९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

हिउँदे वर्षाले किसानलाई राहत

वर्षाले मकैबालीमा सिँचाइ भएपछि मल हाल्दै किसान।

बारा - बिहीबार रातीदेखि भएको वर्षाले किसानलाई राहत मिलेको छ। खेतमा लगाएको अन्नबाली  र तरकारी बालीलाई सिँचाइ उपलब्ध भएपछि किसान खुसी भएका छन्। वर्षाले खेतमा लगाइएको अन्नबाली र तरकारी बालीको सिँचाइ गर्नमा किसानलाई बोरिङ र पम्पसेट खर्चिन रकम बचत भएपछि किसान खुसी भएका हुन्।

वर्षा भएपछि  एक बिघा गहुँ र १० कट्ठा मकैमा सिँचाइ गर्न लाग्ने रकम बचत भएको बन्जरियाका किसान अनिरुद्ध महतोले बताए। ‘एकपटक मकै र गहुँमा बोरिङ र पम्पसेटले सिँचाइ गर्दा करिब तीन हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘वर्षाले उक्त रकम बचत भएको छ।’ धेरै वर्षा भएको भए बालीमा क्षति पुग्ने सम्भावना भए पनि किसानलाई सिँचाइ गर्न आवश्यक पर्ने पानी परेकाले  धेरै फाईदा भएको उनको भनाइ छ। सिमसिम पानी परेका खेतको सबै भागमा राम्रोसँग सिँचाइ भएकाले अन्नबाली उत्पादन राम्रो हुने उनको विश्वास छ।

किसानले खेतमा लगाएका दलहन बाली मसुरो, सिमी, बगला तथा अन्नबाली गहुँ, मकै र तेलहन तोरी, सर्साेलगायत बालीलाई वर्षाले राम्रो फाइदा पु-याएको अर्का किसान रामेश्वर महतोले बताए। आकासे पानीबाट खेतमा लगाइएको गहुँमा सिँचाइ भएपछि अब मल किन्न सहज भएको उनले बताए।

बारामा ६२ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३१ हजार हेक्टरमा गहुँ, १४ हजार हेक्टरमा मकै र १८ हजार हेक्टरमा दलहन, तेलहन खेती गरिएको कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत राम जीवन ठाकुरले बताए। वर्षाले गहुँ लगायतका बालीमा सिँचाइ भएपछि हजारौं किसानलाई प्रत्यक्ष फाइदा पुगेको ठाकुरले बताए।

प्रकाशित: ५ माघ २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App