५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आलुखेतीमा डढुवा लागेपछि किसान चिन्तित

डढुवा रोगका कारण आलुखेतीमा पुगेको क्षति।

कैलाली - बढ्दो शीतलहर र लगातारको हिउँदे वर्षामा कैलाली, कञ्चनपुरका किसानले लगाएको आलुखेतीमा क्षति पुगेको छ। आलुखेती गरेका यहाँका किसान अहिले डढुवा रोगको प्रकोपले आजित बनेका छन्।

दुई कट्ठा जमिनमा आलुखेती गरेका गौरीगंगा नगरपालिका–७, का चन्द्रदेव जोशीले भने, ‘डढुवा रोगले पुरै आलु सखाप पारिसक्यो।’ उनले दुई कट्ठा जमिनमा रैथाने थारू जातको आलु लगाएका थिए। पुस पहिलो सातासम्म आलुका बोट राम्रा र पोशिला रहेको बताउँदै उनले भने,‘लगातारको शीतलहर, बदली र वर्षाले डढुवा रोगले च्यापेर आलुखेती सखापै पा-यो।’ उनका मात्रै हैनन् अहिले पुरै गाउँका किसानका बारीमा लगाइएको आलुखेती डढुवाको प्रकोपले छोपेको छ।

पुस लागेदेखि लगातारको शीतलहर र वर्षाले गर्दा आलु र टमाटर खेतीमा क्षति पुगेको बताउँदै स्थानीय खुसीराम चौधरीले भने, ‘लगाइएको आलु र टमाटर खेती पुरै डढुवा रोगले नष्ट भइसक्यो।’ शीतलहर र वर्षात्ले गर्दा डढुवाको प्रकोप चाँडै फैलने गरेको बताउँदै उनले भने,‘डढुवाले सबैभन्दा बढी आलुखेती र टमाटर खेतीमा क्षति पुगेको छ।’ आलुका बोट र टमाटरका बोट पुरै सुकेजस्तै भई कुहिएको उनले बताए। ‘थारू आलु प्रवद्र्धनका लागि लगाइएको भए पनि सबै कुहिइसकेका छन्,’ उनले भने, ‘यसपालि आलु र टमाटर किनेर खानुपर्ने बाध्यता आइलाग्ने छ।’

थारू आलुमा रोग तथा कीराको संक्रमण कम हुने भएकाले पनि किसानको आकर्षण बढेपनि यसपालि भने डढुवा रोगको प्रकोपले थारू आलुमा बढी क्षति पुगेको उनले बताए। वर्षौदेखि रैथाने जातको थारु आलुखेती गर्दै आएका किसान विकासे आलुखेतीमा कीरा र रोगको संक्रमण चाँडै हुने भए पनि यसपालि भने डढुवा रोगले सताएको उनले बताए। प्रदेश कृषि निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले यसपालि वर्षा र शीतलहरले गर्दा डढुवा रोगको प्रकोपले आलु र टमाटर खेतीमा क्षति पुगेको बताए। आलु र टमाटरमा लाग्ने डढुवा एक प्रकारको ढुसीजन्य कीट भएको बताउँदै उनले भने, ‘शीतलहर र पानी पर्ने समयको मौसम प्रतिकुल हुने भएकाले यो समयमा डढुवा हुने एक प्रकारको ढुसीजन्य कीट बढी सक्रिय हुने गरेको छ।’

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुप्त अवस्थामा रहेको ढुसी सक्रिय हुन गई डढुवाको संक्रमण देखिने गरेको उनले बताए। शीतलहर र हिउँदे वर्षातको समयमा डढुवाका रुपमा ढुसी सक्रिय हुन गई फैलने रोगले नै आलु र टमाटर खेती नष्ट गर्ने गरेको बताउँदै उनले भने, ‘यस्तो बेलामा किसानले बढी सचेत भई डढुवा न्यूनीकरणका लागि विषाधि प्रयोग गर्न सक्छन्।’ सुदूरपश्चिममा १५ हजार ७ सय ४४ हेक्टर जमिनमा आलुखेती गरिँदै आए पनि कैलाली र कञ्चनपुरमा डडुवाको प्रकोप बढ्दो छ। कैलालीमा ५ हजार ३८ हेक्टर र कञ्चनपुरमा एक हजार ७ सय ५१ हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ। 

प्रकाशित: २७ पुस २०७६ ०५:२१ आइतबार

कैलाली गौरीगंगा_नगरपालिका