनि रातो, बाहिर पनि रातो।’

सत्तापक्ष नेकपाको बोली र व्यवहार फरक रहेको आरोप लगाउँदै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई नारामै सीमित रहेको दाबी गरे। ‘सुखी नेपाली, समृद्ध नेपाल नारालाई कम्युनिष्ट सरकारले खर्भुजाजस्तो बाहिर हरियो, भित्र रातो जस्तो बनाएको छ,’ उनले भने। बाग्मती प्रदेशका सांसद कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा लगायतले सरकारले यातायात सेवालाई गुणस्तरीय बनाउन भूमिका खेल्नुपर्ने भन्दै व्यवसायीले यातायात पेसालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

पुरानो नारायणी यातायात कम्पनी कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले सवारी दुर्घटनाका घाइते पक्षले औषधि उपचारमा अत्याधिक खर्च गराउने गरेकाले बिमा नीतिमा अत्याधिक जोखिम बहन गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरे। ‘यातायात क्षेत्रका केही अधिकार प्रदेश सरकारमा पनि हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘५० प्रतिशतभन्दा बढी व्यवसायी स्वरोजगार रहेकाले उनीहरुको पक्षमा केन्द्र र प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ।’ कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीले उत्कृष्ट व्यवसायीको रुपमा चितवनका बलराम थापालाई सम्मान पनि गरेको थियो। ४० वर्षअघि (वि.सं. २०३६)मा स्थापित संघअन्तर्गत हाल यात्रुबाहक सवारी सञ्चालन र व्यवस्थापन तथा दुर्घटना, औषधि उपचार, क्षतिपूर्ति र मर्मत गर्न दुई कम्पनी पुरानो नारायणी यातायात कम्पनी र नारायणी संघ हेटौंडा स्थापना गरिएको छ। संघमा मालबाहक र यात्रुबाहकगरी आठ हजार बढी सवारीसाधन आवद्ध थिए।

प्रकाशित: १३ माघ २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App