१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

यस्ता छन् सहभागी

नेपाल बिल्ड टेक एक्स्पो २०२० शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ। नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा माघ ३ देखि ५ गतेसम्म हुने मेलामा अन्तर्राष्ट्रिय स्तरका हेभी इक्विपमेन्ट तथा निर्माण सामग्री प्रदर्शनीमा राखिनेछ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाल बिल्ड टेक एक्स्पो २०२०को सम्पूर्ण तयारी पूरा भएको बताए। ‘विगतमा निर्माण व्यवसायी नयाँ–नयाँ उपकरण हेर्न र खरिद गर्न  विदेश जान्थे,’ उनले भने, ‘तर अहिले महासंघको अगुवाइमा हाम्रो घर–आँगनमै अन्तर्राष्ट्रिय स्तरको हेभी इक्विपमेन्ट र निर्माण सामग्री तथा उपकरणको एक्स्पो गर्न लागेका छौं। एक्स्पोले नयाँ उपकरण र मेसिन हेर्नकै लागि विदेश जानुपर्ने बाध्यता मात्रै अन्त्य गरेको छैन, सुपथ मूल्यमा एउटै छानामुनि विभिन्न कम्पनीका उपकरण तथा औजार खरिद एवं उपकरणको उपयोगिताबारे  बुझ्ने मञ्चका रूपमा निर्माण व्यवसायीले उपयोग गर्न पाउनेछन् ।’

अध्यक्ष सिंहले निर्माण व्यवसायी तथा उद्योगी व्यवसायीले एक्स्पोको स्टलबाटै निर्माण क्षेत्रमा हेभी इक्विपमेन्ट, उपकरण तथा औजारहरू सुपथ मूल्यमै किनमेल खरिद गर्न सक्ने बताए। ‘यो अन्तर्राष्ट्रिय स्तरको एक्स्पोले नेपाल भ्रमण वर्ष २०२० लाई अझै सहयोग पुग्ने आशा राखेका छौं,’ उनले भने, ‘सन् २०२२ मा विश्वका करिब २० भन्दा धेरै मुलुकका निर्माण व्यवसायी तथा हेभी इक्विपमेन्टका कम्पनीलाई बोलाएर बृहत् किसिमको अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न खोजेका छौं ।’ महासंघका वरिष्ठ उपाध्यक्ष तथा एक्स्पो संयोजक निकोलस पाण्डेले नेपाल बिल्डटेक एक्स्पो २०२० निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिको साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न लागेको बताए। ‘यो एक्स्पोलाई हामीले आम्दानीका रूपमा भन्दा  नयाँ प्रविधि र उपकरण प्रयोग गरेर पनि निर्माण क्षेत्रलाई कसरी सहज र व्यवस्थित गराउनेतर्फ केन्द्रित हुनेछौं,’ उनले भने, ‘विश्व बजारमा आएका नयाँ उपकरण र औजारसँग निर्माण व्यवसायीलाई जानकारी उपलब्ध गराउनुका साथै प्रविधि प्रयोग गरेर कसरी छिटो र सरल तरिकाले कार्यसम्पादन गर्न सकिन्छ भन्नेमा पनि केन्द्रित हुनेछौं ।’

 महासंघले एक्स्पोलाई निर्माण व्यवसायीको अपनत्व गराउन  महासंघको २१औं साधारण सभा पनि यही अवसरमा बोलाएको छ।  उत्पादक कम्पनीमा विज्ञले निर्माण व्यवसायीलाई उपकरण तथा औजारको प्रयोगको विषयमा समेत जानकारी उपलब्ध गराउनेछन्। एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित एक सय ६० भन्दा बढी प्रदर्शनी कक्ष राखिनेछ। एक्स्पो करिब ७० हजार स्क्वायर फिट क्षेत्रमा फैलिनेछ। महासंघले एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। करिब पाँच हजारभन्दा धेरै दर्शकले एक्स्पो अवलोकन गर्ने  आयोजकले जनाएको छ। एक्स्पो इभेन्ट म्यानेजमेन्टका नारायण फुयाँल क्षेत्रीले एक्स्पोमा  ३५ वटा इन्डोर र १४ वटा आउटडोरका स्टलमा ठूला निर्माण सामग्री उत्पादन गर्ने कम्पनीका स्टल रहने बताए।

 ‘एक्स्पोमा नेपालका ठूला निर्माण सामग्रीको बिक्री वितरण गर्ने कम्पनीका आधिकारिक विक्रेताको स्टल रहनेछ,’ उनले भने, ‘निर्माण व्यवसायीले एक्स्पो स्टलबाटै निर्माण उपकरण, औजार तथा मेसिन खरिद तथा अर्डर गर्न सक्नेछन्।’ नेपाल निर्माण व्यवसायी महासंघ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा नेपालमा बिल्डटेक एक्स्पो २०२० आयोजना गर्न लागिएको हो। अध्यक्ष सिंहले एक्स्पो निर्माण क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयुक्त मञ्च हुने बताए। ‘निर्माण व्यवसायीलाई विश्वबजारमा आएका नयाँ–नयाँ निर्माण उपकरणबारे जानकारी लिन उपयुक्त मञ्च हुनेछ,’ उनले भने, ‘एउटै छानामुनि धेरै कम्पनीका थरीथरीका हेभी इक्विपमेन्ट र निर्माण सामग्रीको सम्पूर्ण जानकारी लिन सकिन्छ। जसले निर्माण क्षेत्रका व्यवसायीलाई निकै फाइदा पुग्नेछ ।’

महासंघले एक्स्पोलाई लक्षित गरेर महासंघको २१औं साधारणसभा माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा गर्ने भएको छ। महासंघका महासचिव रोशन दाहालले एक्स्पोमा सम्पूर्ण निर्माण व्यवसायीको सहभागिता गराउन साधारण सभा गर्ने निर्णय गरिएको बताए। ‘एक्स्पोकै अवसर पारेर महासंघको २१औं वार्षिक साधारण सभा गर्न लागेका हौं,’ उनले भने, ‘साधारण सभामा पनि सहभागी हुने र एक्स्पोको पनि अवलोकन गर्न सकिनेछ ।’ महासंघका अनुसार वार्षिक साधारण सभामा १५ सयभन्दा धेरै निर्माण व्यवसायी उपस्थित हुनेछन्। महासंघको साधारण सभाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ ।
सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन र पूरा हुन बाँकी मागहरूका विषयमा साधारण सभामा छलफल भई महासंघको भक्तपुर घोषणापत्र जारी  गर्ने कार्यक्रम रहेको छ। सोही अवसरमा निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेखरचना समेटिएको महासंघको मुखपत्र ‘नेपाली निर्माण विशेषांक’ को विमोचन  गरिने महासंघले जनाएको छ।  एक्स्पोको सहयोगी साझेदारहरूका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्था छन्। त्यसैगरी, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेप्लिज कन्ट्राक्टर्स (वाइसिएनसी), सोसाइटी अफ नेप्लिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवेयर म्यानुफ्याक्चर एसोसिएसन पनि एक्स्पोका सहयोगी साझेदार संस्था हुन् ।

प्रकाशित: ३ माघ २०७६ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App